सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । जुम्लामा पहिरोले घर पुरिँदा एकै परिवारका सातजनाको मृत्यु भएको छ । पहिरोमा परेर दुई जना गम्भीर घाइते भएका छन् । जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ बारकोटेबाडामा स्थानीय गणेशबहादुर शाहीको घर पहिरोले पुरिँदा सातै जनाको घट्नास्थलमै मृत्यु भएको जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।
“बिहान चार बजे पहिरोले घर पुरिएको खबर प्राप्त भएको छ, घर पुरिँदा सबैजना सुतिरहेका रहेछन्, उम्किनै पाएनन्”, उनले भने, “प्रहरी र स्थानीयले सातै जनाको शव निकालेका छन्, घाइतेलाई स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको छ ।” जुम्लामा निरन्तर वर्षा भइरहेको छ । घट्नास्थलमा पुग्ने सडक सबै भत्किएको छ । जिल्ला सुरक्षा समितिको टोली पैदल घट्नास्थलतर्फ जाँदै गरेको डिएसपी चन्दले बताउनुभयो । “हामी सबै बाटोमै छौँ, सडक बनाउँदै अघि बढ्दै गरेको अवस्था हो”, उनले भने, “साँझसम्म घट्नास्थलमा पुग्ने आश गरेका छौँ ।” सदरमुकामबाट चिकित्सकसमेत साथमा लिएर जान लागेको डिएसपी चन्दले बताउनुभयो । वर्षाका कारण जिल्लाभरि टेलिफोन सेवासमेत अवरुद्ध भएको उनको भनाइ छ ।
पहिरोमा बेपत्ताको खोजी गर्न गृहमन्त्रीको निर्देशन गृहमन्त्री बालकृष्ण खाणले जुम्लाको कनकासुन्दरी गाउँपालिकामा भएको वर्षासँगै खसेको पहिरामा परेर बेपत्ता भएकाहरुको खोजी कार्य र घाइतेको उपचारमा कमी हुन नदिन स्थानीय प्रशासन तथा सुरक्षा निकायलाई निर्देशन दिएका छन् । गृहमन्त्री खाणले प्रभावितको पुनः स्थापन कार्यमा कुनै कसर बाँकी नराख्न गृहप्रशासन र प्रजिअलाई निर्देशन दिनुभएको उनको सचिवालयले जनाएको छ । गृह प्रशासनमार्फत घाइतेको उद्धारका लागि सेनाको हेलिकप्टरको व्यवस्थापन गरिए पनि खराब मौसमका कारण हेलिकप्टर जान नसकेको जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले जानकारी दिए । उनले सो क्षेत्रमा अहिले पनि पानी परिरहेको जानकारी दिए । प्रजिअका अनुसार जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ मा पहिरामा पुरिएर यो समाचार तयार पार्दासम्म सातजनाको मृत्युु भएको छ । अन्य दुईजना घाइते भएकामध्य एकको अवस्था गम्भीर रहेको छ । उनीहरुको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ । अहिले घटनास्थलतर्फ प्रजिअसहित जिल्ला सुरक्षा मितिको टोली गइरहेको जनाइएको छ ।–रासस