पूर्वी नवलपरासीको पहाडी क्षेत्र सडक सम्पर्कबाट विच्छेद 

शुक्रबार, असोज २१, २०७९

कावासोती । बुधबारदेखि परेको अविरल वर्षाका कारण ठाउँठाउँमा पहिरो खसेपछि पूर्वी नवलपरासीको पहाडी क्षेत्रका बुलिङटार र बौदिकाली गाउँपालिका सडक सम्पर्कबाट विच्छेद भएका छन् ।
लगातार परेको पानीले पहाडी क्षेत्र जाने मुख्य सडकको दलदले–कुमसोत–पोखरी खण्डको पाङ्ग्रेमा बुधबार बिहान पहिरो खसेपछि दलदले हँुदै पहाडी क्षेत्रका बुलिङटार र बौदिकाली जाने यातायातका साधन दलदलेमै रोकिएका छन् । 
यसैगरी पहाडी क्षेत्र जोड्ने वैकल्पिक मार्गका रूपमा रहेको कालीगण्डकी करिडोरसमेत अवरुद्ध भएको छ । गैँडाकोटदेखि बुलिङटार हुँदै डेढगाउँलाई जोडेको कालीगण्डकी करिडोरमा पर्ने फूलमती खोला नजिकै पहिरो खसेको र यस खण्डमा पर्ने खोलामा आएको बाढीका कारण कालीगण्डकी करिडोर पनि अवरुद्ध भएको बुलिङ्टार गाउँपालिका अध्यक्ष दीपेन्द्र सुनारीले जानकारी दिए ।
यातायात सम्पर्क विच्छेद भएपछि दसैँ मान्न घर गएका फर्किन पाएका छैनन् भने गम्भीर बिरामी भएर सदरमुकाम र चितवनसम्म पुग्नुपर्ने बिरामी समस्यामा परेका छन् । पहाडी क्षेत्रलाई जोड्ने सडक अवरुद्ध भएपछि सो क्षेत्रका बासिन्दा सदरमुकाम आउनु परे तनहुँको भिमाद–खैरेनीटार–मुग्लिन–नारायणगढ हुँदै कावासोती आउनुपर्ने बाध्यता भएको छ ।
पहाडी क्षेत्र जोड्ने मुख्य बाटोमा ठाउँठाउँमा पहिरो गएको र बाटोमा पर्ने साना खोलामा समेत बाढी आएपछि गाउँपालिकालाई सदरमुकामसम्म जोड्ने सडक पूर्णरूपमा बन्द हुँदा जनजीवन प्रभावित भएको बौदिकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले बताए । अध्यक्ष ओझाका अनुसार लगातार परेको वर्षाका कारण सडकको पहिरो हटाउन सकिएको छैन भने दैनिक उपभोग्य सामान लैजानसमेत कठिन भएको छ ।

पूर्वी नवलपरासीमा बाढीले ८० घर डुबायो
लगातार वर्षापछि नारायणी नदीमा आएको बाढीले पूर्वी नवलपरासीको गैँडाकोटमा ८० घर डुबाएको छ ।गैँडाकोट नगरपालिका–२ मा रहेको बोटे टोलमा नारायणीको बाढी पस्दा ८० घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी सन्तोष पाठकले बताए । गैँडाकोट–२ का जनप्रतिनिधि र इलाका प्रहरी कार्यालय गैँडाकोटबाट खटिएको प्रहरीको टोलीले डुबान क्षेत्रमा रहेका मानिसलाई चौपाया र सरसामानसहित उद्धार गरेर अक्स्फोर्ड कलेज र महेन्द्र स्मारक आधारभूत विद्यालयमा राखिएको पाठकले बताए ।
लगातार परेको वर्षापछि नारायणी नदीमा आएको बाढीका कारण जिल्लाका गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु र विनयी त्रिवेणीका नारायणी नदी तटीय क्षेत्रका बासिन्दा जोखिममा रहेका छन् । बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई सजग हुन आग्रह गर्दै सुरक्षा निकायलाई तयारीमा राखेको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए । 

केराबारी र १८ किलोको पहिरो हटाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी खुल्यो

पटकपटक खसेको पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका–२९ स्थित केराबारी र अठार किलोमा खसेको पहिरो हटाएर बाटो खुलाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 
केराबारीको पहिरो ५ः५० हटाइएको थियो भने १८ किलोको पहिरो ६ः२० बजे हटाएर बाटो खुलाइएको प्रहरीले जनाएको छ । १८ किलोमा लेदोसहितको पहिरो खसेको थियो । यसअघि आज बिहान ८ः२० बजेको समयमा भरतपुर महानगरपालिका–२९, स्थित सत्रकिलो भन्ने स्थानमा अविरल वर्षाले लेदोसहित पहिरो खसेपछि दुईतर्फी बाटो अवरुद्ध भएको थियो । नारायणगढ मुग्लिन सडकखण्डमा यस वर्षमात्रै दुई दर्जन बढीपटक पहिरो खसेर सडक अवरुद्ध भएको छ ।
 

राजमार्गमा जताततै पहिरो, सिस्नेखोलामा सडक अवरुद्ध

धादिङको पृथ्वीराजमार्ग र त्रिभुवनराजपथको विभिन्न स्थानमा पहिरो र बाढीका कारण राजमार्गमा यातायात साधन सञ्चालनमा समस्या आएको छ ।
त्रिभुवनराजपथअन्तर्गत धुनीबेँसी नगरपालिकाको सिस्नेखोला सुरुङमार्ग क्षेत्रमा लगातारको पहिरो हटाउनसमेत समस्या भएको छ । लगातारको वर्षाले सडकमाथिबाट अनियन्त्रितरूपमा पहिरो झरिरहेको छ । डोजरर स्काभेटर तयारी अवस्थामा राखिए पनि पहिरो हटाउन समस्या आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताए ।
पृथ्वीराजमार्ग क्षेत्रमाथि गाउँमा स्थानीय सरकारले जथाभावी सडक खनेका कारण पहिरो आउने, लेदो बग्ने र काठमाडौँ भित्रिने राजमार्ग अवरुद्ध हुने गरेको छ । तीनदिनदेखिको लगातारको वर्षाका कारण पृथ्वीराजमार्गको आदमघाटमा सडक माथिबाट पहिरो र रुखसमेत आएर राजमार्ग अवरुद्ध भएको छ । सुरक्षाकर्मीले सडकमा आएको पहिरो र रुख हटाएर यातायात सञ्चालन गराएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी श्यामबहादुर खत्रीले बताए ।
गल्छी गाउँपालिका महेशदोभान बैरेनी क्षेत्रमा सडक माथिबाट लेदो आएर सडकमा यातायात अवरुद्ध भएको थियो । गल्छी बजारमा सडक माथिबाट आएको पहिराका कारण सवारीसाधनको राजमार्गमा लामो जाम लागेको थियो । 
डोजरको सहायताले पहिरो पन्छाउने काम भइरहे  पनि लगातारको पहिराले यातायात सञ्चालनमा कठिनाइ आएको छ । धादिङबेँसीबाट उत्तरी नाकामा पर्ने रुबिभ्याली र खनियाबास क्षेत्रसँग आउनेजाने बाटो अवरुद्ध भएको छ ।
ठाउँठाउँमा पहिरो गएपछि यातायातका साधन दुई दिनदेखि चल्न छाडेको छ भने मानिससमेत आवतजावत गर्न कठिनाइ भएको खनियाबासका इमान तामाङले बताए । लगातारको वर्षाले खोला तथा नदीमा बहाव बढेको छ भने पहिरो जाने सम्भावना भएका क्षेत्रमा समेत सतर्क रहन गाउँवासीलाई जिल्ला विपद् व्यवस्थापन समितिले आग्रह गरेको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले सूचना जारी गर्दै जिल्लाका १३ स्थानीय तहलाई विपद् पूर्वतयारीमा रहन र विपद् परेका राहत उद्धारमा लाग्नसमेत आग्रह गरेका छन् । 

गुलरिया–नेपालगञ्ज सडकमा अवतजावत बन्द 

तीन दिनदेखि अविरल परेको पानीले बबई नदीमा आएको बाढीले हुलाकी सडकअन्तर्गत गुलरिया–नेपालगञ्ज–११ को इन्द्रपुरमा बाढी पसेर सडक डुबान हुँदा आवतजावत गर्न कठिनाइ भएको छ ।
पूर्वबाट पश्चिम आवतजावत गर्ने सबै साना ठूला सवारीसाधन र मानिसलाई रोक लगाइएको प्रमुख जिल्ला अधिकारी बन्धु बाँस्तोलाले जानकारी दिए ।
गुलरिया नगरपालिकाको कोठियागाउँ आसपासका क्षेत्रमा बाढीको पानी पस्नेक्रम जारी छ । बबईमा आएको बाढीले इन्द्रपुर, टडुवा आसपासका गाउँ डुबानमा परेका छन् ।

प्रकाशित मिति: शुक्रबार, असोज २१, २०७९  ०६:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार