वीरेन्द्रनगर उपत्यकाको तल्लो तटीय क्षेत्र डुबानमा

शनिबार, असोज २२, २०७९

वीरेन्द्रनगर । विगत तीन दिनदेखि परेको अविरल वर्षका कारण वीरेन्द्रनगर उपत्यकाको तल्लो तटीय क्षेत्र डुबानमा परेको छ । वीरेन्द्रनगर नगरपालिका–९ को पर्सेनी, लबस्ता, तीलपुर, इटौरा, घोग्रेनीलगायतका क्षेत्र डुबानमा परेका हुन् । निरन्तर वर्षाका कारण उपत्यकाको तल्लो क्षेत्र डुबानमा परेपछि स्थानीयवासी घर छोडेर सुरक्षित स्थानतिर लागेका छन् । धानबाली सबै डुबाएको छ । 
वर्षाले जलमग्न वीरेन्द्रनगर उपत्यकाको दक्षिणतर्फको क्षेत्रमा जिल्ला प्रशासन कार्यालयका कर्मचारी र जनप्रतिनिधि अवलोकन गरेका छन् । साथै उक्त क्षेत्रमा बिहानदेखि नै सुरक्षाकर्मीको टोली परिचालन भइरहेको छ । उक्त क्षेत्रमा सबै परिवारलाई सुरक्षाकर्मीको टोलीले उद्धार गरेर सुरक्षित ठाउँमा सारेको छ । डुबानले पाक्नै लागेको सबै धान भने बाढीले नष्ट बनाएको स्थानीयवासीले बताएका छन् । हाल मानवीय क्षति कुनै पनि नभएको प्रहरीले जनाएको छ ।

SA-Surkhet-Dubanb1665186472.jpg
जिल्लाका मुख्य राजमार्ग तथा अन्य सडक पहिराको कारण सवारी आवतजावतमा कठिनाइ भएको छ । पहिरो हटाउँदै सवारी आवतजावतलाई सहज बनाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए । उनका अनुसार बाढी प्रभावित क्षेत्रका स्थानीयवासीलाई सुरक्षित स्थानतर्फ सारिएको छ । 

राप्ती नदीको सतह उच्च, नागरिकलाई आश्रयस्थलतर्फ जान अनुरोध 

तीन दिनको झरीसँगै आज बिहानदेखि परेको भीषण वर्षाले राप्ती नदीको सतह ह्वात्तै बढेपछि तटीय क्षेत्रका नागरिक त्रसित भएका छन् । वर्षाका कारण राप्ती नदीमा खतराको तह पार भई आकस्मिक साइरन बजेको छ । स्थानीय प्रशासनले बाढी आउने निश्चित भइसकेकाले अग्लो तथा आश्रयस्थलमा जान आग्रह गरेको छ । 
वर्षाले बाँकेको कुसुमस्थित राप्ती नदीमा पानीको सतह आठ मिटर पार गरेको छ । राप्ती नदीमा पानीको सतह पाँच मिटर ४० सेन्टिमिटर पुगेपछि खतरा मानिन्छ । आज शुक्रबार बिहान विस्तारै घटे पनि भारी वर्षा भएपछि दिउँसोदखि कुसुममा नदीको सतह अहिले आठ मिटर पुगेको बाँकेस्थित जलमापन केन्द्रले जनाएको छ । 
नदीको बहाव उच्चरूपमा बढेपछि जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले शुक्रबार एक सूचना निकालेर नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले सूचना जारी गर्दै राप्ती नदी तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकलाई उच्च सतर्कता अपनाउन अनुरोध गरे । 
प्रजिअ खत्रीले नदी किनारको तल्लो तटीय क्षेत्रमा नदी किनारमा जाने, दाउरा छोप्ने, नुहाउने, माछा मार्नेजस्ता कार्य नगर्न सबैमा आग्रह गरे । साथै होचो तथा डुबान हुने, बाढीको उच्च जोखिम पहिचान भएका समुदाय सुरक्षित स्थान पहिचान भएको आश्रयस्थलमा जानसमेत उनले आग्रह गरेका छन् ।
राप्ती नदीको माथिल्लो तटीय तथा तल्लो तटीय क्षेत्रसमेतमा भारी वर्षा भइरहेकाले पश्चिम राप्तीमा पानीको सतह थप बढ्ने पूर्वानमान रहेकाले आसपासका नागरिकलाई उच्च सतर्कताका लागि सूचना प्रवाह गरिएको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए । राप्ती नदीको बाढीले नदी आसपासको क्षेत्र डुडुवा, नरैनापुर र राप्तीसोनारी गाउँपालिकाका अधिकांश गाउँ डुबानमा पर्ने गर्दछन् । 
बाढी र डुबान शुरु भएपछि त्यस आसपास क्षेत्रका सर्वसाधारण त्रसित बनेका छन् । भारी वर्षाले नेपालगञ्ज नगरका अधिकांश स्थान जलमग्न भएका छन् । नेपालगञ्जको न्युरोड, एमपी स्कुलरोड, फुल्टेक्रा, सेतु विक चोक, धम्बोझी बेलासपुर, कोरियनपुर, कारकादो, रानीतलाउलगायतका स्थान तथा सडक जलमग्न भएपछि सर्वसाधारणलाई आवत जावतमा समस्या भएको छ । 
वर्षाले नरैनापुर, खजुरा, कोहलपुर, जानकी, बैजनाथ गाउँपालिकाका अधिकांश स्थान जलमग्न भएको प्रहरीले जनाएको छ । बाढी र डुबानबाट बचाउन तथा उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासहितको उद्धार टोली खटाई उच्च सतर्कता अवस्थामा राखिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए । 

प्रकाशित मिति: शनिबार, असोज २२, २०७९  ०५:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार