सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । सञ्चार क्षेत्रका जानकारले निर्वाचनका समयमा सञ्चारमाध्यम उम्मेदवार र दलका विषयमा बढीभन्दा बढी अन्तक्र्रियात्मक हुनुपर्ने बताएका छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता अनुगमन सुझाव समितिसँग गरेको छलफलमा उनीहरुले प्रेस काउन्सिलले सञ्चारमाध्यमबाट सम्प्रेषित सामग्रीको सन्तुलन, निष्पक्षतालगायत विषयमा अनुगमन गर्नुपर्ने बताए । नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष किशोर नेपालले काउन्सिलले जारी गर्ने आचारसंहितामा परिमार्जनसहित अघि बढ्नुपर्ने बताए । उनले सञ्चारमाध्यमलाई आचारसंहिताको परिधिमा रहेर अन्तक्र्रियात्मक गराउन काउन्सिलले भूमिका खेल्नुपर्ने बताए । उनले काउन्सिलको गठन संरचनामै त्रुटि रहेको हुँदा यसले गर्ने कामकारबाही र प्रभावकारितामा प्रश्न चिह्न उठ्दै आएको बताए । काउन्सिललाई संसद् मातहत लैजानुपर्ने उनको सुझाव छ । प्रेस काउन्सिल नेपालका पूर्वकावा अध्यक्ष किशोर श्रेष्ठले सञ्चारमाध्यममा सन्तुलित सामग्री सम्प्रेषणका लागि सर्वप्रथम पत्रकारलाई नै सजग बनाउनुपर्नेमा जोड दिए । उनले सञ्चारमाध्यमले गर्ने मत सर्वेक्षण पत्रकार आचारसंहिताको विपरीत भए÷नभएको अनुगमन गरी आवश्यक कदम चाल्नुपर्ने बताए । उनले निर्वाचनको मिति नजिकिँदै गर्दा पत्रकार स्वयं पार्टी र उम्मेदवारको प्रचारमा लाग्ने गरेको देखिएकाले पत्रकारलाई आचारसंहिताको पालनामा कडाइ गर्नुपर्ने बताए । “निर्वाचन आचारसंहिता, २०७९ ले मत सर्वेक्षण गर्न रोक लगाएको छ, यसतर्फ पत्रकार र सञ्चारमाध्यमलाई सचेत गराउनुपर्छ”, उनले भने । काउन्सिलका पूर्वकावा अध्यक्ष गोपाल बुढाथोकीले पत्रकारलाई स्वनियमनमा रहन र आचारसंहिता पालनामा सजग रहन सतर्कता अपनाउनुपर्ने बताए । उनले काउन्सिललाई स्रोत साधन सम्पन्न गराउन आवश्यक रहेको भन्दै काउन्सिल सञ्चारमाध्यम र पत्रकारको अभिभावक रहेको स्मरण गराए । “काउन्सिल पत्रकारको संरक्षक होइन, सञ्चारमाध्यमका विषयवस्तु परिधिभित्र छन् कि छैनन्, छैनन् भने त्यस्ता प्रवृत्तिका विरुद्ध काउन्सिल निर्मम हुनुपर्छ”, उनले भने । नेपाल पत्रकार महासङघ र काउन्सिलले संयुक्त रुपमा पत्रकार र सञ्चारमाध्यमलाई आचारसंहिता पूर्ण परिपालनाका लागि आह्वान गर्नुपर्ने बताए । महासङ्घका पूर्वसभापति विष्णु निष्ठुरीले पत्रकार र सञ्चारमाध्यम अराजक हुनसक्नेतर्फ सचेत रहँदै काउन्सिलले जिम्मेवार प्रेसका लागि निरन्तर भूमिका निर्वाह गर्नुपर्ने बताए । सञ्चारमाध्यमले स्वतन्त्र र स्वच्छन्दताको सीमा नाघ्न नहुने उनको भनाइ थियो । उनले सञ्चारमाध्यम र पत्रकार पत्रकारिताको मूल्य मान्यता तथा सिद्धान्तबाट बाहिरिएको अवस्थामा महासङ्घ र काउन्सिलले सहजीकरण गर्नुपर्ने बताए । “पत्रकार र सञ्चारमाध्यमलाई जिम्मेवार बनाउनुपर्छ”, उनले भने । महासङ्घका पूर्वअध्यक्ष तारानाथ दाहालले निर्वाचनको समयमा जति धेरै अन्तक्र्रिया हुन सक्यो त्यति नै सही उम्मेदवार निर्वाचित हुने भन्दै सञ्चारमाध्यमले पूर्वाग्रहरहित रूपमा उम्मेदवार र दलका विषयमा मतदातालाई सुसूचित गर्नुपर्ने बताए । उनले प्रेस काउन्सिलले सञ्चारमाध्यमबाट सम्प्रेषित साम्रगीको सत्यता, पक्षधरता, पुनरावृत्ति, दुष्प्रचारयुक्त आदि विषयमा अनुगमन केन्द्रित गर्नुपर्नेमा जोड र्दिए । निर्वाचनका समयमा सञ्चारमाध्यमको प्रस्तुतिलाई लिएर निर्वाचन आयोग र काउन्सिलले कारबाही प्रक्रिया अगाडि बढाउन नहुने बताए । “प्रजातन्त्रिक मुलुकमा निर्वाचन आएपछि प्रेस अझ बढी खुला हुन्छ, जसको पनि पक्षधरता लिन पाउँछ भनिन्छ”, उनले प्रश्न गरे, “तर नेपालमा भने निर्वाचन आउँदा हामी प्रेसलाई ‘चुप’ भन्छौँ, जनता के आधारमा सुसूचित हुन्छन् ?” सञ्चारमाध्यमले भ्रमपूर्ण प्रचार गरेका भए काउन्सिलले कारबाही गर्नुपर्ने जनाउँदै उनले स्वनियन्त्रणलाई काउन्सिलले प्रोत्साहित गर्नुपर्ने बताए । उनले पत्रकार आचारसंहिताको पुनरावलोकन गर्नुपर्ने समय आएको बताए । महासङ्घका पूर्वअध्यक्ष डा महेन्द्र विष्टले सञ्चारमाध्यमले चुनावका सन्दर्भमा स्वतन्त्र बहस चलाउन सक्नुपर्ने बताए । निर्वाचनका समयमा दल र उम्मेदवारका विषयमा सामग्री सम्प्रेषणमै रोक लगाउन नहुने भन्दै विष्टले स्वतन्त्र बहसबाट मतदातालाई स्पष्ट पार्नु मिडियाको दायित्व भएको उल्लेख गरे । उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई खुम्च्याउने गरी काउन्सिल अघि बढ्न नहुने बताए । “प्रेस स्वतन्त्रतालाई बढीभन्दा बढी प्रवद्र्धन गर्नुपर्छ”, उनले भने । महासङ्घका अध्यक्ष विपुल पोखरेलले निर्वाचनका समयमा सञ्चारमाध्यमको आफ्नै निर्देशिका आवश्यक रहेको बताए । उनले निर्वाचन आयोगले बनाएको आचारसंहिता प्रेस स्वतन्त्रतालाई सङ्कुचन गर्ने गरी लागू भएको भन्दै सञ्चारमाध्यममा निष्पक्ष बहस हुन रोक्न नहुने बताए । सञ्चारमाध्यममा जति धेरै सम्पादकीय स्वतन्त्रताको उपयोग हुन सक्यो उति नै धेरै प्रेस स्वतन्त्रताको रक्षा हुने उनको भनाइ थियो । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले काउन्सिलले गर्ने अनुगमनका सन्दर्भमा सरोकारवालाको सुझाव महत्वपूर्ण भएको बताए । उनले सरोकारवाला तथा विज्ञको सुझावको आधारमा काउन्सिल अघि बढ्ने भन्दै स्वतन्त्र प्रेसको रक्षा र सञ्चारमाध्यमलाई आचारसंहिताको पालनामा जिम्मेवार बनाउन काउन्सिल सधैँ सक्रिय रहने प्रष्ट पारे । काउन्सिलले निर्वाचको समयमा सञ्चारमाध्यमले प्रस्तुत गर्ने समाचार सामग्रीको निरन्तर अनुगमन गरिरहेको र निर्वाचन आचारसंहिता तथा पत्रकार आचारसंहिता उल्लङ्घन गर्ने सञ्चारमाध्यमलाई कारबाही गरिएको बताए । काउन्सिलको कात्तिक ६ गते बसेको बोर्ड बैठकले निर्वाचन अनुगमनलाई देशव्यापी र प्रभावकारी बनाउन अध्यक्ष बस्नेतको संयोजकत्वमा दुवै संस्थाका पूर्वअध्यक्ष सम्मिलित आचारसंहिता अनुगमन सुझाव समिति गठन गरेको थियो ।