कञ्चनपुरमा चुनावको तयारी तीव्र, निर्वाचन सामग्री पुगे

आइतबार, कात्तिक २७, २०७९
Global Ime Bank

बेदकोट । कञ्चनपुरमा आसन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि  तयारी तीव्र पारिएको छ ।    जिल्लाका तीनवटै निर्वाचन क्षेत्रका लागि मतपत्रलगायत निर्वाचन सामग्री पुगिसकेको र मतदान केन्द्रअनुसार मतपत्र मिलाउने, मतपेटिका, छाप, स्ट्याम्प प्याड, कपडालगायत सामग्री व्यवस्थापनको काम भइरहेको मुख्य निर्वाचन अधिकृत धु्रवकुमार शाहले जानकारी दिए । 
    
“जिल्ला निर्वाचन कार्यालयका कर्मचारी निर्वाचन सामग्री व्यवस्थापनमा व्यस्त छन् । मतपत्र र अन्य निर्वाचन सामग्री पुगिसकेका छन्, प्रत्येक निर्वाचन क्षेत्रमा मतदाताभन्दा बढी मतपत्र आएका छन्”, उनले भने ।

प्रतिनिधिसभाका लागि  तीन वटा निर्वाचन क्षेत्र रहेको जिल्लाको क्षेत्र नं १ मा ९१ हजार एक सय १०, २ मा एक लाख पाँच हजार पाँच सय ७७ र ३ मा ९७ हजार आठ सय २२ मतदाता छन् । मतपत्र व्यवस्थापनसँगै कर्मचारी खटाउने काम भइरहेको मुख्य निर्वाचन अधिकृत शाहले बताए । कञ्चनपुरमा एक सय ३२ मतदानस्थल र तीन सय ४६ मतदान केन्द्र रहेका छन् । एक मतदान केन्द्रमा आठ जनाका दरले दुई हजार सात सय ६८ कर्मचारी छनोट भइसकेको जिल्ला निर्वाचन अधिकारी उदयराज जोशीले बताए ।

“कर्मचारीलाई तालिम दिइरहेका छौँ, तालिमपश्चात् निर्वाचन सामग्री र मतपत्र दिएर उहाँहरुलाई मतदानस्थल पठाइनेछ”, उनले भने । कारागारका कैदीबन्दी र कर्मचारीका लागि जिल्ला कारागार र भीमदत्त नगरपालिकामा दुई वटा अस्थायी मतदान केन्द्र राखिएका छन् ।

प्रकाशित मिति: आइतबार, कात्तिक २७, २०७९  १४:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार