Dashain Banner
Dashain Banner

अनुगमन अधिकृतलाई पर्सा काँग्रेसका उम्मेदवार रमेश रिजालको धम्की

सुरक्षा प्रबन्ध गर्न आयोगद्वारा प्रहरीलाई पत्रचार
आइतबार, कात्तिक २०, २०७९

काठमाडौं । निर्वाचन आयोगले पर्साको निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्यका नेपाली काँग्रेसका उम्मेदवार रमेश रिजालले आचारसंहिता अनुगमन अधिकृतका रूपमा रहेका प्रमुख कोष नियन्त्रक रुद्रबहादुर कार्कीलाई धम्की दिएको विषयमा आपत्ति प्रकट गरेको छ । उम्मेदवार रिजाले अनुगमन अधिकृत कार्कीलाई धम्की दिएको भन्दै आवश्यक सुरक्षा प्रबन्ध गर्न जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्र पठाएको छ ।
पत्रमा रिजालले कार्कीलाई फोनमार्फत धम्की दिएको तथा गालीगलौज गरेको भन्ने लिखित उजुरी प्राप्त भएकाले  उनका लागि आवश्यक सुरक्षा प्रबन्ध तत्काल मिलाउन आग्रह गरिएको छ । 
उम्मेदवार रिजालका आचारसंहिता विपरीतका गतिविधि उपर आवश्यक निगरानी गरी आयोगमा प्रतिवेदन पेश गर्न भनिएको छ । निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २० को उपदफा (१) को खण्ड (घ) अनुसार निर्वाचनमा संलग्न कर्मचारीलाई धाक, धम्की वा डर, त्रास देखाउन हुँदैन । सोही ऐनको उपदफा (४) मा त्यस्तो कसुर गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।
आयोगले ती व्यवस्थाका साथै निर्वाचन आचारसंहिता, २०७९ को दफा (४) को खण्ड (ढ) मा निर्वाचनको विश्वसनीयतामा वा आयोग, आयुक्त वा कर्मचारीको प्रतिष्ठानमा प्रतिकूल असर पर्ने गरी कुने अवाञ्छित लाञ्छना लगाउन नहुने व्यवस्थाहरूबारे स्मरण गराएको छ । सो दफाको खण्ड (ण) मा कसैको चरित्र हत्या गर्न, व्यक्तिगत लाञ्छना लगाउन, मानहानी गर्न वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरुपमा उत्पादन गर्न तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण गर्न नहुने व्यवस्था रहेको छ ।

गालीगलौज नगरी मत माग्न प्रमुख आयुक्तको आग्रह

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अरुलाई गालीगलौज वा अरुको चरित्र हत्या नगरी आफ्ना राम्रा कुरा गरेर निर्वाचन प्रचारप्रसार गर्न दलका नेता र उम्मेदवारलाई पुनः आग्रह गरेका छन् । 
 आसन्न निर्वाचनका सन्दर्भमा टङ्कप्रसाद आचार्य स्मृति प्रतिष्ठान र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आज काठमाडौँमा आयोजना गरेको नागरिक संवादमा उनले भने,  “मैले त भन्दै आएको छु । १५ मिनेट आफू गतिलो छु भन्न १३ मिनेट अरुलाई गाली गर्ने र चरित्र हत्या गर्ने साहित्य कहाँ पढेर आउनुभयो नेताज्यू ?”
उनले मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिबाट बचेर मत माग्ने र मत दिने वातावरण सिर्जना गर्न पनि आग्रह गरेका छनु । कार्यक्रममा पूर्वप्रमुख निर्वाचन आयुक्त डा भोजराज पोखरेल, पूर्वनिर्वाचन आयुक्त दोलखबहादुर गुरुङ, संविधानविद् नीलाम्बर आचार्य, वरिष्ठ पत्रकार युवराज घिमिरेलगायतसँग निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहितरुपमा सम्पन्न गराउने सन्दर्भमा नागरिक संवाद गरिएको थियो ।
 

प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९  २१:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार