सोसल मिडिया
Contact Us
युनिकोड
डडेल्धुरा । राजनीतिक माहोल अनुकूल होस् या प्रतिकूल । जस्तो अवस्थामा पनि २०४८ सालदेखि डडेल्धुराबाट निर्वाचनमा अपराजित यात्रा गरिरहेका नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिनदेखि आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा एवं प्रदेशसभाको निर्वाचनका सन्दर्भमा गृहजिल्ला डडेल्धुरामा आयोजना गरिएका चुनावीसभामा व्यस्त छन् ।
सत्ता–गठबन्धन दलका साझा उम्मेदवारसमेत रहेका प्रधानमन्त्री देउवालाई अघिल्लो आमनिर्वाचनमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेले चुनौती दिएको भए पनि यसपटक माओवादी केन्द्रको सुदूरपश्चिमको नेतृत्वकर्ता नेता खगराज भट्ट देउवालाई सघाएका छन् । गठबन्धनको प्रदेशसभा सदस्यको उम्मेदवार भएर भट्ट आफू पनि चुनावी मैदानमा छन् । प्रधानमन्त्री देउवा २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ सालको निर्वाचनमा डडेल्धुराबाट निर्वाचित भइसकेका छन् । उनी विसं २०६४ मा कञ्चनपुर ४ र २०७० मा कैलाली– ६ बाट पनि विजयी भएका थिए । गत २०७४ सालको निर्वाचनमा १६ वटा प्रतिनिधिसभा रहेको सुदूरपश्चिममा नेपाली कांग्रेसबाट प्रत्यक्षतर्फ जित्ने एक्ला नेतासमेत हुन् ।
माओवादी नेता भट्ट तीन पटक देउवासित पराजित भएका थिए । नेपाली कांग्रेस डडेल्धुराका पार्टी सचिव हेमराज चटौतले डडेल्धुराबाट कांग्रेसका उम्मेदवार देउवा बहुमतले जित्ने दाबीमा छन् । उनले स्थानीय तहको मतलाई मात्रै आधार बनाउँदा कांग्रेससहित गठबन्धनका प्रदेशका उम्मेदवारलाई जित्न कुनै समस्या नहुने दाबी गरे ।
“पालिकाको निर्वाचनमा कांग्रेस एक्लैको २२ हजार बढी, माओवादी केन्द्रको १३ हजारको हाराहारीमा मत हो”, सचिव चटौतले भने “प्रतिस्पर्धीको सबैको मिलाएर पनि १५ हजार मत देखिन्न ।” उनले प्रधानमन्त्री देउवा आइतबार पर्शुराम र आलितालमा चुनावीसभा सकेर धनगढी फर्किने कार्यक्रम रहेको बताए ।