भक्तपुरमा दलहरू घरदैलोमा

शनिबार, कात्तिक १९, २०७९
Global Ime Bank

भादगाउँ । आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि भक्तपुरका राजनीतिक दल तथा उम्मेदवारले घरदैलो कार्यक्रम सुरु गरेका छन् । निर्वाचन आचारसंहिताले प्रचारप्रसारका लागि घरदैलो गर्न पाउने छुट दिएपछि भक्तपुरका प्रमुख राजनीतिक दल तथा उम्मेदवारहरूले शुक्रबारदेखि घरदैलो कार्यक्रम सुरु गरेका हुन् ।
निर्वाचन आचारसंहिताले कात्तिक १८ गतेदेखि घरदैलोमार्फत निर्वाचनको प्रचारप्रसार गरी मत माग्न पाउने व्यवस्था गरेको छ । सोहीअनुसार भक्तपुरका सत्ता गठबन्धन, नेकपा (एमाले) र नेमकिपालगायत दलले घरदैलो कार्यक्रम सुरु गरेका हुन् ।
भक्तपुर क्षेत्र नं २ मा गठबन्धनले मध्यपुरथिमिको शङ्खधर चोकबाट घरदैलो सुरु गरेको नेपाली कांग्रेस मध्यपुरथिमि नगर सभापति हरिदास प्रजापतिले बताए । शङ्खधर चोकबाट सुरु भएको घरदैलो बायरिया लाँ, हनुमन्ते पुल भई पुनः शङ्खधर चोक, बालकुमारी, सुंगाटोल, दथुटोल, लाय्कु दुई पोखरी, भुलाँखेल, नासननी, चपाचो, गुंगचिवा, बहाखा बजारमा पुगी सम्पन्न भएको नगर सभापति प्रजापतिले जानकारी दिए ।
घरदैलो कार्यक्रममा भक्तपुर क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका जिल्ला सभापति दुलर्भ थापा, प्रदेशसभा भक्तपुर क्षेत्र नं २ (२) का नेकपा एकीकृत समाजवादीका डा राजेन्द्रमान श्रेष्ठ र समानुपातिक उम्मेदवारले जनताको घरदैलोमा पुगेर प्रत्यक्ष भेटघाट गरी मत माग्नुभएको हो । सत्ता गठबन्धनले आजै सूर्यविनायक नगरपालिका–१ सिरुटारमा घरदैलो कार्यक्रममार्फत निर्वाचनको प्रचारप्रसार गरेको नेपाली कांग्रेस सूर्यविनायक नगरसभापति निशान ढुङ्गेलले जानकारी दिए । 
त्यसैगरी नेकपा (एमाले) ले पनि मध्यपुरथिमि–६ बाट घरदैलो सुरु गरेको छ । भक्तपुर क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यका लागि एमालेका उम्मेदवार तथा एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेत, प्रदेशसभा भक्तपुर क्षेत्र नं २ (२) का उम्मेदवार चन्दनकृष्ण श्रेष्ठ र समानुपातिक उम्मेदरसहितको टोलीले वडा नं ६ का बहाखाबजार, गुंगचिवा, गार्चा, पाटी बिहारलगायतका क्षेत्रमा जनताको घरदैलोमा पुगेर मत मागेका थिए । 
वडा नं ६ को गुंगचिवाबाट सुरु भएको घरदैलो चापाचो, पाटी विहार, कुण्डोल, प्रहरी वृत्त थिमि, बहाखाबजार हुँदै गुंगचिवामा पुगेर समापन भएको एमाले जिल्ला अध्यक्ष वचन देउजाले जानकारी दिए । एमालेले शुक्रबार नै सूर्यविनायक नगरपालिका–३ बालकोटमा पनि घरदैलो कार्यक्रम आयोजना गरेको थियो । वडा नं ३ को ब्रम्हनगरबाट सुरु भएको घरदैलो कार्यक्रमले गणेश आधारभूत विद्यालय, पानी ट्याङ्कीलगायत स्थानको परिक्रमा गरेको अध्यक्ष देउजाले बताए । 
त्यसैगरी नेपाल मजदुर किसान पार्टीले मध्यपुर थिमि–८ बोडेमा घरदैलो कार्यक्रम आयोजना गरी मतदाता समक्ष मत मागेको छ । 
 

प्रकाशित मिति: शनिबार, कात्तिक १९, २०७९  ०६:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार