सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ आइतबार उम्मेदवारहरूको मनोनयनपत्र दर्ता उत्साहजनक तथा शान्तिपूर्णरूपमा सम्पन्न भएको छ । दर्ता भएका उम्मेदहरूमा महिलाहरूको सङ्ख्या न्यून छ । मनोनयनपत्र दर्ता कार्यक्रम सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा भएको हो । दर्ताका लागि बिहान १० बजेदेखि सुरु भएर अपराह्न ५ बजेसम्म तोकिएकोमा उक्त समयभित्र सम्बन्धित निर्वाचन कार्यालयमा उपस्थित भएका कतिपय उम्मेदवारहरूको दर्ता कार्य साँझसम्म जारी रहेको थियो । कतिपय जिल्ला र निर्वाचन क्षेत्रमा सञ्चार सम्पर्क सहज नभएकाले यकिन विवरण प्रविष्ट हुन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगको सूचना प्रणालीमा साँझसम्म प्रविष्ट भएका आधारमा प्रतिनिधिसभाअन्तर्गत देशभर एक हजार नौ सय ३७ पुरुष र एक सय ९१ महिला गरी कूल दुई हजार एक सय २८ उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । प्रदेशसभातर्फ दुई हजार छ सय पुरुष, दुई सय ४४ महिला र एक अन्य गरी दुई अजार आठ सय ४५ जनाको उम्मेदवारी दर्ता भएको छ । प्रदेश नं १ मा चार सय ४५ पुरुष,४९ महिला गरी चार सय ९४, मधेश प्रदेशमा सात सय ११ पुरुष, ५५ महिला र एक अन्य गरी सात सय ६७, बागमती प्रदेशमा पाँच सय ६१ पुरुष, ७४ महिला गरी छ सय ३५, गण्डकी प्रदेशमा एक सय ९९ पुरुष, २९ महिला गरी दुई सय २८, लुम्बिनी प्रदेशमा चार सय १४ पुरुष, २३ महिला गरी चार सय ३७, कर्णाली प्रदेशमा ७९ पुरुष, दुई महिला गरी ८१ र सुदुरपश्चिम प्रदेशमा एक सय ९१ पुरुष, १२ महिला गरी दुई सय तीन उम्मेदवारले प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्नुभएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । दर्ता भएका उम्मेदवाहरूको सूची आइतबार नै सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गर्ने कार्यक्रम रहेको छ । आज असोज २४ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता भएका कुनै पनि उम्मेदवारविरुद्ध सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने कार्यक्रम छ । हालैका दिनमा अविरल वर्षा, बाढी पहिरोलगायतका विपद्जन्य घटनाका कारण कतिपय स्थानमा आवतजावतमा समेत कठिनाइ भएका कारण सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुगी मनोनयन दर्ता गर्न नसक्ने उम्मेदवारहरूका हकमा आयोगले सहजीकरण गरेको थियो । सम्बन्धित दलले उम्मेदवार मनोनयन गरेको औपचारिक पत्र, प्रतिनिधि मुकरर गरिएको पत्रलगायत आवश्यक कागजात आयोग तथा आयोगअन्तर्गतका निर्वाचन कार्यालयले बुझी सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पठाई सहजीकरण गरिएको थियो । कतिपय स्थानमा भने उम्मेदवारी दर्ताका लागि उम्मेदवार लामबद्ध भएकाले ढिलोसम्म दर्ता प्रक्रिया चलिको थियो । राजनीतिक दलले ढिलो अर्थात् अन्तिम समयमा मात्र उम्मेदवार छनोट गरेकाले कतिपय उम्मेदवारलाई स्वयं उपस्थित भएर मनोनयनपत्र दर्ता गराउन भ्याइनभ्याइ परेको थियो । मुलुकको प्रमुख राजनीतिक शक्ति नेपाली कांग्रेस र नेकपा (एमाले)ले चुनावी नतिजा आफ्नो पक्षमा सुदृढ तुल्याउन बेग्ला–बेग्लै चुनावी गठबन्धन बनाउने सन्दर्भमा लामो समय खर्चनुपरेकाले पनि उम्मेदवार चयनमा ढिलाइ भएको हो । साना दलहरूलाई आफ्नो पक्षमा ल्याएर गठबन्धनलाई निकै प्रभावकारी तुल्याउन र उम्मेदवार चयनको विषय टुङ्ग्याउन दलका शीर्षनेताबीच रस्साकस्सी र मेहनत गर्नुपरेको थियो ।
कुन–कुन दलबीच के–कस्तो गठबन्धन हुन्छ भन्ने विषयमा सर्वत्र निकै चासोका साथ हेरिएकामा उम्मेदवार मनोनयनसँगै त्यो अन्योल हटेको छ । त्यसो त प्रमुख पार्टीभित्र नै पनि उम्मेदवार चयनका विषयलाई लिएर केही आलोचना र टिप्पणीसमेत भएको पाइएको छ । अघिल्ला निर्वाचनमा कडा प्रतिस्पर्धी रहेका राजनीतिक दलका उम्मेदवार सहयोग र सहकार्य गर्ने प्रतिबद्धताका साथ अर्काे पार्टी र आफ्नो पार्टीको झण्डा एउटै हातमा लिएर उम्मेदवारी दिन निर्वाचन कार्यालय पुगेको दृश्य रोचक नै थियो । निर्वाचनमा उम्मेदवारले दुवै पार्टीका झण्डा बोकेर हिँड्ने परिस्थिति निर्माण हुनुलाई राजनीतिमा कोही पनि स्थायी शत्रु र मित्र हुन सक्दैनन् भन्ने सन्देश प्रवाह भएको छ । यसपटकको निर्वाचनमा सभामुख अग्निप्रसाद सापकोटा मात्र नभई आफ्नो पार्टीभित्र निकै प्रभावशाली मानिएका डा बाबुराम भट्टराई, डा रामशरण महत, डा मिनेन्द्र रिजाल, हरिबोल गजुरेल, रामबहादुर थापा, अष्टलक्ष्मी शाक्यलगायतका नेता उम्मेदवारकारूपमा देखिनुभएन । आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन नेपालको संसदीय निर्वाचनका हिसाबले छैटौँ र गणतन्त्र स्थापनापछिको दोस्रो हो । यसअघि विसं २०७४ मङ्सिर १० र २१ गते दुई चरणमा निर्वाचन भएको थियो । उक्त निर्वाचनमा प्रत्यक्षतर्फ ५५ र समानुपातिकतर्फ ४९ राजनीतिक दलले भाग लिएकामा दलका एक हजार चार सय ५२ र स्वतन्त्र चार सय ९२ गरी कुल एक हजार नौ सय ४४ उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए । यसपटकको निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिनिधिसभामा भाग लिन अनुमति प्राप्त राजनीतिक दलको सङ्ख्या ८६ र समानुपातिकतर्फ ४८ रहेको छ । मुलुकका एक सय ६५ प्रतिनिसभा सदस्य र तीन सय ३० प्रदेशसभा सदस्यका लागि यो निर्वाचन हुन लागेको हो । आगामी निर्वाचनका लागि एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता कायम छन् । निर्वाचनका लागि देशभर १० हजार आठ सय ९२ मतदानस्थल र सोअन्तर्गत २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ ।