सिरहामा आइसीयू र भेन्टिलेटरसहितको आइसोलेशन तयार

बुधबार, वैशाख १५, २०७८

लहान । बढ्दो कोरोना सङ्क्रमणलाई दृष्टिगत गरी सिरहामा २६ शय्याको आइसोलेशन तयार पारिएको छ । जिल्ला अस्पताल सिरहाको मातहतमा रहने गरी सदरमुकाम सिरहामा तत्कालका लागि २६ शय्याको आइसोलेशन तयार पारिएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले जानकारी दिए । बढ्दो कोरोना सङ्क्रमणको ग्राफलाई मध्यनजर गरी बजेट अभावका बाबजुद सिरहामा अक्सिजन प्लान्टसहित पाँच आइसीयू शय्या र दुई भेन्टिलेटरसमेत गरी २६ आइसोलेशन शय्या तयारी अवस्थामा राखिएको प्रजिअ कँणेलले बताए ।  यस्तै भारतीय सीमावर्ती क्षेत्र सिरहाको माडरमा होल्डिङ सेन्टर स्थापनाका लागि स्थानीय तहबाट रु एक÷एक लाख आर्थिक सहयोगको आश्वासन आएकाले होल्डिङ सेन्टर स्थापनाको तयारी गरिएको उनको भनाइ छ । कोरोना सङ्क्रमण तीव्रगतिमा फैलिन थाले पनि प्रदेश सरकारले बजेट उपलब्ध नगराउँदा थप आइसोलेशन शय्या थप्नेलगायत अपेक्षाकृतरूपमा पूर्वतयारीको काम गर्न नसकिरहेको प्रजिअ कँणेलले बताए । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसिएमसी)को बैठकले विभिन्न शीर्षकमा प्रदेश सरकारसँग ४७ लाख रुपैयाँ माग गर्ने निर्णय गरी पठाए पनि हालसम्म बजेट प्राप्त नहुँदा समस्या भएको प्रजिअ कँणेलले जानकारी दिए ।  डिसीसिएमसीले जोखिम न्यूनीकरणका लागि २० लाख, सिआइसिटी मोबिलाइजेशन शीर्षकमा १० लाख, अत्यावश्यक औषधि खरिद गर्न २० लाख र एम्बुलेन्स तथा शववाहन परिचालन गर्न सात लाख रुपैयाँ प्रदेश सरकारसँग माग गरेको छ ।  स्थानीय तहलाई आवश्यक पर्ने औषधि, जनशक्ति, सामग्री र स्वास्थ्य उपकरणको पर्याप्त बन्दोबस्त मिलाउनसमेत निर्देशन दिएको उनले बताए ।  सिरहामा हाल १२ नयाँ कोरोना सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ । तीमध्ये छ जनाको जिल्ला अस्पताल सिरहास्थित आइसोलेसनमा उपचार भइरहेको छ ।
 

प्रकाशित मिति: बुधबार, वैशाख १५, २०७८  ०९:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार