सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा ललितपुर क्षेत्र नं १ मा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नवराज सिलवालले विगतको आफ्नो पाँच वर्षको कार्यकाल आफ्नो लागि सिकाईको कार्यकाल रहेको र अब परीक्षा दिने चरणमा पुगेको बताएका छन् ।
२०७४ को निर्वाचनमा समेत संघीय सांसदमा निर्वाचित भएका सिलवालले शुक्रबार प्रेस चौतारी ललितपुरले आयोजना गरेको ललितपुर क्षेत्र नं १ का उम्मेदवार संग साक्षात्कार कार्यक्रममा बोल्दै आसन्न निर्वाचन आफ्नो लागि डिग्री लेभलको परीक्षा भएको र उक्त परीक्षामा पास भएर निस्कने दावी गरे ।
यो निर्वाचनपछि म प्रोफेसरको रुपमा नीति निर्माणको सवालमा संसदमा उपस्थित हुनेछु । अब अलि फरक ढंगबाट संसदमा मेरो सहभागिता रहनेछु सिलवालले भने, यद्यपि विगतमा मैले संसदमा आवाज उठाएका राष्ट्रिय अन्तराष्ट्रिय सवालहरु ललितपुर १ का दुर दराजका बस्ती र जनताका आवाज हुन्, आफ्ना क्षेत्रका जनताको सवालमा मैले आम जनतालाई अभिभावकको आभास दिलाउने गरी काम गरेको छु । उनले निर्वाचनमा आफ्नो विजय सुनिश्चित रहेको भन्दै उनले हाल एमालेविरुद्ध खडा भएको पाँच दलीय गठबन्धले जनता आक्रान्त भईसकेको र उक्त ज्यादतीबाट मङ्सिर ४ को चुनावले मुक्ति दिलाउने ठोकुवा गरे। त्यसपछि देशमा एमालेको नेतृत्वमा राष्ट्रिय सरकार बन्ने र सुखी नेपाली,समृद्ध नेपालको राष्ट्रिय आकांक्षालाई पुरा गर्ने दिशातर्फ देश अगाडी बढ्ने उनले जिकिर गरे ।
पाँचवर्षे विगतको कार्यकालमा प्रमुख राष्ट्रिय गौरवको रुपमा रहेको गोदावरीमा निर्मित अन्तराष्ट्रिय सभाहललाई आफ्नो क्षेत्रमा ल्याउन आफूले भूमिका खेलेको भन्दै सिलवालले भने, विकास निर्माण तथा मानवीय विकास र जनजीविकाको सवालमा मैले ललितपुर १ मा ऐतिहासिक कामहरु गरेको छु। सडक निर्माण, सामुदायिक सांस्कृतिक भवन र सम्पदाहरुको विकास गरेको छु ।
ललितपुर जिल्लाको कर्णालीको रुपमा रहेको दक्षिण ललितपुरको सडक,कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटनका विषयमा आफू र एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले प्रशस्त काम गरेको उनले बताए। भौतिक विकासलाई मात्र दीर्घकालीन विकासको रुपमा लिन नसकिने हुँदा अबका दिनहरुमा भौतिक विकास संगसंगै आर्थिक रुपमा सबल, सक्षम र सुसंस्कृत समाज निर्माण गर्न लाग्नुपर्ने सिलवालको भनाई छ ।
जसका लागि कृषिको आधुनिकीकरण, एकीकृत बस्ती व्यवस्थापन, स्थानीय क्षेत्रमा मझौला तथा कुटिल उद्योगग्रामहरुको स्थापना गरी महिला र पलायन भएका युवाहरुलाई आफ्नै माटोमा रोजगारी र स्वरोजगारीका अवसरहरुको सिर्जना लगायतका कामहरुमा अबका दिनमा आफ्नो ध्यान जाने सिलवालले बताए ।