बोलेरो दुर्घटना हुँदा चौधजना घाइते, तीन जना घाइतेको अवस्था गम्भीर 

आइतबार, असोज २३, २०७९

त्रिशूली । नुवाकोटको विदुर नगरपालिका–५ मा शनिबार अपराह्न बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । घाइते हुने दसैँको टीका लगाउन जान लागेका एकै परिवारका सदस्य तथा आफन्त रहेका छन् । बेलकोटगढी–१२ मदानपुरबाट दसैँको टीका लगाउन बेलकोटगढी–७ रातमाटेतर्फ जान लागेको बोलेरो विदुर नपा–५ मा आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता (प्रहरी नायब उपरीक्षक) रुपक खड्काले जानकारी दिए ।
उनका अनुसार घाइतेमध्ये १७ वर्षीय दिपेश गजुरेल बेलकोटगढी–१२ र १८ वर्षीय प्रवत सुवेदी बेलकोटगढी–६ र ६५ वर्षीय छविलाल रिमाल विदुर–१२, को टाउकोसहित शरीरको विभिन्न अङ्गमा चोट लागेकाले त्रिशूली अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौँ पठाइएको छ । बाँकीको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ ।
 अन्य घाइतेमा ४४ वर्षीय सुदर्शन गजुरेल बेलकोटगढी–१२ उहाँको श्रीमती ४३ वर्षीया अप्सरा गजुरेल, छोरा १७ वर्षीय दीपेश गजुरेल, प्रवत सुवेदीको बुबा ३८ वर्षीय रामहरि सुवेदी बेलकोटगढी–६, छविलाल रिमालको छोरा १८ वर्षीय सागर रिमाल, ३४ वर्षीय बसन्त सिलवाल बेलकोटगढी–१२ उनकी छोरी १६ महिनाको ऋतु सिलवाल रहेका छन् ।

RN_NuwakotAccdent-21665275807.jpg
यस्तै दुर्घटनामा परेर घाइते हुने अन्यमा १२ वर्षीय समीर ढकाल बेलकोटगढी–७, ४६ वर्षीया महेश्वरी पण्डित विदुर–१२ उहाँको छोरी १४ वर्षीया सुरक्षा पण्डित, सोही स्थानको १९ वर्षीया शर्मिला पण्डित र बोलेरो चालक २५ वर्षीय ठाकुर गजुरेल बेलकोटगढी–१२ रहेका छन् ।
प्रदेश ३–०१–०२३ च–९०३८ नं को बोलेरो गाडी अपराह्न १ः१० बजे विदुर नपा–५ स्थित माझीटार भन्ने स्थानमा अनियन्त्रित भएर सडकमा पल्टिएको प्रहरीले जनाएको छ । सामग्री ढुवानी गर्ने उक्त बोलेरो गाडीमा एकै परिवारका सदस्य एवं आफन्त चढेर दसैँको टीका लगाउन बेलकोटगढी–१२ मदानपुरबाट बेलकोटगढी–७ रातमाटेतर्फ जान लागेका थिए ।  

प्रकाशित मिति: आइतबार, असोज २३, २०७९  ०६:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार