सोसल मिडिया
Contact Us
युनिकोड
बैतडी । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बैतडी आइपुगेका छन् । संयुक्त लोकतान्त्रिक वाम गठबन्धनले पाटनमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न उनीहरु यहाँ आएका हुन् । उनीहरूलाई संयुक्त लोकतान्त्रिक वाम गठबन्धनका चुनावी प्रचार–प्रसार संयोजक तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्द, माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नरेन्द्रबहादुर कुँवर (विजयसुन्दर) लगायतले फूलमालासहित स्वागत गरेका थिए । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई ध्यानमा राखेर चुनावी सभाको आयोजना गरिएको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले जानकारी र्दिए ।
सत्तारूढ शीर्ष नेताहरू यहाँ पुगेपछि सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । यस्तै उनीहरूको स्वागतका लागि पाटन बजार झकिझकाउ पारिएको छ । उनीहरूले आजै दार्चुलाको गोकुलेश्वरमा आयोजित चुनावी सभालाई पनि सम्बोधन गर्ने कार्यक्रम छ । बैतडीमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) संयुक्तरूपमा गठबन्धन गरेर चुनावी मैदानमा छन् । गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य नरेन्द्रबहादुर कुँवर (विजयसुन्दर) चुनावी मैदानमा रहेका छन् । प्रदेशसभा (१) मा नेपाली कांग्रेसका वीरबहादुर विष्ट र प्रदेशसभा (२) मा नेपाली कांग्रेसका शिवराज भट्ट चुनावी मैदानमा छन् ।