Dashain Banner
Dashain Banner
घिमिरे युवराजको दशैं

उत्सवको खुसीसँगै आर्थिक बोझ थपिन्छ

'दशैँको दक्षिणाबाट नयाँ लुगा वा पेन र डायरी किन्ने गर्थें'
मंगलबार, कात्तिक ३, २०८३

काठमाडौं । नाट्यकर्मी तथा शिल्पी थिएटरका संस्थापक घिमिरे युवराजका लागि दशैँ बाल्यकालको रमाइलो सम्झनाबाट अहिलेको सामाजिक तथा आर्थिक यथार्थसँग जोडिएको पर्व बनेको छ । बाल्यकालमा दशैँ भन्नासाथ बिदा, परिवार, रङ्ग, पिङ र साथीभाइ सम्झने गरेको उनी बताउँछन्। अहिले भने सहरीकरण र जीवनशैलीमा आएको परिवर्तनले दशैँको रमाइलोपनको परिभाषा नै साँघुरो बनाएको उनको अनुभव छ । यस वर्ष लामो समयदेखि व्यस्त रहेका युवराज दशैँलाई परिवारसँग समय बिताउने र लेखनको काम पूरा गर्ने अवसरका रूपमा लिँदै छन्। नाटक मञ्चनका लागि काठमाडौं बाहिरसमेत यात्रा गर्नुपरेकाले दशैँको बिदामा केही समय आराम गर्ने, बुवा–आमा र श्रीमतीसँग बस्ने तथा लेखनलाई पूर्णता दिने उनको योजना छ । उनको बाल्यकाल संयुक्त परिवारमा बितेको थियो । ११–१२ वर्षको उमेरसम्म १७–१८ जनाको परिवारमा सबैभन्दा कान्छो सदस्य भएकाले सबैको माया पाउने गरेको उनी सम्झन्छन्। गाउँमा विभिन्न खुला ठाउँमा तीन–चारवटा पिङ हुन्थे । दशैँदेखि तिहारसम्म पिङ खेल्ने र देउसीभैलोमा सहभागी हुने उत्सवपूर्ण वातावरण हुन्थ्यो । असोज–कात्तिकको पारिलो घाम, फूलहरूको बास्ना, चराचुरुङ्गीको चिरबिर र गाउँको बदलिएको वातावरणले बाल्यकालीन दशैँलाई अझ विशेष बनाउने गरेको उनको भनाइ छ । तर अहिले दशैँ अत्यधिक खर्चिलो र देखावटी बन्दै गएको उनी बताउँछन्। पहिले सामान्य लुगा र घरमै पकाएको खानेकुराले ठूलो खुसी दिन्थ्यो । अहिले भने मानिसको तृष्णा नमेटिने र एकपछि अर्को सामग्री किन्ने प्रवृत्ति बढेको उनको बुझाइ छ । बाल्यकालमा दशैँको दक्षिणाबाट नयाँ लुगा वा आफूलाई मन परेको पेन र डायरी किन्ने गरेको स्मरण गर्दै युवराजले नयाँ नोट गन्ने, कसले कति दक्षिणा दियो भनेर हिसाब राख्ने र मामामध्ये कसले धेरै पैसा दिन्छ भन्ने अनुमान लगाउने बालसुलभ रमाइलो पनि सुनाए। तर अहिले फर्केर हेर्दा दक्षिणालाई नै खुसीको मुख्य आधार बनाउनु उपयुक्त नभएको उनी बताउँछन् । घिमिरेका अनुसार यस वर्षको दशैँ विशेषगरी आर्थिक दृष्टिले सादा हुनुपर्ने आवश्यकता छ । जेनजी आन्दोलनपछिको आर्थिक क्षति र त्यसपछि आएका बाढीपहिरोजस्ता घटनाले समाजलाई असर पारेको उल्लेख गर्दै उनी चाडपर्वमा अत्यधिक खर्च गर्ने प्रवृत्तिले आर्थिक सङ्कट थप बढाउन सक्ने बताउँछन् । दशैँका लागि नयाँ लुगा, घर रङ्गाउने, प्रशस्त खानेकुरा किन्ने र देखासिकी गर्ने चलनले परिवारमाथि आर्थिक बोझ थप्ने उनको भनाइ छ। त्यसैले चाडपर्वलाई आर्थिक प्रतिस्पर्धा नभई परिवारसँग खुसी साटासाट गर्ने अवसरका रूपमा लिनुपर्ने उनी बताउँछन् । पशुबलिबारे घिमिरे युवराजको धारणा पनि स्पष्ट छ । आफूले २१ वर्षदेखि मासु खान छाडेको बताउँदै उनी पशुहत्या र त्यसको विभत्स दृश्यले उत्सवको अर्थलाई नै प्रश्न गर्ने धारणा राख्छन् । कसैले मासु खानुलाई गलत नभने पनि चाडपर्वका नाममा गरिने काटमारको तरिका परिवर्तन हुनुपर्ने उनको भनाइ छ । दशैँको सांस्कृतिक पक्षलाई स्वीकार गर्दै उनले राजनीतिक र सामाजिक आयामबारे पनि बहस गर्नुपर्ने बताए । दशैँलाई सबै नेपालीको महान् चाड भनिँदै आए पनि सबै समुदायले एउटै तरिकाले मनाउँछन् भन्ने मान्यता सही नहुने उनको तर्क छ । राज्यले दशैँलाई लामो बिदा दिने र विशेष सुविधा उपलब्ध गराउने तर अन्य समुदायका चाडपर्वले समान प्राथमिकता नपाउने विषयलाई उनले सामाजिक–राजनीतिक दृष्टिले महत्त्वपूर्ण मानेका छन् । उनका अनुसार चाडपर्वको सामूहिक अभ्यासले मानिसको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सक्छ । पहिले गाउँमा सबै मिलेर पिङ बनाउने, बाँस काट्ने, डोरी बाट्ने र सामूहिक रूपमा उत्सव मनाउने चलन थियो । अहिले भने डिजिटल प्रविधि र मोबाइलमा आधारित मनोरञ्जनले सामूहिक सहभागिता घटाएको छ । यसले मानिसबीचको सम्बन्ध र सामूहिक अनुभूतिमा असर पार्न सक्ने उनको चिन्ता छ । दशैँलाई धार्मिक अन्धविश्वास, आर्थिक बोझ र तडकभडकभन्दा टाढा राखेर सांस्कृतिक पर्वका रूपमा विकसित गर्नुपर्ने उनी बताउँछन् । परम्परा समयसँगै परिवर्तन हुनु स्वाभाविक भएपनि त्यसले मानिसलाई आर्थिक सङ्कटमा पार्ने वा सामाजिक विभेदलाई बलियो बनाउने अवस्था आउन नहुने उनको भनाइ छ । उनका अनुसार विदेशमा रहेका परिवारसँग भिडियो कलमार्फत दशैँ मनाउनु वा समयअनुसार नयाँ अभ्यास अपनाउनु गलत होइन। मुख्य कुरा देखासिकी नगर्नु, आफ्नो स्वास्थ्यको ख्याल गर्नु, आर्थिक क्षमताभित्र रहेर चाड मनाउनु र धार्मिक तथा सामाजिक विभेदबाट मुक्त हुँदै मानवीय सम्बन्धलाई प्राथमिकता दिनु हो । समय परिवर्तनशील छ र चाडपर्व मनाउने शैली पनि परिवर्तन हुँदै जान्छ । तर परिवार, सद्भाव, सांस्कृतिक स्मृति र मानवीय सम्बन्धलाई केन्द्रमा राख्न सके दशैँको आत्मीयता नयाँ पुस्तासम्म हस्तान्तरण गर्न सकिने उनीहरूको साझा अनुभूति देखिन्छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ३, २०८३  ११:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार