सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । प्युठानमा शुक्रबार पहिरोमा पुरिएर बेपत्ता भएका तीन जनाको शव आज निकालिएको छ । तीन जना अझै बेपत्ता छन् । प्युठानको माण्डवी गाउँपालिका–४ फरिन्डेमा स्थानीय बमबहादुर राहु मगरको घर पहिरोमा पुरिएको थियो । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता एवम् प्रहरी निरीक्षक सुशिल थापा मगरका अनुसार पहिरोमा पुरिएकी ५५ वर्षीया थमा बुढामगर, १८ वर्षीया मौसमी थापा र २१ वर्षीया टेकी राहु मगरको शव पहिरोबाट निकालिएको हो । प्रहरीले स्थानीयको सहयोगमा शव निकालेको हो । ६० वर्षीय बमबहादुर राहु मगर, चार वर्षीय सुसान्त राहु मगर र ६० वर्षीय हिराबहादुर थापा मगर अझै बेपत्ता छन् । उनीहरुको खोजी भइरहेको छ । प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल र प्रहरी नायव उपरीक्षक सुवाश खड्कासहितको टोली दुई दिनदेखि घट्नास्थलमै रहेको प्रवक्ता थापा मगरले जानकारी दिए
बेपत्ता युवतीको शव भेटियो चार हजार आठ सय मिटरको उचाइमा रहेको मेमे पोखरी घुम्न जाँदा बेपत्ता एक युवतीको शव आज भेटिएको छ । दसैँ मनाउनका लागि ऐतिहासिक एवं पर्यटकीयस्थल मेमे पोखरी घुम्न जाँदा बेपत्ता बेँसीसहर नगरपालिका–१० साँधुकी २४ वर्षीया शर्मिला तामाङको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश श्रीमलका अनुसार नेपाली सेना, प्रहरीलगायत टोलीले सो स्थान नजिकै घुम्रो खर्कमा युवतीको शव फेला पारेको हो । यसअघि मृतक युवतीका श्रीमान् सर्लाहीको लालबन्दीका २६ वर्षीय बुद्ध तामाङको सोही क्षेत्रमा लेक लागेर मृत्यु भएको थियो । शर्मिलाका बुबा ५० वर्षीय खेमबहादुर तामाङ, भाइ १६ वर्षीय च्याम्बो तामाङ र काकाको छोरा १९ वर्षीय करण तामाङको प्रहरीले उद्धार गरेको छ । तीनैजना करिब चार हजार मिटर उचाइको च्यार्बोस्थित भेडीगोठमा भेटिएका प्रहरीले जनाएको छ । बेँसीसहरबाट उक्त पोखरी पुग्न तीन दिन लाग्छ । उनीहरु असोज १६ गते त्यसतर्फ गएका थिए । फर्किने क्रममा शर्मिला र उनका श्रीमान् बुद्धको मृत्यु भएको हो । दुवैको शव प्रहरीले बेँसीसहर ल्याउँदै छ ।