निर्वाचन कर्मचारीका लागि तालिम सुरु

शनिबार, कात्तिक २६, २०७९
Global Ime Bank

बागमती । आगामी मङ्सिर ४ गते हुन गइरहेको निर्वाचनमा मकवानपुर जिल्लाभर खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूका लागि आजबाट मतदान सञ्चालनसम्बन्धी तालिम सुरु भएको छ । 
जिल्लाका तीन सय ७४ मतदान केन्द्रमा खटिने सात सय २८ मतदान अधिकृत तथा सहायक मतदान अधिकृतसहित थप ७२ जनालाई मतदान सञ्चालनसम्बन्धी तालिम दिन लागिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रदेश निर्वाचन कार्यालय हेटौँडाले आयोजना गरेको दुईदिने तालिमपछि कर्मचारीलाई निर्वाचन सामग्री हस्तान्तरण गरेर मतदान केन्द्रमा खटाइने जनाइएको छ ।
जिल्लाको एक सय ६५ वटा मतदानस्थलमा तीन सय ६४ मतदान केन्द्र रहेका छन् । खटिने सात सय २८ र अरु थप १० प्रतिशत गरी आठ सय जनालाई तालिम दिन सुरु गरिएको प्रदेश निर्वाचन कार्यालय हेटौँडाले जनाएको छ । चुनावमा गर्नुपर्ने सबै कामका विषयमा जानकारी दिएर उनीहरूलाई खटाउन लागिएको मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिए ।
प्रत्यक्षतर्फका र समानुपातिक उम्मेदवारका लागि मत राख्ने तरिका, भीड नियन्त्रण, मसी लगाउने, नाम रुजु गर्ने, दोहो¥याएर मत हाल्न आएमा अपनाउनुपर्ने तरिका, मतदाताले गोप्यरूपमा मतदान गर्न पाउने आफ्नो अधिकारलाई सुरक्षित ढङ्गले प्रयोग गर्नेबारे प्रशिक्षित गराइने उनले बताए । मङ्सिर १ गतेसम्म निर्वाचनका लागि खटाइएका सबै कर्मचारी सम्बन्धित मतदान केन्द्रमा पुगिसक्नुपर्ने छ ।
तीन लाख सात सय ३३ मतदाता रहेको मकवानपुरमा दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र चारवटा प्रदेशसभा निर्वाचन क्षेत्र छन् । जिल्लाका तीन सय ६४ वटा मतदान केन्द्रमध्ये १९ वटालाई अतिसंवेदनशील र ६० वटा केन्द्रलाई संवेदशील केन्द्रको रूपमा लिइएको छ । तीन सय ६४ मतदान केन्द्रमा करिब तीन हजार कर्मचारी खटिने जनाइएको छ ।
मकवानपुर क्षेत्र नं १ मा एक लाख ५० हजार एक सय ५५ र क्षेत्र नं २ मा एक लाख ५० हजार पाँच सय ७८ मतदाता छन् । जिल्लामा पाँच जना तेस्रो लिङ्गी मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

सुदूरपश्चिममा निर्वाचनका लागि २५ हजार जनशक्ति 
    
प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा स्वयंसेवकसहित करिब २५ हजार जनशक्ति परिचालन हुने भएको छ । निर्वाचनमा खटिने जनशक्तिलाई तालिम, मतपत्र र निर्वाचनमा आवश्यक पर्ने सामग्री तयार गर्ने तथा सिल गर्ने काम अन्तिम चरणमा पुगेको छ । 
प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टका अनुसार मतदान केन्द्रमा रहेका मतदाता सङ्ख्याको आधारमा निर्वाचनका लागि जनशक्ति खटाइने भएको छ । मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, स्वयंसेवक र कार्यालय सहयोगी परिचालन गरिनेछन् । 
सुरक्षाकर्मीबाहेक स्वयंसेवकसहित गरेर प्रदेशभर २५ हजार जनशक्ति निर्वाचनका लागि परिचालन गर्ने तयारी भएको भट्टले बताए । उनले भने, “पाँच सयसम्म मतदाता भएको केन्द्रमा स्वयंसेवकसहित ११ जना र पाँच सय बढी मतदाता भएको केन्द्रमा १२ जना खटाउने तयारी भएको छ ।”
सुदूरपश्चिम नौ वटै जिल्लामा गरेर दुई हजार एक सय ४६ मतदान केन्द्र र एक हजार एक सय ६१ मतदानस्थल कायम गरिएका छन् । यसका साथै प्रदेशरभर २२ वटा अस्थायी मतदान केन्द्र तोकिएका छन् । 
प्रदेशमा रहेका मतदातासङ्ख्याको आधारमा प्रत्येक जिल्लामा मतपत्र पनि पुगिसकेका छन् । मतपत्र र निर्वाचन सामग्री तयार गर्ने र सिल गर्ने काम अन्तिम चरणमा पुगेको भट्टले बताए । उनले भने, “मतदातासङ्ख्याको पाँच प्रतिशत बढी मतपत्र यसअघि नै यहाँ पुगिसकेका छन् । मतपत्र र निर्वाचनमा आवश्यक पर्ने अन्य सामग्री प्याकिङ्ग तथा सिल गर्ने काम भइरहेको छ ।”
मतदान अधिकृत र सहायक मतदान अधिकृतो तालिम सञ्चालन भएको र उनीहरूको तालिमपश्चात मतपत्र र निर्वाचन सामग्री सम्बन्धित मतदानकेन्द्रमा ढुवानी गरिने जनाएको छ । आजदेखि मतपत्र र निर्वाचन सामग्री ढुवानीको काम शुरु हुने र मङ्सिर १ गतेभित्र सम्बन्धित मतदानकेन्द्रमा पुगिसक्ने भट्टले बताए । 
सुदूरपश्चिममा १६ लाख ५८ हजार चार मतदाता रहेका छन् । यहाँ प्रतिनिधिसभाका लागि १६ र प्रदेशसभाका लागि ३२ निर्वाचन क्षेत्र रहेका छन् । निर्वाचनको मिति नजिकिएसँगै दलका उम्मेदवारले प्रचारप्रसारमा तीव्रता दिएका छन् । चुनावी ऐजेण्डाका साथ गाउँ पसेका उम्मेरवार मतादाता रिझाउन महत्वकांक्षी योजना बाढी रहेका छन् ।
 

प्रकाशित मिति: शनिबार, कात्तिक २६, २०७९  १८:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार