सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । खोप अभियानप्रति जन समुदायको अस्वीकार र सरकारी स्वास्थ्य संस्थाप्रतिको अविश्वासका कारण पाकिस्तानमा पोलियो उन्मूलन अभियान चुनौतीपूर्ण बन्दै गएको छ । सन् २०२६ मा मात्रै पाकिस्तानमा पोलियोका नौवटा घटना पुष्टि भएका छन् । नोभेम्बर ६ मा खैबर जिल्लाका सात महिनाका बालकमा पोलियो संक्रमण पुष्टि भएसँगै यस वर्ष संक्रमितको संख्या नौ पुगेको हो । यस वर्ष पुष्टि भएका घटनामध्ये सातवटा खैबर पख्तुनख्वा प्रान्तमा देखिएका छन् । पाकिस्तानको सञ्चारमाध्यम डनका अनुसार झन्डै तीन दशकदेखि पोलियो उन्मूलनका लागि प्रयास भइरहेको छ । यसका लागि अन्तर्राष्ट्रिय समुदायबाट अर्बौं अमेरिकी डलर सहयोग प्राप्त भएको छ भने चार लाखभन्दा बढी खोपकर्मी परिचालन गरिएका छन् । यति लामो प्रयासका बाबजुद पाकिस्तानले पोलियो उन्मूलन गर्न सकेको छैन । पोलियो उन्मूलनमा देखिएको समस्या खोपको उपलब्धता र भौगोलिक कठिनाइमा मात्रै सीमित नरहेको डनको समाचारमा उल्लेख छ । सरकारी निकाय तथा स्वास्थ्य सेवाप्रति सर्वसाधारणको विश्वास कमजोर हुनु पनि अभियानको प्रमुख चुनौती बनेको छ । सुरक्षा चुनौती, जनसंख्याको आवतजावत, दुर्गम भौगोलिक अवस्था, गलत सूचना र खोपप्रतिको अनिच्छाले खोप अभियान प्रभावित भइरहेको छ । तर, खोप टोली नियमित रूपमा पुग्ने समुदायबाट समेत बारम्बार खोप अस्वीकार हुनुले सरकारी संस्थाप्रतिको अविश्वास गहिरो रहेको देखाएको समाचारमा उल्लेख छ । विशेषगरी आधारभूत स्वास्थ्य सेवा, मातृ स्वास्थ्य सेवा, नियमित बाल खोप र स्वच्छ खानेपानीको पहुँचबाट वञ्चित समुदायमा सरकारी स्वास्थ्य सेवाप्रति असन्तुष्टि देखिएको छ । कतिपय परिवारका लागि पोलियो खोपकर्मी नै घरसम्म पुग्ने सीमित सरकारी प्रतिनिधिमध्ये पर्ने गरेका छन् । तर, उनीहरूले अन्य स्वास्थ्य समस्या बेवास्ता गरेर पोलियो खोप अभियानलाई मात्रै प्राथमिकता दिएको बुझाइ समुदायमा रहेको डनले जनाएको छ । डनले सन् २०२३ डिसेम्बरमा प्रकाशित ब्रिटिस मेडिकल जर्नलको प्रतिवेदनलाई उद्धृत गर्दै दक्षिण खैबर पख्तुनख्वाका आदिवासी समुदायका जिरगाले त्यस वर्ष मात्रै ६७७ पटक खोप अभियान बहिष्कार गर्ने निर्णय गरेको उल्लेख गरेको छ । ती समुदायले विद्युत्, सडक, रोजगारी र नागरिक सुविधाको माग पूरा गराउन खोप अभियान बहिष्कारलाई दबाबको माध्यम बनाउने गरेका छन् । पाकिस्तानको पोलियो कार्यक्रमले समेत केही समुदायले स्थानीय समस्या समाधानका लागि खोप अभियान बहिष्कार गर्ने गरेको स्वीकार गरेको समाचारमा उल्लेख छ । खोप अभियान सञ्चालन गर्ने टोलीभित्र पनि विभिन्न कमजोरी रहेको डनको समाचारमा उल्लेख छ । महिला खोपकर्मीको पर्याप्त उपलब्धता नहुनु, कर्मचारी बारम्बार परिवर्तन हुनु र आवश्यक तालिमको कमीले अभियान प्रभावकारी हुन सकेको छैन । खोप अभियानप्रति समुदायको प्रतिरोध कम गर्न स्थानीय स्तरमा विश्वास प्राप्त व्यक्तिहरूलाई सहभागी गराउनुपर्ने र सर्वसाधारणसँग प्रभावकारी संवाद गर्नुपर्ने सुझाव दिइएको छ । त्यस्तै, पोलियो उन्मूलनका लागि सञ्चालन हुँदै आएका आकस्मिक खोप अभियानलाई प्रान्तीय स्वास्थ्य प्रणालीसँग एकीकृत गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । खोप पूर्वाधार, तालिमप्राप्त जनशक्ति र रोग निगरानी प्रणालीलाई स्थायी सार्वजनिक स्वास्थ्य सेवाको हिस्सा बनाउन सके पोलियो उन्मूलन प्रयास प्रभावकारी हुने डनको विश्लेषण छ ।
पाकिस्तानमा पोलियो उन्मूलनको चुनौती खोप पु¥याउने विषयमा मात्रै सीमित नभई स्वास्थ्य सेवाप्रतिको विश्वास, आधारभूत सेवा विस्तार र स्थानीय समुदायका आवश्यकता सम्बोधनसँग समेत जोडिएको देखिएको छ । एएनआई