जातीय विभेदको अन्त्य आरक्षणबाट होइन ज्ञान र सीपले हुन्छ : ओली

बिहीबार, कात्तिक २४, २०७९
Global Ime Bank

झापा ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जातीय विभेदको अन्त्य आरक्षणबाट नभई ज्ञान र सीपबाट मात्र हुने बताएका छन् । एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ति समाजले आज दमकमा आयोजना गरेको प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा उनले आरक्षणले कुनै जाति समुदायको उत्थान गर्न नसक्ने बताए । उनले आरक्षणले ज्ञान, सीप र क्षमतालाई निष्क्रिय बनाउँदै समुदायका पनि एउटा निश्चित व्यक्तिले मात्र अवसर पाउने बताए ।
“आरक्षणले बौद्धिकता र ज्ञानमाथि अन्याय हुन्छ”, उनले भने । लामो समयदेखि उत्पीडनमा परेका जाति समुदायलाई केही समयका लागि मात्र आरक्षणको व्यवस्था गरिएकाले अब लामो समय जान नहुनेमा उनले जोड दिए । 
नेपालमा संविधान र कानूनमा विभेद हटेको वर्षौँ भए पनि मानिसको चेतना र व्यवहारमा हट्न अझै बाँकी रहेको उनको भनाइ छ । उनले देशमा भएको जातीय विभेदविरुद्ध सङ्गठितरूपमा एमालेले आवाज उठाउँदै आएकाले अब राज्यतहबाटै विभेद उन्मूलनको योजना अघि बढाइने बताए । 
आजै उनले आज झापा क्षेत्र नं ४ सुरुङ्गा बजारमा आयोजित चुनावी सभामा मुलुकलाई राष्ट्रियता र लोकतन्त्रको निम्ति लड्न सक्ने शक्तिको खाँचो भएको बताए । मुलुकमा सुसाशन कायम गर्ने, विकासलाई अगाडि बढाउने र राष्ट्रियताका लागि लड्ने सक्ने शक्ति अबको आवश्यकता भएको उनले बताए । 
अध्यक्ष ओलीले यी सब गर्ने र राष्ट्रिय निर्माणको सङ्कल्प बोकेको शक्ति मुलुकमा एमालेबाहेक अरु कुनै पनि हुन नसक्ने जिकिर गरे । उनले विगतको ४१ महिना आफू प्रधानमन्त्री हुँदा गरेका कामको फेहरिस्त हालै पार्टीले सार्वजनिक गरिएको घोषणापत्रमा समेत उल्लेख गरेको बताए । “एमालेले गरेका सयवटा कामका बारेमा बसेकै ठाउँबाट भन्नसक्छु”, उनले भने । 
कृषिमा प्रविधिसँगै आधुनिकरण आवश्यक 
आजै झापाको शिवसताक्षी नगरपालिकाको शिवगञ्जमा आयोजित सभामा उहाँले सबैखाले विकासले मात्रै मुलुकको अवस्था बदलिने बताएका छन् । उनले पूर्वाधार विकाससँगै आर्थिक, कृषिसँगै अन्य क्षेत्रको उन्नति भएमात्रै मुलुक समुन्नत हुने बताए । 
अध्यक्ष ओलीले मुलुकलाई विकासशील राष्ट्रमा पु¥याउन अहिले कृषिको आधुनिकीकरण र प्रविधिको प्रयोग अनिवार्य रहेको बताए । “प्रविधि प्रयोग किसानलाई सिकाउँदै कृषिको आधुनिकीकरण गर्दै लैजानुपर्छ”, उनले भने, “कृषिलाई व्यावसायीकरण गरिए मुलुकको अर्थतन्त्र अघि बढछ ।”
उनले नदी नियन्त्रणसँगै कन्काई बहुउद्देश्यीय परियोजना सुरु गरिने बताए । उनले बिरिङ र कन्काई नदीको तटबन्धको काम अघि बढाउने उल्लेख गरे । देशका लागि सुदृढ राष्ट्रिय एकता आवश्यक रहेको बताउँदै उनले भने, “मुलुकको शान्ति र एकता अहिलेको आवश्यकता हो ।” 

प्रकाशित मिति: बिहीबार, कात्तिक २४, २०७९  १८:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार