Dashain Banner
Dashain Banner
श्रवण मुकारुङको दशैं

'साझा संस्कृतिदेखि बाल्यकालको दक्षिणासम्म'

'चाडपर्वका बेला बूढापाका र आफन्तले नाच्न लगाउँथे, नाचेर पैसा कमाउँथे'
मंगलबार, कात्तिक ३, २०८३

काठमाडौं । साहित्यकार तथा गीतकार श्रवण मुकारुङ दशैँलाई परिवारसँगै समुदाय र नेपाली समाजलाई भावनात्मक तथा सांस्कृतिक रूपमा जोड्ने पर्वका रूपमा व्याख्या गर्छन् । पितापुर्खादेखि मनाउँदै आएको दशैँ नेपाली समाजको साझा पर्वका रूपमा स्थापित भएको उनको बुझाइ छ । ‘दशैंले हामीलाई जोड्ने काम गर्छ । आफ्नो परिवारमा त जोड्छ नै, त्यसका अलवा समुदाय, जातजाति साथै आम नेपालीलाई एउटा सूत्रमा बाँध्न महत्त्वपूर्ण भूमिका खेल्छ,’ नेपाल न्यूज बैंकसँगको कुराकानीमा मुकारुङले भने । यद्यपि, यस वर्ष परिवारमा परेको अशुभ घटनाका कारण मुकारुङले टीका लगाउने छैनन् । सामान्य रूपमा दशैँ मनाउने योजनामा छन् । टीका नलगाए पनि आफन्तसँग भेटघाट गर्ने र खुसी साटासाट गर्नेक्रम भने जारी रहने उनी बताउँछन् । मुकारुङको बाल्यकालको दशैँ रङ्गीन उत्सवजस्तै थियो । बाल्यकालमा धार्मिक, सामाजिक र सांस्कृतिक महत्त्वभन्दा पनि मीठो खान पाइने, नयाँ लुगा लगाउन पाइने, मामाघर जान पाइने र ठूलाबडाबाट आशीर्वाद लिन पाइने कुराले आकर्षित गर्ने गरेको उनी सम्झन्छन् । पिङ र खटखटे खेल्ने चलन पनि थियो । खटखटेमा झन्डी, मुकुट, पाना, चिंडी र बोटेजस्ता चिह्न प्रयोग गरेर पैसा राखी खेलिने गरेको उनी बताउँछन् । उनको बाल्यकालमा दशैँको सबैभन्दा रमाइलो पक्ष मामाघर जानु थियो । तर मूलघरमा मनाइने दशैँ भने अझ भव्य हुन्थ्यो । मुकारुङका हजुरबुवा गाउँका प्रमुख अर्थात् राई पदवी पाएका व्यक्ति थिए । त्यसैले आसपासका पाँच–छवटा गाउँबाट मानिसहरू कोसेली लिएर उनको घरमा दशैँ मान्न आउने गर्थे । कसैले दही, कसैले केरा, कसैले रोटी त कसैले अन्य परिकार ल्याउँथे । गाउँका मानिस भेला हुने र हजुरबुवाले टीका लगाइदिने परम्परा थियो । ‘हजुरबुवाले निधारभरि टीका लगाइदिनुहुन्थ्यो । सबैसँग भेटघाट हुने, खान पाइने, आशीर्वाद लिन पाइने त्यो एउटा रमाइलो हुन्थ्यो,’ उनी सम्झन्छन् । बाल्यकालमा आफू राम्रो नाच्ने भएकाले चाडपर्वका अवसरमा बूढापाका र आफन्तले नाच्न लगाउने गरेको उनको अर्को रोचक सम्झना छ । नाचेको देखेर मानिसहरूले पैसा दिन्थे । त्यतिबेला एक रुपैयाँ ठूलो रकम मानिन्थ्यो । नाचेर कमाएको पैसा लिएर घर फर्कंदा बाटोमा हराएको र घर पुगेपछि पैसा नभएको थाहा पाउँदा निकै दुःखी भएको घटना उनी अहिले पनि सम्झन्छन् । त्यो पैसा टीका लगाएर पाएको दक्षिणाभन्दा पनि बढी खुसीसाथ जम्मा गरेको रकम थियो । मुकारुङले पहिले आफूले रातो टीका लगाएर दशैँ मनाएको भए पनि पछिल्लो समय समुदायका कतिपयले सेतो दही र अक्षताको टीका लगाउने अभ्यास सुरु गरेका छन् । दशैँ जनजाति समुदायमाथि लादिएको पर्व हो भन्ने बहस पनि चलिरहेको छ । तर कुनै समुदाय वा व्यक्तिले पर्व कसरी मनाउने भन्ने विषय व्यक्तिगत स्वतन्त्रता र सामुदायिक छनोटसँग जोडिएको उनको धारणा छ । बलिप्रथाबारे पनि मुकारुङ सन्तुलित दृष्टिकोण राख्छन् । अत्यधिक पशुबलिले हिंसाको अनुभूति गराउन सक्ने भए पनि मानिसलगायत जीवित प्राणीको अस्तित्व प्रकृतिको खाद्यचक्रसँग जोडिएको उनको तर्क छ । त्यसैले बलिको सङ्ख्या घटाउनु राम्रो भए पनि चाडपर्वमा आफ्नो क्षमताअनुसार मासु खाने परम्परालाई पूर्णतः अस्वीकार गर्नुपर्ने पक्षमा उनी छैनन् । साहित्यमा चाडपर्वको स्थानबारे मुकारुङ भन्छन्, ‘संस्कृति मानिसको जीवनशैली र सभ्यताको विकासक्रमसँग जोडिएको हुन्छ । मानिसका कथा लेख्ने साहित्यले मानिसले निर्माण गरेका सांस्कृतिक अभ्यास र उत्सवलाई पनि समेट्छ । ’ चाडपर्वको समयमा पुस्तक प्रकाशन र बिक्री बढ्ने सम्भावना पनि रहेको उनी बताउँछन् । दशैँअघि गाउँ फर्कनेहरूले यात्रामा पढ्न, आफन्तलाई उपहार दिन वा गाउँमा छाडेर अरूलाई पढाउन पुस्तक किन्ने भएकाले प्रकाशकहरूले चाडपर्वको समयलाई ध्यानमा राखेर पुस्तक बजारमा ल्याउने गरेको उनको अनुभव छ । आफ्नो संस्कृति नबिर्सन, चाडपर्वसँग जोडिएका मिथक र प्रतीकको गहिरो अध्ययन गर्न तथा दशैँसँग सम्बन्धित साहित्य पढ्ने अभ्यास बढाउन पनि उनी आग्रह गर्छन् ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ३, २०८३  ११:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार