गुर्जा गाउँमा विद्युत् सेवा अवरुद्ध

आइतबार, असोज २३, २०७९

म्याग्दी । बाढीले लघुजलविद्युत् परियोजनाको नहर बगाएपछि म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा गाउँ अन्धकार बनेको छ । यही असोज १८ देखि २२ गतेसम्मको निरन्तरको झरीपछि आएको बाढीले ३५ किलोवाट क्षमताको इङलेखोला लघुजलविद्युत् परियोजनाको नहर बगाएको हो । मुहानमा करिब १५ मिटर नहर बाढीले बगाएपछि परियोजना बन्द हुँदा गुर्जा गाउँ अन्धकार बनेको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए। 
परियोजना बन्द हुँदा दुई सय ५० घरधुरी विद्युत् सुविधाबाट वञ्चित भएका छन् । मोबाइल फोन सेवासमेत अवरुद्ध हुँदा सञ्चार सम्पर्क विच्छेद भएको छ । झरीसँगै गुर्जा आसपासका डाँडामा हिमपात भएर सेताम्मे बनेको वडाध्यक्ष छन्त्यालले बताउनुभयो । अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायको बाहुल्य बसोबास रहेको गुर्जा म्याग्दीको सबैभन्दा विकट र दुर्गम बस्ती हो । हालसम्म सडक यातायातको सुविधा नभएको गुर्जा पुग्न छिमेकी गाउँ लुलाङबाट पूरै दिन पैदलयात्रा गर्नुपर्छ । 
 
विद्यालय भवन भत्कियो 

म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा पहिराले विद्यालयको भवन भत्किएको छ । लुलाङ आधारभूत विद्यालयको दुईकोठे कक्षा कोठा भवन पहिराले भत्किएको हो । विद्यालयका प्रअ नागेन्द्र ठाकुरले पाखोबाट खसेको पहिराले भवनको छानो र पर्खाल भत्किएको जानकारी दिए । “राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट करिब रु ३६ लाखको लागतमा हालै भवन बनाएका थियौँ”, उनले भने, “भवन भत्किँदा पठनपाठनका लागि कक्षा कोठाको अभाव भएको छ ।” 
सो भवनमा कक्षा ३ र ८ का विद्यार्थी राखेर पढाउने गरिएको थियो । दुईवटै कोठा बस्नै नमिल्ने गरी भत्किएको छ । दलित समुदायको बाहुल्य बसोबास रहेको लुलाङमा अवस्थित सो विद्यालयमा दुई सय २६ जना विद्यार्थी छन् । चौरमा राखेर पढाउनुपर्ने समस्या भएपछि गत आर्थिक वर्षमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट भवन बनाइएको थियो । नयाँ भवन भत्किँदा विद्यार्थीलाई कहाँ राखेर पढाउने भन्ने चिन्ता बढेको प्रअ ठाकुरले बताए । 
यसैगरी बर्सातका कारण रघुगङ्गा गाउँपालिका–३ फूलबारीमा एकवटा घर भत्किएको छ । स्थानीय झिल्के भण्डारीको दुईतले घर भत्किएको वडा सदस्य जीतबहादुर खत्रीले जानकारी दिए।

जाजरकोटमा चार दिनदेखि सञ्चार सेवा अवरुद्ध
अविरल वर्षासँगै जाजरकोट सदरमुकामदेखि सबै पालिकामा सञ्चार सेवा अवरुद्ध भएको छ । सोलार सिस्टममा घाम नलाग्दा यहाँका टेलिफोन टावरले काम नगरेका  हुन् । सदरमुकाममा समेत तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध हुँदा फोन सेवा अवरुद्ध भएको छ । 
जिल्लाका सातै पालिकामाका साथै छिमेकी जिल्ला डोल्पा, रुकुम पश्चिममा समेत सञ्चार सेवा अवरुद्ध भएको छ । विद्युत् नहुँदा जिल्लाका रेडियोहरुसमेत बन्द भएका छन् । वर्षा निरन्तर भइरहेकाले विद्युत्, सञ्चार सबै सेवा ठप्प भएको छ । ग्रामीण सडकसमेत पूर्ण रुपमा ठप्प भएका छन्  । जाजरकोट–डोल्पा सडक खण्डको खलङ्गादेखि नलगाड दल्लीसम्म मात्र यातायात सेवा सञ्चालन भएका छन् । नलगाड बारेकोट सडकसमेत ठाउँठाउँमा भत्किएका कारण यातायात सेवा अवरुद्ध भएको हो । 
पश्चिम जाजरकोट, रुकुम पश्चिमका ग्रामीण सडकसमेत अवरुद्ध भएको बताएको छ । विद्युत् सेवा मर्मत गर्नका लागि पानी निरन्तर परेका कारण समस्या भइरहेको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ । आज प्रदेशसभा र प्रतिनिधिसभा तर्फको मनोनयन दर्ता गर्ने दिनभकाले नेता तथा कार्यकर्ताहरुसँग सम्पर्क नहुँदा उम्मेदवारलाई हैरान भएको छ । 
 

प्रकाशित मिति: आइतबार, असोज २३, २०७९  ०८:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार