सोसल मिडिया
Contact Us
युनिकोड
गलेश्वर । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा यस वर्ष असोजमा नै हिमपात भएको छ ।विगतका वर्षमा पुसको अन्तिम सातादेखि हिमपात हुने गुर्जामा यस वर्ष असोजमा नै हिमपात भएपछि स्थानीयवासी चिन्तित भएका छन् । विगत चार दिनदेखि भएको निरन्तर वर्षा अझै रोकिएको छैन । वर्षासँगै हिमपात भएपछि गुर्जाका लेकाली क्षेत्र सेताम्यै भएर अत्यधिक चिसो बढेपछि स्थानीयवासीलाई सास्ती भएको धवलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए । धवलागिरि गाउँपालिकाका प्रवक्तासमेत रहेका छन्त्यालले आफू जान्ने भएदेखि असोजमा कहिल्यै पनि हिमपात भएको थाहा नपाएको बताए । हिमपातका कारण विशेषगरी वृद्धवृद्धा, बालबालिका र पशु चौपायालाई सास्ती भएको छन्त्यालले जानकारी दिए । विगतमा हिमपात हुँदा खुसी हुने किसान यस वर्ष भने असोजमा नै हिमपात भएकाले चिन्तित छन् । हिमपातले खेतीबालीलाई राम्रो हुने भए पनि यस वर्ष खेतीबाली लगाउने समय अगाडि नै हिमपात भएकाले किसान चिन्तित भएका हुन् । समुद्री सतहबाट तीन हजार तीन सय २० मिटर उचाइमा अवस्थित गुर्जामा बाक्लो हिउँ परेको छन्त्यालले जानकारी दिनुभयो । यसैगरी मनाङको उच्च लेकाली क्षेत्रमा पनि हिमपात भएको छ ।
उत्तरी गोरखाको सामागाउँ क्षेत्रमा हिमपात, जोखिमलाई ख्याल गर्दै हेलिकप्टर तयारी अवस्थामा
उत्तरी गोरखामा हिमपात सुरु भएको छ । लगातारको वर्षाले चिसो बढेसँगै चुमनुब्री गाउँपालिकाको सामागाउँलगायतका क्षेत्रमा हिमपात सुरु भएको हो । असोज महिनाको तेस्रो साता सुरु भएसँगै यो वर्ष पहिलो पटक उत्तरी गोरखामा हिमपात भएको हो । हिमालपारिको गाउँ भनेर चिनिने उत्तरी गोरखाको सामागाउँ क्षेत्रमा हिमपात भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केदार खनालले बताए । “सामागाउँमा आज अपराह्नपछि हिमपात सुरु भएको हो”, उनले भने, “हिमपातका कारण त्यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।” हिमपातका कारण मनास्लु हिमाल आरोही र आरोहीका सहयोगीलाई समस्या पर्नसक्ने भन्दै सामागाउँमा अहिले तीन वटा हेलिकप्टर तयारी अवस्थामा राखिएको उनले बताए । “मनास्लु हिमालको आरोहणमा रहेका आरोहीलाई कुनै पनि बेला समस्या पर्नसक्ने सम्भावना छ”, उनले भने, “सम्भावित जोखिमपूर्ण परिस्थितिलाई ध्यानमा राखेर हेलिकप्टरसमेत तयारी अवस्थामा राखिएको छ ।” स ामागाउँमा कैलाश, सिम्रिक र एभरेष्ट एयरका एक÷एक वटा हेलिकप्टर तयारी अवस्थामा राखिएका उहाँको भनाइ छ । यो वर्ष अहिलेसम्मकै अत्यधिक पर्यटक मनास्लु हिमाल आधार शिविरमा पुगेका छन् । गोरखा प्रहरीका अनुसार हिजोसम्म ३६६ जना हिमालको आधार शिविरमा नै रहेको जनाइएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अझै केही दिन मौसममा परिवर्तन हुने भन्दै उच्च हिमाली क्षेत्रमा बसोबास गर्ने तथा हिमाल आरोहणका लागि पुगेकालाई सतर्कता अपनाउन भनेको छ ।