सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९०) पत्ता लगाउन पीसीआर परीक्षण गरिन्छ । परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको खण्डमा प्रयोगशालाले सीटी भ्यालुसहितको रिपोर्ट दिन थालेको धेरै भइसकेको छ । तर, के सीटी भ्यालुले संक्रमितको अवस्था वा अरूलाई संक्रमित बनाउन सक्ने सम्भावनालाई उजागर गर्न सक्छ त ? इपिडिमियोलोजिस्ट तथा जनस्वास्थ्य विज्ञहरूको यसमा फरक मत छ । कतिपय विज्ञ सीटी भ्यालुको अंकले बिरामीको स्वास्थ्य अवस्थाबारे निर्णय लिन सकिने बताउँछन् भने कोही यसको प्रमाणीकरण नभएको र केही फरक नपर्ने बताउँछन् । सीटीको अर्थ ‘साइकल थ्रेसहोल्ड’ हो । सामान्य भाषामा बझ्दा पीसीआर मेसिनले कति साइकलमा कोरोना भाइरसको आनुवंशिक तत्व फेला पार्न सक्यो भन्ने हो । सीटी भ्यालुले संक्रमितको नमुनामा भाइरसको मात्रा कति छ भन्ने देखाए पनि त्यसले संक्रमितको अवस्था भने निक्र्याेल गर्न सक्दैन । वैज्ञानिक अध्ययनहरूले पनि त्यो देखाएको विज्ञहरू बताउँछन् । आखिर सीटी भ्यालुलाई लिएर नेपाली विज्ञहरूको धारणा के छ त ?
‘सीटी भ्यालुको वास्ता गर्नुपर्दैन’ संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीका अनुसार भने व्यवहारमा सीटी भ्यालुको कुनै पनि अर्थ र महत्व छैन । डा. सुवेदी भन्छन् ‘सीटी भ्यालु हेरेर निर्णय गर्नु गलत हुन्छ । रिपोर्ट पोजिटिभ हो भने त्यहीअनुसार व्यवहार गर्नुप¥यो नेगेटिभ हो भने त्यही अनुसारको । सीटी भ्यालु हेरेर पोजिटिभलाई नै फरक तरिकाले व्यवहार गर्नेचाहिँ अवैज्ञानिक हुन्छ ।’ उनका अनुसार सैद्धान्तिक हिसाबले हेर्दा सीटी भ्यालु कम हुँदा भाइरल लोड अलि बढी हुने अनि उसबाट अरूलाई संक्रमण हुने सम्भावना रहने कुराहरू छन् । ‘व्यवहारमा हेर्दा सीटी भ्यालु हेरेर जस्तै २५–२७ भयो भने अरूलाई सर्दैन भनेर कसैले प्रमाणित गरेको छैन । निको भइसकेका मान्छेको पनि सीटी भ्यालु १५–१६ आइराखेको हुन्छ, अझ कम आइराखेको हुन्छ । तर तिनीहरूबाट कसैलाई सर्दैन भनेर थाहा भएको छैन’, उनले भने, ‘सैद्धान्तिक गफ एकापट्टि छ तर व्यवहारमा यो लागू भने हुँदैन ।’ उनको भनाइमा सीटी भ्यालु धेरै भए पनि अरूलाई सर्न सक्ने र सिकिस्त बनाउने खतरा उत्तिकै रहन्छ । सीटी भ्यालु थोरै भए पनि अरूलाई नसर्न सक्छ, यदि सर्ने अवधि कटिसकेको छ भने । त्यसैले यी विभिन्न कारणाले गर्दा सीटी भ्यालु हुेरेर निर्णय लिन नहुने डा. सुवेदी बताउँछन् । उनी कोरोनाको पीसीआर परीक्षण गर्ने ल्याबको गुणस्तरमा पनि समस्या रहेको दाबी गर्छन् । उनका अनुसार धेरै अस्पताल तथा प्रयोगशालामा पीसीआर परीक्षण अझै पनि भरपर्दाे भइसकेको छैन । कोभिडका सबै लक्षण देखिएकाहरू वा जसको घरमा अरू सदस्य पनि पोजिटिभ देखिएका छन् उनीहरूको परीक्षण गर्दा पनि नेगेटिभ आइरहेको छ । ‘पोजिटिभ हुनुपर्ने मान्छेलाई पनि नेगेटिभ देखाइरहेको अवस्थामा सीटी भ्यालु हेरेर उसबाट सर्दैन भन्न मिल्दैन’ उनले भने । उनका अनुसार अमेरिकन सोसाइटी अफ माइक्रोबायोलोजीको जर्नलमा प्रकाशित अध्ययनले पनि एउटै स्वाब ७–८ थरी मेसिन र रिएजेन्ट प्रयोग गरेर पीसीआर गर्दा सीटी भ्यालु १७ देखि २९–३० को रेन्जमा परिवर्तन भएको देखाएको छ । ‘फरक मेसिन र फरक रिएजेन्ट हुनेबित्तिकै सीटी भ्यालु फरक हुन सक्छ भनेर देखिएको छ’ उनले भने । संक्रामक रोग विशेषज्ञ डा. सुवेदीका अनुसार सीटी भ्यालुको अंकले संक्रमण फैलिन नदिने भनेर ठ्याक्कै भन्न सकिन्न । ‘सीटी भ्यालुले संक्रमणमा प्रभाव पार्छ भन्दै अवैज्ञानिक गफ पत्याएर निको भइसकेको अनि आइसोलेसन बस्नु नपर्ने मान्छेले पनि सीटी भ्यालु कम छ भनेर अनावश्यक तनाव लिइरहेको देखिएको छ’ उनले भने, ‘सीटी भ्यालु बढी हुन्छ, मबाट सर्दैन भनेर ढुक्क बस्दा धेरैलाई सर्न सक्ने जोखिम पनि छ । सीटी भ्यालु भनेको वाहियात कुरा हो, वास्ता गर्नुपर्दैन ।’ कुनै पनि बिरामीले सीटी भ्यालु हेर्न नपर्ने, खाली पीसीआर पोजिटिभ वा नेगेटिभ के हो, त्यहीअनुसारको निर्णय लिनुपर्ने उनको सुझाव छ । ‘सीटी भ्यालु हेरेर सतर्क रहन सकिन्छ’ शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुन भन्छन्, ‘सीटी को अर्थ ‘साइकल थ्रेसहोल्ड’ हो । यसको अंक कम भयो भने संक्रमितको शरीरमा भाइरल लोड बढी हुन सक्ने र भाइरल लोड बढी भयो भने अरूलाई सर्न सक्ने सम्भावना बढेर जाने भन्ने अनुमान गर्न सकिन्छ ।’ सीटी भ्यालुको अंक जति कम हुन्छ त्यति नै भाइरसको संख्या बढी हुने सम्भावना रहन्छ । यस्तोमा लक्षण कडा हुन सक्ने खालको अनुमान पनि गर्न सकिने उनको भनाइ छ । यस सम्बन्धमा जति पनि अनुसन्धान भए ती सबैले उस्तै प्रकारको नतिजा नदिए पनि अधिकांशले सीटी भ्यालुलाई भाइरसको लक्षण, भाइरसको संख्या र सार्न सक्ने सम्भावनासँग जोडेर हेरेको डा. पुन बताउँछन् । सीटी भ्यालुले स्वास्थ्यकर्मीहरूलाई निर्णय लिन सजिलो हुनुका साथै सतर्कता अपनाउन सकिने उनको भनाइ छ । ‘त्यसै गरी एकदम कम सीटी भ्यालु आए पनि डराउनु भने पर्दैन । समान्यतया विज्ञानलाई आधार मान्ने हो भने १० दिनपछि भाइरस सक्रिय हुँदैन भन्ने छ । १४ दिनमा परीक्षण गर्दा पनि देखिइरह्यो भने निष्क्रिय भाइरस छ भन्ने मान्यता हो । भाइरस लोड बढेको भए पनि आत्तिइहाल्न पर्दैन’ उनले भने । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी सहप्रमुख मेडिकल टेक्नोलोजिस्ट एवं माइक्रोबायोलोजिस्ट ज्योति आचार्यका अनुसार सीटी भ्यालु कम भए संक्रमण उच्च छ र अंक बढी भए भाइरस कम मात्रामा छ भनेर बुझिन्छ । प्रयोगशालाको मेसिन र प्रविधि हेरेर पनि सीटी भ्यालु फरक हुन सक्छ । कम सीटी भ्यालु देखिएको छ भने संक्रमणको सुरुवाती चरण पनि हुन सक्छ अथवा निको हुने क्रममा पनि हुन सक्छ । ‘कतिपयमा निको हुँदा पनि कीटाणुहरूको कण अलि अलि बाँकी हुन्छ । एक महिनासम्म पनि देखिन सक्ने हुन्छ’, आचार्यले भनिन्, ‘बिरामीहरूले यति बुझ्नुप¥यो कि सीटी कम आयो भने संक्रमण अरूलाई सर्न सक्छ, त्यसैले आइसोलेसनमा बस्नुप¥यो ।’