सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । पहिरो र बाढीका कारण गण्डकी र कर्णाली प्रदेशका तीन स्थानमा सडक अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार म्याग्दी र सुर्खेतमा सडक एकतर्फी सञ्चालनमा रहे पनि गोरखामा भने सडक पूर्ण रूपमा अवरुद्ध छ । प्रहरीका अनुसार म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीस्थित बेनी–जोमसोम सडकखण्डमा पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा रहेको छ । उक्त सडकखण्डमा असोज १० गते बिहान ५:५० बजेदेखि अवरोध भएको हो । त्यस्तै, गोरखाको आरुघाट गाउँपालिका–२ र ३ तथा आसपासको क्षेत्रमा बाढीका कारण सडक अवरुद्ध भएको छ। सोतिमा रहेको फलामे पुलमा समस्या आएपछि गोरखाको आरुघाटबाट धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । उक्त सडकखण्डमा असोज २५ गते बिहान ५:३० बजेदेखि आवागमन ठप्प छ । यसैगरी, सुर्खेतको बराहताल गाउँपालिका–७ औलिसेस्थित कर्णाली राजमार्गमा पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा रहेको छ । उक्त सडकखण्डमा कात्तिक १ गते बिहान ५:४५ बजेदेखि अवरोध भएको विवरणमा उल्लेख छ । नेपाल प्रहरीले विपद्का कारण सडक आवागमन प्रभावित भएकाले सम्बन्धित सडकखण्डमा यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरेको छ ।