जुम्लामा पहिरोले एकै परिवारका ५ जनाको ज्यान लियो 

शनिबार, असोज २२, २०७९

काठमाडौं । जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ मा पहिरोमा पुरिएर एकै परिवारका ५ जनाको मृत्यु भएको छ । पहिरोमा परी थप २ जना बेपत्ता भएका छन् । 
बाराकोटे बाडा भन्ने ठाउँमा पहिरो जाँदा गणेश बहादुर शाही, उनको छोरा रमेश, रमेशकी श्रीमती पानसरा तथा उनीहरुका छोराहरु अनमोल र मिलनको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिए ।
प्रहरी निरीक्षक जोशीका अनुसार आज बिहान करिब ३–४ बजेतिर घरमाथि पहिरो खसेर उनीहरु पुरिएका थिए । उनीहरुका छिमेकी सुरेन्द्र हमाल र गणेश बहादुर शाही पहिरोमा बेपत्ता छन् । उनीहरुको खोजी भइरहेको छ । 
घटनास्थलबाट दुई जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । घाइतेहरुमध्ये रामबहादुर हमालको अवस्था सामान्य र सरस्वती हमालको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक जोशीले जानकारी दिए । उनीहरुको अहिले स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

हेलिकोप्टर झिकाएर उनीहरुलाई उपचार गर्न सुविधासम्पन्न अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पहिरो गएर बाटाहरु सबै बन्द भएकाले हेलिकोप्टर झिकाउनुको विकल्प छैन ।
यसैबीच गृहमन्त्री बालकृष्ण खाँणले घाइतेको उद्धार र पुनस्थापनामा कुनै कसुर बाँकी नराख्न गृहप्रशासन र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।
 

प्रकाशित मिति: शनिबार, असोज २२, २०७९  १२:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार