झापा कारागारका एक सय ४८ जनाले मतदान गर्न पाउने 

बिहीबार, कात्तिक २४, २०७९
Global Ime Bank

झापा । मङ्सिर ४ गते हुने निर्वाचनमा झापा कारागारमा रहेका कैदीबन्दीमध्ये एक सय ४८ जनाले मतदान गर्न पाउने भएका छन् । कारागारका एक हजार चार सय २७ जना कैदीबन्दी रहेका जनाइएको छ । 
मतदाता नामावलीमा नाम भएका कैदीबन्दीले मात्र प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ मतदान गर्न पाउने निर्वाचन कार्यालय झापाले जनाएको छ । 
कार्यालयका प्रमुख तुलसीप्रसाद नेपालले कारागार परिसरभित्रै अस्थायी मतदान केन्द्र स्थापना गरेर उनीहरुलाई मतदानको व्यवस्था गरिने बताए । उनले भने, “कैदीबन्दी धेरै भए पनि मतदाता नामावलीमा एक सय ४८ जनाको नाम छ । नाम भएकाले मात्र मतदान गर्न पाउनुहुन्छ ।”
कारागारमा हाल एक हजार दुई सय ४५ पुरुष, ७१ जना महिला र दुई जना बालबालिका कैदीबन्दी रहेको जिल्ला कारागार झापाले जनाएको छ । जसमध्ये एक हजार तीन सय ३५ नेपाली र एक सय १० जना विदेशी रहेका छन् ।
जिल्लामा सात सय ६६ स्थायी र दुई वटा अस्थायी मतदान केन्द्र रहेका छन् । जिल्लाका मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदात अधिकृत गरी एक हजार पाँच सय ३६ जना निर्वाचनमा खटाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, कात्तिक २४, २०७९  १७:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार