सोसल मिडिया
Contact Us
युनिकोड
हेटौँडा । बारा जिल्लाको अमलेखगन्जमा बिहीवार बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १६ पुगेको प्रहरीले जनाएको छ । तीमध्ये १० जना पुरुष र छजना महिला रहेको बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताए । प्रहरीका अनुसार १० जनाको घटनास्थलमै र छ जनाको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ूपानी परिरहेका बेला तीव्र गतिमा रहेको बस मोडमा घुमाउन नसक्दा सीधै खोलामा खस्न पुगेको प्रारम्भिक अनुमान छ,ू बोगटीले भने । प्रहरीका अनुसार बस दुर्घटनामा परेको खोला सडकबाट करिब १५ मिटर तल पर्छ । उपचाररत यात्रुमध्ये धेरैजसो गम्भीर अवस्थामा रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये २१ जनालाई उपचारका लागि चितवन, आठ जनालाई वीरगञ्ज र पाँच जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । चार जना भारतीय नागरिकलाई आफन्तले भारतमा नै लगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । नारायणगढबाट वीरगन्ज जाँदै गरेको बा प्र-०६-००१ ख-०११० नं प्लेटको बस बिहान साढे १० बजेतिर अमलेखगन्ज ३ नं पुलनजिकैको मोडमा सडकबाट खोलामा खसेको थियो ।
दुर्घटनामा २५ जनाभन्दा बढी घाइते भएकोमा २० जनाको अवस्था गम्भीर रहेको र उनीहरूको हेटौंडाका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक बोगटीले बताए । सामान्य घाइते केही व्यक्तिको बाराको सिमरास्थित अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार बसमा सवार अधिकांश यात्रु बारा र पर्सा जिल्लाकै थिए । हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका १२ जना, चुरेहिल अस्पतालमा दुई जना, सहकारी अस्पतालमा एक जना र भरतपुर लैजाने क्रममा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बारा–कलैया उपमहानगरपालिकाका लीलाराज चौरसिया, चितवन खैरहनी नगरपालिका–५ की नन्दकुमारी पुडासैनी, चितवन कालिका नगरपालिकाका १५ वर्षीय बालक सफल कँडेल, चितवन खैरहनी–५ का मनोरथ पुडासैनी, बाराका ५५ वर्षीय राम आश्रय राय, पर्सा– १६ की मुन्ननी देवि चौरसिया, हेटौँडा–७ की करिब ५५ वर्षीया शुभलक्ष्मी श्रेष्ठ, सोही स्थानकी २० वर्षीया स्वस्तिका श्रेष्ठ, बारा–कलैया–१० का नगरिन खातुन, बारा–अमलेखगञ्जका सुरेश विक, बारा–कलैया का इन्ताज अन्सारी, ओखलढुङ्गाका करिब ४५ वर्षीय लालबहादुर बोगटी गोर्खाका अम्बिका कँडेल र पर्सा–१६ का सकेमप्रसाद चौरसिया रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
क्षमताभन्दा बढी यात्रु
कुल ३२ सीट क्षमताको बसमा ५२ जना यात्रु सवार रहेको प्रहरीको अनुमान छ बसमा ५२ जना सवार रहेको खुलेको ट्राफिक प्रहरी कार्यालय मवानपुरका प्रहरी निरीक्षक मुनेन्द्र थापाले जनाए । नेपालमा प्रमुख चाडबाडका बेला प्रायः बस दुर्घटनाहरू हुने गरेका दृष्टान्त छन् ।
दुर्घटनाका मृतक र घाइतेका परिवारलाई राहत दिन प्रचण्डको आग्रह नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको जीतपुर–सिमरा सडकखण्डमा आज बिहान भएको बस दुर्घटनामा ठूलो सङ्ख्यामा धनजनको क्षति भएको घटनाले स्तब्ध बनेको जनाएका छन् । बिहीबार वक्तव्य जारी गर्दै उनले दुर्घटनाका मृतकमा श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् । अध्यक्ष दाहालले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मृतक परिवार र घाइतेलाई राहत तथा क्षतिपूर्ति प्रदान गर्न सम्बन्धित निकायसँग अनुरोध गरेका छन् । उनले देशका विभिन्न स्थानमा भारी वर्षा भइरहेको र केही दिन निरन्तर वर्षा हुने मौसम विभागले सतर्कता सूचना जारी गरेको स्मरण गराउँदै आवश्यक सतर्कता अपनाउनसमेत आग्रह गरेका छन् । अध्यक्ष दाहालले सम्पूर्ण पार्टी पङ्क्तिलाई प्राकृतिक प्रकोपका घटनामा राहत, उद्धार तथा अन्य सबै किसिमको सहयोगका लागि तत्पर रहन निर्देशन दिएका छन् ।
मोटरसाइकल चालकको मृत्यु यता कञ्चनपुरको महेन्द्रनगरमा बिहीबार साँझ बससित मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । महेन्द्रनगरस्थित बसपार्कबाट राजमार्गमा निस्किरहेको सु प्र प्र ०२–००१ ख् ११६१ नम्बरको बसलाई ठक्कर दिँदा भीमदत्त नगरपालिका–८ का २० वर्षीय सुनिल रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लोकेन्द्रसिंह ठगुन्नाले जानकारी दिए । प्रहरीका अनुसार मृतक राना महेन्द्रनगरबाट गड्डाचौकीतर्फ म १ प ६२७२ नम्बरको मोटरसाइकल चलाएर जाँदै थिए । बसलाई ठक्कर दिएर टाउकोमा चोट लागेका रानाको उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बस र चालक शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरका रघुनाथ अवस्थीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको विस्तृत अनुसन्धान थालेको छ ।