सोसल मिडिया
Contact Us
युनिकोड
मकवानपुर । त्रिभुवनराजपथअन्तर्गत हेटौँडा काठमाडौँ सडकखण्डको भीमफेदी गाउँपालिका–२ को बाह्रघुम्तीमा शनिबार बिहान खसेको सुक्खा पहिरोले यातायात अवरुद्ध भएकामा सडक डिभिजनको डोजरले पहिरो पन्छाएपछि साँझ ५ बजेदेखि यातायात सञ्चालन भएको छ । बाह्रघुम्तीमा बिहान पहिरो खसेपछि प्रहरीले काठमाडौँबाट आएको सवारीसाधनलाई सिमभञ्ज्याङमा रोकिएको र हेटौँडाबाट आएको सवारीसाधनलाई भैँसेमा रोकिएका थिए । पहिरो पन्छाएपछि प्रहरीले सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
नारायणगढ–मुग्लिन सडकमा सुक्खा पहिरो
सुक्खा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ । शनिबार साँझ ८ः३० बजे भरतपुर महानगरपालिका भरतपुर २९ सत्रकिलोस्थित खानी खोला पुल नजिक सुक्खा पहिरो खसेको हो । पहिरो खसेपछि अहिले गन्तव्यमा हिँडेका सवारीसाधनको लाइन लागेको छ । सडक डिभिजन कार्यालसँग समन्वय गरेर पहिरो पन्छाउने काम सुरु गरिने इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । बिहीबार मात्रै भरतपुर महानगरपालिका–२९ स्थित केराबारी र अठार किलोमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो । यो वर्ष मात्रै दुई दर्जन बढीपटक पहिरो खसेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको थियो ।