सोसल मिडिया
Contact Us
युनिकोड
हेटौँडा । बागमती प्रदेश पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा भएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयद्वारा शनिबार हेटौँडामा आयोजित कार्यक्रमबीच प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिरबहादुर तामाङले घोषणा गरेका हुन् । संघ सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राष्ट्रिय पूर्ण खोप समन्वय समितिबाट प्राप्त प्रमाणपत्रका आधारमा १६ देखि २३ महिनासम्मका सबै बालबालिकाले १५ महिनाको उमेरभित्र पूर्ण खोप पाएको सुनिश्चितता भएको हो । प्रदेशका १३ जिल्ला र ११९ पालिका पूर्ण खोपयुक्त भएपछि प्रदेशस्तरमा घोषणा गरिएको हो । राष्ट्रिय खोप तालिकाअनुसार उपलब्ध गराइने सबै प्रकारका खोप प्रत्येक बालबालिकाले पूर्ण रूपमा प्राप्त गरेको सुनिश्चित गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताइएको छ। खोप कार्यक्रमको प्रभावकारी सञ्चालन, व्यवस्थापन र गुणस्तर कायम गर्न स्थानीय तहको संस्थागत तथा प्राविधिक क्षमता विकास गर्ने लक्ष्य राखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। बागमती प्रदेशका १३ वटै जिल्लामा नियमित खोप लगाउन छुट भएका तथा बीचमै खोप छाडेका (ड्रप आउट) कुल ४४६ जना बालबालिकालाई खोजेर खोपको दायरामा ल्याइएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। आर्थिक वर्ष २०८१–८२ को तथ्यांक अनुसार घरधुरी सर्वेक्षणका क्रममा ती बालबालिका फेला परेका हुन् । आर्थिक वर्ष २०८२–८३ को असार ३२ गतेसम्मको तथ्याङ्कअनुसार प्रदेशका ११९ वटै स्थानीय तह र १ हजार १२१ वटै वडामा घरधुरी सर्वेक्षण तथा प्रमाणीकरण कार्य सम्पन्न भएसँगै सबै जिल्ला पूर्ण खोप सुनिश्चित घोषित भएका हुन् । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार सर्वेक्षणमा खोपको एक मात्रा पनि नलगाएका (शून्य डोज) ६ जना र पहिलो मात्रा लगाएर बाँकी खोप छुटाएका (ड्रप आउट) ४४० जना बालबालिका भेटिएका थिए । शून्य डोजमा रहेका बालबालिका काठमाडौँमा ३, चितवनमा २ र भक्तपुरमा १ जना फेला परेका छन् भने बाँकी १० जिल्लामा शून्य डोजका बालबालिका भेटिएनन् । त्यसैगरी, खोप बीचमै छाड्ने (ड्रप आउट) बालबालिकाको संख्या सबैभन्दा बढी काठमाडौँमा १३८ र चितवनमा १३५ जना रहेको छ। ललितपुरमा ५१, मकवानपुरमा ३४, सिन्धुलीमा २८, भक्तपुर, धादिङ र काभ्रेपलाञ्चोकमा समान १४–१४ जना ड्रप आउट बालबालिका भेटिएका छन्। रामेछापमा ६, नुवाकोटमा ४ र सिन्धुपाल्चोकमा २ जना ड्रप आउट हुँदा दोलखा र रसुवामा भने खोप छुटाउने बालबालिकाको संख्या शून्य रहेको छ । सर्वेक्षणका क्रममा खोप पुरा गरेका बालबालिकाको उमेर समूहगत विवरण हेर्दा ० देखि १५ महिनाका ६६ हजार २४९, १६ देखि २३ महिनाका ५३ हजार ५०७ र १६ देखि ५९ महिनाका १३ हजार ८०४ जना बालबालिका समेटिएका छन् । छुट भएका सबै बालबालिकालाई खोजी गरी खोप लगाएपछि प्रदेशका सबै १३ वटै जिल्ला ‘पूर्ण खोप सुनिश्चित जिल्ला’ घोषित भइसकेका छन्। तथ्यांक अनुसार सबैभन्दा पहिले २०८३ जेठ १९ गते दोलखा र सबैभन्दा पछि २०८३ असार ३२ गते काठमाडौँ पूर्ण खोप जिल्ला घोषित भएका हुन् । पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा समारोहमा सम्बोधन गर्दै स्वास्थ्य मन्त्री गिर बहादुर तामाङले भौगोलिक विकटताका कारण सबै बालबालिकालाई खोपको दायरामा ल्याउन कठिन हुने चुनौती रहेको बताए । सिन्धुपाल्चोक, रामेछाप, रसुवा, नुवाकोट र मकवानपुरको विगट भूगोलको उदाहरण दिदैँ मन्त्री तामाङले चुनौतीका बाबजुत पनि निरन्तर मेहेनत गरेर खोप लगाउन जुट्ने स्वास्थ्यकर्मीहरुलाई धन्यवाद दिए ।