उम्मेदवारसँग सुरक्षाको माग गर्दै मतदाता 

मंगलबार, कात्तिक २९, २०७९
Global Ime Bank

राँझा ।   भारतसँग जोडिएको बाँकेको सीमावर्ती क्षेत्रका मतदाताले भरपर्दो सुरक्षा व्यवस्थाको माग गरेका छन् । 
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा मत माग्दै आउने उम्मेदवारसमक्ष बाँके क्षेत्र नं २ मा पर्ने सीमावर्ती क्षेत्र हिरमिनिया, होलिया, पिप्रहवा र जमुनाह क्षेत्रका मतदाताले विकासभन्दा सुरक्षा व्यवस्थाको माग गर्ने गरेका छन् ।  भरपर्दो सुरक्षा नहुँदा आफूहरू सधैँ जोखिममा बस्नुपरेको नेपालगञ्ज उपमहानगरपालिका १५ पिप्रहवाका कैलाश यादवले बताए  । उनले भारतसँग सीमा जोडिएका गाउँमा चोरी–डकैतीका घटना र भन्सार छलेर हुने तस्करीले असुरक्षा बढ्दै गएको बताए  । 

   “सीमावर्ती गाउँमा चोरी, तस्करी र लुटपाटका घटना भइरहन्छन्”, उनले भने , “गोठमा बाँधेर राखिएका चौपाया र र्किङमा राखिएका सवारीसाधन चोरीका घटना पनि हुने गरेका छन् त्यसैले सुरक्षाको माग हुने गरेको छ ।” बाँकेको तीनवटै निर्वाचन क्षेत्रको भू–भाग भारतसँग जोडिएको छ । बाँकेको ६५ किलोमिटर क्षेत्र नेपाल–भारत सीमासँग जोडिएको छ । गत स्थानीय तह निर्वाचनका बेला पनि स्थानीयको माग शान्तिसुरक्षा नै थियो ।  

   भारतको बहराइच जिल्लासँग जोडिएको यो क्षेत्रका बासिन्दाले अहिलेको चुनावमा घरदैलोमा आउने उम्मेदवारलाई फेरि सुरक्षाको माग सुनाउने गरेको डुडुवा गाउँपालिका–६ हिरमिनिया निवासी राजेन्द्र बर्माले बताए  ।    उनका अनुसार भारततर्फ सीमा सुरक्षा बलको बाक्लो उपस्थिति छ । त्यसले सीमापारिबाट हुने चोरी डकैती केही हदसम्म रोकिए पनि साना ठूला चोरीका घटना भने निरन्तर छन् । नेपालतर्फ सुरक्षाकर्मीको उपस्थिति पातलो भएका कारण यो क्षेत्रको मुख्य माग नै सुरक्षा प्रत्याभूति रहेको छ ।     सुरक्षाबाहेक सिँचाइ सुविधा, सीमा नाकामा छोटी भन्सार सञ्चालन, बिजुली, व्यवस्थित सडक र स्वास्थ्य सुविधाका माग पनि मतदाता गरिरहेका छन् । यो समस्या हटाउन पनि नेताहरूले पहल गर्नुपर्ने बर्माको भनाइ छ । 

    सबैजसो उम्मेदवारले सुरक्षाका लागि प्रहरी चौकीको व्यवस्था गर्ने, सडक, बिजुली र सिँचाइको व्यवस्था गर्ने आश्वासन भने दिइरहेका छन् । चुनाव प्रचारका लागि सीमा क्षेत्रका गाउँ पुग्ने सबै उम्मेदवारले सुरक्षाको व्यवस्था र आधारभूत पूर्वाधार उपलब्ध गराउने बाचा गर्दै मतदाता रिझाउने प्रयत्न गरिरहेका छन् ।    बाँके क्षेत्र नं २ मा राप्रपा र नेकपा एमालेको तालमेलबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार डा धवलशम्शेर राणाले सीमावर्ती क्षेत्रमा शान्तिसुरक्षा र विकास निर्माणको आवश्यकता देखिएको बताउँदै आफूले मतदाताको मागलाई प्राथमिकतामा राखेको बताए  । राष्ट्रिय जनता पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद इस्तियाक राईले आफू पनि सीमावर्ती क्षेत्रमै जन्मे हुर्केकाले सीमावर्ती जनताको भावना बुझेको बताए  । रासस 

प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९  १३:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार