सोसल मिडिया
Contact Us
युनिकोड
कर्णाली । हुम्लाको चखेली गाउँपालिका–६ मेल्छाममा पहिराले घर पुरिँदा चार जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार आइतबार राति स्थानीय मानविर विकको घरमाथिबाट पहिरो खसेर घर भत्किँदा चार जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएका छन् । घाइते पाँच जनाको आज बिहान जीवितै उद्धार गरिएको थियो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले गम्भीर घाइतेलाई उपचारका लागि नेपालगञ्ज लैजान नेपाली सेनाको हेलिकप्टर तयारी अवस्थामा राखिए पनि खराब मौसमका कारण उड्न नसकेको जानकारी दिए । प्रहरीका अनुसार पहिरामै पुरिएर मृत्यु हुनेमा मेल्छाम गाउँका ६० वर्षीया तुल्सा, सात वर्षीया वसन्ता, नौ वर्षीया सुस्मिता र १२ वर्षीया हैजाली कामी छन् ।
पहिरोले बाजुरामा सात परिवार विस्थापित लगातारको अविरल वर्षाले बाजुराको हिमाली गाउँपालिकामा सात परिवार विस्थापित भएका छन् । सोही गाउँपालिका–५ का सात परिवार जमिन भासिएर पहिरो जान थालेपछि विस्थापित भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गिन्द्र बोगटीले जानकारी दिए । प्रहरीकाअनुसार विस्थापित हुनेमा सोही वडाका स्थानीय दाने बुढथापा, जयलाल बुढथापा, जयलाल बुढथापा, करन बुढथापा रहेका छन् । यसैेगरी विस्थापित हुनेमा धनबहादुर बुढथापा, नरेन्द्र बुढथापा र विष्णु कार्की रहेको प्रहरी निरीक्षक बोगटीले बताउनुभयो । विस्थापितलाई आफन्तकोमा सुरक्षित ठाउँमा सारिएको प्रहरी निरीक्षक बोगटीले बताए ।