ललितपुरमा नमूना मतदान  

शुक्रबार, कात्तिक १८, २०७९
Global Ime Bank

ललितपुर ।  जिल्ला निर्वाचन कार्यालय ललितपुरले पुल्चोकमा गरेको नमूना मतदान कार्यक्रम सम्पन्न भएको छ । ललितपुर महानगरपालिका वडा नं। ३ मदनस्मारक माविमा भएको नमूना मतदानमा ४८ पुरुष र ७४ महिला गरी १२२ जना सहभागीले मतदान गरेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख  गोमा धमला घिमिरेले जानकारी दिइन्  । 
 प्रमुख धमलाले मतदान गर्ने तरिकाबारे जानकारी दिन नमूना मतदान कार्यक्रम सञ्चालन गरिएको बताइन्  । ललितपुरका ६ वटै स्थानीय तहमा नमूना मतदान कार्यक्रम गर्ने प्रमुख धमलाले जानकारी गराइन्  । आगामी मङ्सिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन कार्यालयले सबै स्थानीय तहमा नमूना मतदान कार्यक्रम सञ्चालन गर्न लागेको हो ।   ललितपुर महानगरपालिकाबाट सुरु भएको यो कार्यक्रम कात्तिक २० गते गोदावरी नगरपालिकाको वडा नं। ११ मा हुने छ । जिल्लाका अन्य चार स्थानीय तहमा भने कात्तिक २७ गते पछाडि मात्रै  सञ्चालन हुने धमलाले बताइन्  । नमूना मतदानमार्फत मतदानका विषयमा आवश्यक जानकारी दिन लागिएको प्रमुख धमलाको भनाइ छ ।  

नमूना मतदानले बदर मतको सङ्ख्या घटाउनका लागि सहयोग पुग्ने विश्वास गरिएको छ । आसन्न निर्वाचनमा एक मतदाताले प्रत्यक्ष र समानुपातिक गरेर चार मतपत्रमा मतदान गर्नुपर्नेछ ।  निर्वाचनमा बदर मतको सङ्ख्या घटाउन मतदाता शिक्षा सञ्चालनको पनि तयारी भएको छ । समुदाय स्तरमै मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने जनाइएको छ । जिल्लामा एक लाख ५० हजार एक सय ५६ मतदाता रहेका छन् ।  रासस 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १८, २०७९  १८:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार