पुराना मतदाता सङ्गठित गर्दै दलहरू

बुधबार, कात्तिक २३, २०७९
Global Ime Bank

चितवन । जिल्लाका राजनीतिक दलहरू आफ्ना सङ्गठित र क्रियाशील सदस्यका गुनासोको सुनुवाइ गर्दै मत सङ्गठित गर्ने अभियानमा जुटेका छन् । मतदाताका पूरा नभएका माग आगामी दिनमा पूरा गर्ने बाचाका साथ आफ्नो उम्मेदवारलाई मतदान गर्न आग्रह गरिरहेका छन् । आफ्नो, गठबन्धनको वा पार्टीले सहयोग गरेका उम्मेदवारलाई मतदान गर्न सदस्यहरूलाई घर–घरमा पुगेर आग्रह गर्न थालिएको छ ।
जिल्लामा लोकतान्त्रिक वाम गठबन्धन, नेकपा (एमाले) र उसले सहयोग गरेको स्वतन्त्रसँगको गठबन्धन, राष्ट्रिय प्रजातन्त्र पार्टीजस्ता दलहरूले विगतमा आफूलाई मतदान गर्दै आएका र नयाँ मतदातालाई आफ्नो पक्षमा पार्न लागिपरेका हुन् । एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले तल्लो तहमा पुगेर मतदातासँग प्रत्यक्ष भेटेर पार्टी र पार्टीले समर्थन गरेको उम्मेदवारलाई मतदान गर्न आग्रह गरिएको बताए  ।
जिल्लामा एमाले का १६ हजार सङ्गठित सदस्य छन् । मतदाताको सङ्ख्या एक लाख सात हजार रहेको दाबी उहाँको छ । यसअघिका निर्वाचनमा क्षेत्र नं १ र २ आफूले र ३ मा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) लाई जिताएको एमालेले अहिले पनि ३ नं क्षेत्रमा स्वतन्त्रलाई सहयोग गर्दैछ । न्यौपानेले मतदाताका विकासको तीव्र चाहना पूरा नहुँदा रहेका असन्तुष्टिलाई अबको दिनमा पूरा गर्ने बाचासमेत गरिएको बताए ।
 टोल–टोलमा एमालेको कमिटी धेरै ठाउँमा रहेको र नभएका ठाउँमा पनि टोली बनाएर उम्मेदवारसहित भेटघाट गरी आफ्ना पुराना र नयाँ मतदातालाई पार्टीको पक्षमा मत हाल्ने अवस्थाको सिर्जना गराइरहेको उनले जानकारी दिए । उनले भने, “धेरै बहकिने सम्भावना अब छैन ।”
 नेपाली कांग्रेस चितवनले गएको निर्वाचनमा जिल्लाका तीनवटै क्षेत्र गुमाएको थियो । अहिले तीनवटै क्षेत्र गठबन्धनको पक्षमा पार्न पुराना आफ्ना मतदातालाई फकाउन सुरु गरेको छ । उम्मेदवारसहित घरदैलोमा पुगेर पार्टीको पक्षमा मतदान गर्न आग्रह गरिरहेको छ । लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारलाई मतदान गर्न घर–घरमा पुग्ने काम भइरहेको जिल्ला सचिव ध्रुव पोखरेलले जानकारी दिए ।
कांग्रेसले महिला दिदीबहिनीलाई बढी लक्षित गरेर भेटघाट कार्यक्रम तीव्ररूपमा अघि बढाएको उनले बताए । मतदातालाई भावी कार्यक्रम, विगत र वर्तमानमा कांग्रेसले गरेका राम्रा काम, वर्तमान सरकार गठनका औचित्यलगायत विषय बुझाउने काम भइरहेको उनको भनाइ छ । जिल्लामा कांग्रेसको २८ हजार क्रियाशील सदस्य छन् । कांग्रेसले ८५ हजारभन्दा बढी मतदाता आफ्ना रहेको दाबी गर्दै आएको छ ।
टोल–टोलमा महिला समूह बनाएर मत माग्न हिँडिरहेको भन्दै उनले अब गठबन्धनबाहेक अन्यत्र मत नजाने गरी काम भइरहेको बताए  । उनले भने, “सुरुका दिनमा केही असन्तुष्टि थिए, ती साम्य हुँदै गएका छन् । निर्वाचनको दिनसम्म पूरै साम्य हुन्छन् ।”
माओवादी केन्द्र चितवन पनि गठबन्धनका दलसँग घर–घरमा पुग्न थालेको छ । एकलभन्दा पनि संयुक्तरूपमा घर–घरमा पुग्ने गरेको जिल्ला अध्यक्ष रामचन्द्र अधिकारीले जानकारी दिए । पार्टी कमिटी र जनवर्गीय सङ्गठनले निर्णय गरेर आफ्नो पक्षका उम्मेदवारलाई मतदान गर्न पुराना र नयाँ मतदातालाई आग्रह गरिएको बताए । संविधान, लोकतन्त्र, विकास र समृद्धिको नयाँ मार्ग खोल्ने कुरा जनतालाई बुझाउने काम भइरहेको उनले बताए ।  विगतका कामको निरन्तरता र पूर्णताका निम्ति गठबन्धनका उम्मेदवार जिताउनुपर्छ भन्ने आफ्नो पार्टीको एजेण्डा रहेको भन्दै उनले अधिकांश कार्यकर्ताले बुझिसकेको बताए ।
जिल्लामा माओवादी केन्द्रका २४ हजार सङ्गठित सदस्य छन् । अध्यक्ष अधिकारीले भने, “हाम्रा सदस्य र पुराना एवं नयाँ मतदाता पार्टीको लाइन बाहिर जाँदैनन् ।” सुरुका दिनमा केही असन्तुष्टि रहे पनि अहिले समाधान भएर गएकाले गठबन्धनका पक्षमा मतदान गर्ने उनको दाबी छ । गएको निर्वाचनमा एमालेसहितको गठबन्धनबाट चितवन क्षेत्र नं ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भएका थिए । 
राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनले आफ्ना पुराना मतदातालाई सङ्गठित गर्ने काम गरिरहेको छ । नयाँ मतदातालाई पनि आफ्नो पक्षमा पार्ने काम भइरहेको पार्टीले जनाएको छ । जिल्ला उपाध्यक्ष चेतनाथ वाग्लेले घरदैलो अभियान गरी मतदाता शिक्षासँगै आफ्ना उम्मेदवारलाई मतदान गर्न आग्रह गरिएको बताए ।
गएको निर्वाचनमा जिल्लामा कुनै पनि सिट ल्याउन नसकेको राप्रपाले दोस्रो संविधानसभा निर्वाचनमा एक सिट जित हासिल गरेको थियो । वाग्लेले भने, “यसपटक आफ्ना मत सुरक्षित गर्दै मत बढाएर जित हासिल गर्दैछौँ ।” सो पार्टीको जिल्लाको क्रियाशील सदस्यको सङ्ख्या १२ हजार पाँच सय छ ।
पुरानासँगै नयाँ दल र स्वतन्त्रका उम्मेदवार पनि जिल्लाका तीनवटै क्षेत्रमा रहेका छन् । उनीहरूको प्रभावसमेत बढ्दै गएपछि पुराना दलहरूले आफ्ना मतदातालाई सङ्गठित गर्ने काम अभियानका रूपमा चलाएका हुन् ।–रासस 
 

प्रकाशित मिति: बुधबार, कात्तिक २३, २०७९  २१:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार