सोसल मिडिया
Contact Us
युनिकोड
टङ्कीसिनवारी । पहिलो पटक मतदान गर्ने मौका पाएका मतदाता आसन्न मङ्सिर ४ गतेको निर्वाचनलाई लिएर उत्सुक छन् । पहिलो पटक मत खसाल्दा प्रक्रिया नजानेर मत बदर हुने हो की भन्ने डर पनि नयाँ मतदातामा रहेको पाइएको छ । शिक्षित र जागरूक भएको हुनाले आफूले इच्छा गरेको उम्मेदवारलाई खसालेको मतकोे सही सदुपयोग हुनेमा नयाँ मतदाता ढुक्क छन् ।
विराटनगर–४ कञ्चनबारी बस्ने नर्सिङ दोस्रो वर्षकी विद्यार्थी १९ वर्षीया विजेता दाहालले पहिलो पटक मतदान गर्दै छिन्। उनी मङ्सिर ४ मा हुने मतदानमा भाग लिन आतुर छन् । चार मतपत्रमा छाप लगाउनुपर्ने भएकाले कतै अलमलमा परिने हो की भन्ने चिन्ता उनलाई छ । मतपत्रमा छाप कसरी लगाउने र मतपेटिकामा मतपत्र पट्याएर कसरी बक्सामा खसाल्ने भन्ने बारेमा आफ्नी आमासँग सिकेको उनले बताइन्। विराटनगर महानगरपालिका–२ बस्ने २० वर्षीया सुशीला विसुङ्ले आपूm मतदानलाई लिएर उत्सुक रहेको बताइन् । उनले नअत्तालिकन कुनै गल्ती नगरी मतपत्रमा छाप लगाउने र मत खसाल्नेमा आफू ढुक्क रहेको बताए । उनले पहिलो पटक मतदानमा भाग लिए पनि त्रुटीरहित मतदान गर्न आफूमा आत्मविश्वास रहेको बताए।
ग्रामथान गाउँपालिका–२ झोराहाट निवासी २० वर्षीया अनिषा बराइलीले पहिलो पटक मतदानको मौका पाउँदा खुसीको कुनै सीमा नरहेको बताए । उनले मत कसरी खसाल्ने भनेर अलि–अलि मनमा डर लागिरहेको सुनाए । उनले समाजमा पिछडिएर रहेका समुदाय, वर्गको विकासमा लागिपर्ने उम्मेदवारलाई आफ्नो पहिलो मत खसाल्ने बताए । विराटनगर–३ कानुन क्याम्पस पूर्व घर भएका प्रेम घिमिरे पहिलो पटक मतदानमा आफूले दिएको मत खेर नजाओस् भन्नेमा सजग छन् । आफूभन्दा उमेरले धेरै पाका उम्मेदवार घरैमा आएर हात जोडेर मत मागेको देख्दा रमाइलो लागेको घिमिरेको भनाइ छ । घिमिरेले मतदाता शिक्षालाई बृहत र व्यापक बनाएको खण्डमा आफू जस्तो पहिलो पटक मत खसाल्ने मतदाता पनि मतदान प्रक्रियाका बारेमा पूर्ण जानकार हुने बताए । मोरङमा तीन सय छ मतदानस्थलका लागि आठ सय ३९ मतदान केन्द्र स्थापना गरिएको छ । मोरङमा तीन लाख ७४ हजार तीन सय २६ पुरूष, तीन लाख ६१ हजार एक सय ९३ महिला र अन्य छ गरी कूल सात लाख ३५ हजार पाँच सय २५ मतदाता रहेका छन् ।