काठमाडौं क्षेत्र नं ९ मा स्वतन्त्रसहित दलहरुको प्रचारप्रसार तीव्र

शनिबार, कात्तिक १९, २०७९
Global Ime Bank

काठमाडौँ । आगामी मङ्सिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि प्रमुख राजनीतिक दलका अलावा स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारले आआफ्नो क्षेत्रभित्र प्रचारप्रसारको कामलाई तीव्र पारेका छन् ।
मतदाताका घर आँगनमा पुगेर उम्मेदवारले आफ्ना एजेण्डा प्रस्तुत गर्दै मत मागिरहेका छन् । यसै क्रममा काठमाडौँको क्षेत्र नं ९ का उम्मेदवारले पनि मतदातासँग मत मागिरहेका छन् । वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट  सो क्षेत्रका उम्मेदवार कल्पना धमला र प्रदेशसभातर्फ २ का उम्मेदवार श्यामकृष्ण खड्काले आज चन्द्रागिरि नगरपालिका–१ दहचोकमा मतदातासँग मत मागेका छन् ।
वाम लोकतान्त्रिक गठबन्धनको महिला परिचालन तथा समन्वय समितिले आयोजना गरेको उम्मेदवार परिचयात्मक वडास्तरीय महिला भेलालाई सम्बोधन गर्दै प्रतिनिधिसभाका उम्मेदवार धमलाले संविधानको रक्षा र विकास तथा समृद्धिको लक्ष्य पूरा गर्ने उद्देश्यका साथ आफूहरु निर्वाचनको मैदानमा उत्रिएको बताइन् । 
उनले जनताको मतको दुरुपयोग नगर्ने, संविधानविपरीत गएर कुनै पनि काम नगर्ने, भ्रष्टाचार नगर्ने तथा जनताको दुःखसुखमा साथ दिने दृढता व्यक्त गरिन् । नेकपा (माओवादी केन्द्र) का नेत्रीसमेत रहेकी उम्मेदवार धमलाले नेपाली जनताको शिर निहुराउने खालका कुनै पनि काम नगर्ने तथा आफू यही क्षेत्रको भएकाले कुनै अविश्वास नगर्न आग्रह गरे । 
उम्मेदवार धमलाले ६० वर्ष पुगेपछि आफू कुनै पनि कार्यकारी पदमा नबस्ने उल्लेख गर्दै विपक्षी उम्मेदवारभन्दा आफूले देश र जनताका पक्षमा धेरै सङ्घर्ष गरेको कुरा मतदाताले जानकारी पाएको बताइन् । 
कार्यक्रममा प्रदेशसभातर्फ २ का उम्मेदवार खड्काले वाम लोकतान्त्रिक गठबन्धनले मुलुकको दिगो हित र दीर्घकालीन लक्ष्य राखेकाले पराजित हुने छुट नभएको बताए । 
सो अवसरमा गठबन्धनका उम्मेदवारले सडक, पर्यटन तथा सिपमूलक रोजगारी तथा उद्यमशिलताको विकासका सन्दर्भमा आआफ्ना एजेण्डा प्रस्तुत गरेका थिए । सो क्षेत्रमा नेकपा एमालेका तर्फबाट पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठ उम्मेदवार छन् । 

रोचक बन्दै काठमाडौँ क्षेत्र नं ८ को निर्वाचन

चुनाव नजिकिँदै जाँदा उम्मेदवारहरु प्रचारप्रसारमा जुटेका छन् । निर्वाचन प्रचारप्रसारका लागि सभा, जुलुस, खुला प्रचार अभियान खुलेसँगै काठमाडौँ क्षेत्र नं ८ मा चुनावी चहलपहल बढेको छ । उम्मेदवारहरुले समूहमा घरदैलो र टोलमा कोणसभाका कार्यक्रम अघि बढाइरहेका छन् ।
आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा काठमाडौँ ८ मा सत्तागठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का जीवनराम श्रेष्ठ छन् । स्थानीय निर्वाचनको मत परिणाम हेर्दा सो क्षेत्रमा कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रको गठबन्धन नै बलियो देखिएको छ ।
गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनको नतिजाअनुसार सो क्षेत्रका आठ वडामध्ये कांग्रेसले चार, नेकपा (एमाले)ले दुई, राप्रपाले एक र नेकपा (एकीकृत समाजवादी) एक वडामा विजयी भएका छन् ।
सो क्षेत्रमा काठमाडौँ महानगरका ६ वडा १३, १५, १९, २०, २३ र २४ तथा सोही क्षेत्रमा नार्गाजुन नगरपालिकाका ४ र ५ नं वडा समेटिएका छन् । त्यसमध्ये काठमाडौँ महानगरका १९, २०, २४ र नागार्जुनको वडा नं ४ मा कांग्रेसले जीत हासिल गरेको छ । काठमाडौँ महानगरभित्र २३ र १३ नं वडामा एमाले विजयी भएको छ । त्यस्तै वडा नं १५ मा नेकपा (एकीकृत समाजवादी) र नागार्जुन–५ मा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएको छ ।
आगामी निर्वाचनमा श्रेष्ठ र एमालेका उम्मेदवार शिवसुन्दर राजवैद्यबीच नै प्रतिस्पर्धा हुने देखिन्छ । सो क्षेत्रमा स्वतन्त्रबाट सुमन सायमीउम्मेदवार हुनुहुन्छ । उहाँले गत स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरको प्रमुखमा १३ हजार सात सय ७० मत प्राप्त गरेका थिए । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट विराजभक्त श्रेष्ठ पनि चुनावी मैदानमा छन् । उनी बाग्मती प्रदेशको निवर्तमान प्रदेशसभा सदस्य पनि हुन् । 
विसं २०७४ निर्वाचनमा जीवनरामले कांग्रेसका स्व नवीन्द्रराज जोशीलाई १३ हजार तीन सय ९७ मत ल्याएर चार सय ४४ को मतान्तरले पराजित गरेका थिए । श्रेष्ठसँग प्रतिस्पर्धा गरेका जोशीको गत वर्ष निधन भएको छ । 
गत वैशाखमा भएको स्थानीय तहको निवार्चनको मतको परिणाम केलाउँदा पनि एमालेभन्दा कांग्रेस तीन हजार छ सय ४३ मतले अगाडि छ ।
आठ वडामा कांग्रेसका वडाध्यक्षले कुल आठ हजार सात सय १६ मत प्राप्त गरेका थिए । एकीकृत समाजवादीले तीन हजार ७४ मत र राप्रपाले एक हजार पाँच सय ३९ मत प्राप्त गरेका थिए । कांग्रेस र एकीकृत समाजवादीले वडामा ११ हजार सात सय ९० मत प्राप्त गरेका छन् । सो मत गणना गर्दा पनि एमालेभन्दा गठबन्धन छ हजार सात सय १७ मतले अगाडि छ । विसं २०७४ को मत परिणाम र स्थानीय तहको निर्वाचनलाई हेर्दा सो क्षेत्रमा रोचक भिडन्त हुने देखिएको छ ।
कुल ५३ हजार एक सय छ मतदाता रहेको सो क्षेत्रमा २३ मतदानस्थल र ६१ मतदान केन्द्र निर्धारण गरिएको छ ।
 

प्रकाशित मिति: शनिबार, कात्तिक १९, २०७९  १९:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार