सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । ललितपुर क्षेत्र नं २ का वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारीले शुक्रबार भव्य कार्यक्रमको आयोजना गरी साझा प्रतिवद्धता सार्वजनिक गरेका छन् । साझा प्रतिवद्धता नेकपा एसका महासचिव डा.बेदुराम भुसाल, नेपाली काँग्रेसका केन्द्रीय सदस्य मिन विश्वकर्मा, नेकपा माओवादीका इन्चार्ज दिनेश महर्जनसहित गठबन्धन दलका नेताहरुले सार्वजनिक गरेका हुन् । साझा प्रतिवद्धता सार्वजनिक तथा कार्यकर्ता भेलामा नेकपा एसका महासचिव डा.भुसालले मंसिर ४ को प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन राजनीतिक परिवर्तन पक्षधर र परिवर्तनविरोधी बिचको जनमत संग्रह जस्तै भएको बताए । डा. भुसालले गठबन्धनका दलहरुलाई मतदान भनेको गणतन्त्र जोगाउन भोटको अैचोपैचो भएकोले निर्धक्कसाथ गठबन्धनको निर्णयअनुसार मतदान गर्न आग्रह गरे ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य मिन विश्वकर्माले राजनीतिक सिद्धान्त र विचार फरक भएका पार्टीहरुको गठबन्धन भए पनि राष्ट्रियता, संविधान र व्यवस्था जोखिममा परेको बेला विगतदेखि नै काँग्रेस कम्युनिष्ट एक ठाउँमा उभिएको स्मरण गर्दै ओलीको राजाशैलीले गर्दा गठबन्धन गर्नुपरेको बताए । यो गठबन्धन सात सालदेखिको राजनीतिक परिवर्तन पक्षधरको निरन्तरता भएको पनि नेता विश्वकर्माले बताए । नेकपा एसका स्थायी कमिटी सदस्य माधव पौडेलले गठबन्धन सबैका लागि सबै आवश्यक भएको र देशैभर गठबन्धनको निर्णयअनुसार मतदान गरी राजनीतिक परिवर्तनलाई जोगाउनुपर्ने बताए । महेन्द्रले ‘कू’ गर्दा विपी र कम्युनिष्टहरु एक भएका थिए, पञ्चायत फाल्न गिरिजाप्रसाद कृष्णप्रसादहरु र कम्युनिष्टहरु एक भएको सन्दर्भ उल्लेख गर्दै कम्युनिष्ट पार्टीका नाममा एउटा स्वार्थ समूहको अधिनायकवादबनाट देशलाई जोगाउन काँग्रेस कम्युनिष्ट एक हुनुको विकल्प नभएको बताए ।
बाम लोकतान्त्रिक गठबन्धनका सल्लाहकार समिति संयोजक तथा नेपाली काँग्रेसका बागमती प्रदेश कार्यवाहक सभापति चन्द्र महर्जनले व्यक्ति मन पर्ने वा नपर्ने, नजिक वा टाढाको मेरो वा अरुको नभनी गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गरे । नेकपा माओवादीका इन्चार्ज दिनेश महर्जन (दिपेश) ले गठबन्धनका लागि गरिने मतदान अधिनायकवाद विरुद्ध र गणतन्त्रका पक्षमा हुने भएकाले आफ्नो उम्मेदवार नभएका ठाउँमा पनि गठबन्धनकै पक्षमा मतदान गर्नुपर्ने बताए । युद्ध लडेर ल्याएको गणतन्त्र मतदानमा सामान्य ख्याल नगर्दा गुम्न सक्ने खतरा सम्झन कार्यकर्तालाई निर्देशन दिए । कार्यकर्ता भेलामा बाम लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार कृष्णलाल महर्जनले मतदाताको शीर उँचो राख्दै व्यवस्था जोगाउँदै जनताको अवस्था परिवर्तन गर्न लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
प्रदेश सभा क का उम्मेदवार रिसा श्रेष्ठले ललितपुर २ मा अनुभवी इमान्दार र क्षमतावान सिनियर नेताहरुसहित आफू ऊर्जाशील युवाको प्रतिनिधित्वलाई जिताउन सिंगो पार्टी पंक्तिले गरेको मेहेनतको प्रशंसा गर्दै सबै क्रियाशील र संगठित सदस्यहरुले आफैं उम्मेदवार भएको अनुभूत गर्न आग्रह गरिन् । प्रदेश ख का उम्मेदवार रामकृष्ण चित्रकारले नेपाली काँग्रेसले परिवर्तनको नेतृत्व गरेको सम्झेर जोगाउने कर्तव्य पनि महसुस गर्दै संविधानको रक्षा र जनताको शासन व्यवस्था जोगाउन योगदान गर्ने पार्टीहरुसहितको गठबन्धनलाई जिताउनु ललितपुरवासीको कर्तव्य भएको बताए । गठबन्धन निर्वाचन क्षेत्रीय परिचालन कमिटिका संयोजक हरिकृष्ण थापाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला गठबन्धन संयोजक सुदर्शन घिमिरे, गठबन्धनका समानुपातिक उम्मेदवारहरु र गठबन्धन दलका केन्द्रीय तथा प्रदेशका नेताहरु सहभागी थिए ।