जुम्लाका आठ बस्ती स्थानान्तरण गर्न प्रस्ताव

बुधबार, असोज २६, २०७९

जुम्ला ।   विपद्को उच्च जोखिममा रहेको भन्दै जुम्लाका आठ बस्ती स्थानान्तरण गर्नुपर्ने प्रस्ताव राखिएको छ । आज बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा सिञ्जा र हिमा गाउँपालिकाका  अध्यक्षद्वय पूर्णप्रसाद धिताल र लक्ष्मण शाहीले बस्ती स्थानान्तरणको प्रस्ताव गरेका  हुन  ।सिञ्जा गाउँपालिकाका अध्यक्ष धितालले जोडु, तल्लो भाडगाउँ, चुलेलगाउँ, घोडेङ्गा बस्ती बेलैमा नसारे ठूलो क्षति व्यहोर्नुपर्ने बताए  । त्यस्तै, हिमा गाउँपालिकाका अध्यक्ष शाहीले मोफ्ला र पातरखोला बस्तीलाई जतिसक्दो छिटो सार्नुपर्ने अवस्था आएकोले जिल्ला विपद् व्यवस्थापन समितिले यसको पहलकदमी लिन अनुरोध गरे । 
त्यस्तै, तिला गाउँपालिकाको घोडेसिन गाउँ पनि पहिरोको उच्च जोखिममा रहेको छ । उक्त बस्तीलाई समयमै स्थानान्तरण नगरे धनजनको क्षति हुने गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले जानकारी दिए  । कनकासुन्दरी गाउँपालिकाका बारकोटे गाउँलगायतका केही बस्ती उच्च जोखिममा रहेको सरोकारवालाले जनाएका छन् ।   जिल्ला प्रशासन कार्यालय जुम्लाले विपद्बाट प्रभावित यहाँका करिब तीन सय घरपरिवारलाई राहत दिने तयारी गरेको छ । सो क्षेत्रमा ८५ घर पूर्ण क्षतिग्रस्त र दुई सय घरमा आंशिक क्षति पुगेको जनाइएको छ । क्षतिको एकीन विवरण भने पालिकामार्फत लिइने जनाइएको छ ।      

प्रकाशित मिति: बुधबार, असोज २६, २०७९  १३:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार