यात्रुलाई बसपार्कमा सास्ती

सोमबार, असोज १७, २०७९

सुर्खेत ।  कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट पहाडी र हिमाली जिल्लामा जाने यात्रुले हैरानी खेप्नुपरेको छ । सुर्खेत बसपार्कको  काउन्टरमा कार्यरत कर्मचारी र सवारीसाधनका चालकको मनोमानीले यात्रुको बिचल्ली भइरहेको छ । 
दसैँ मनाउन वीरेन्द्रनगरबाट बाहिरिने यात्रुमाथि काउन्टरवाला र चालकले धम्कीपूर्ण व्यवहार गर्ने गरेका छन् । सुर्खेत बसपार्कमा उनीहरूले एउटै सिटको दुईदेखि तीन पटकसम्म टिकट काट्नेदेखि सिट क्षमताभन्दा बढी यात्रु गाडीमा कोच्दै पठाउने गरेका छन् । 
यातायातलाई व्यवस्थित गर्न खटिइएका ट्राफिक प्रहरी र नेपाल प्रहरीले पनि त्यसप्रति वेवास्ता गर्ने गरेको पाइएको छ । टिकटमा तोकिएको समयमा सवारीसाधन नछुट्दा खाना, पानी पनि खान नपाइएको गुनासो यात्रुहरुले गरेका छन् । जुम्लाका दिलबहादुर बुढा आज बिहानै गाडी छुट्ने भनेर बसपार्क आए । तर समयमै गाडी नछुट्दा समस्यामा परे । उनले गाडी छुट्ने डरले अहिलेसम्म  खाना खान पाएको छैनन् । छोरालाई लिएर दसैँ मनाउन गाउँ फर्कन थालेका  उनले टिकट आइतबार नै लिएका छन् । 
“यात्रुको विचल्ली भएको छ”, उनले भने । अघिल्लो दिन नै घर फर्कन टिकट काटेका यात्रुको बसपार्कमा विचल्ली भएको छ । सरोकारवाला निकाय भने बेखबर छ । यात्रुको अत्यधिक चाप र गन्तव्यमा पुग्नुपर्ने बाध्यताका कारण यातायात व्यवस्था सुरक्षित हुन सकेको छैन ।
ट्राफिक नियम अनुसार सिटभन्दा बढी गाडीमा मान्छे नबोक्ने भनिए पनि प्रहरीकै अगाडि सवारीले क्षमता भन्दा दोब्बर मान्छे बोक्दा प्रहरी मुकदर्शक बनेको छ । यात्रुको चाप बढेकाले समस्या भइरहेको यातायात व्यवसायीहरु बताउँछन् । काँक्रेबिहार यातायात प्रालिका अध्यक्ष रमेश सापकोटा यात्रुको चाप बढेकाले समस्या भइरहेको बताउँछन् र 
उनले भने, “दसैँको समयमा यात्रुलाई उभिएर नै भए पनि गन्तव्यमा पु¥याउनुपर्ने बाध्यता छ, जोखिम पनि उत्तिकै छ । प्रदेश ट्राफिक कार्यालयका प्रहरी नायब उपरीक्षक भीम खड्का बसपार्कलाई व्यवस्थित गर्न थप जनशक्ति खटाइने बताउँछन् । 
सिट क्षमताभन्दा बढी यात्रु बोक्नु ट्राफिक नियम विपरीत भएकाले त्यसलाई रोक्न बसपार्कमा कार्यरत प्रहरीलाई निर्देशन दिइएको उनी बताउँछन् । दसैँ सुरु भएसँगै हालसम्म वीरेन्द्रनगरबाट चार लाख बढी नागरिक बाहिरिएको यातायात व्यवसायीले बताएका छन् । दैनिक सरदर छ हजार यात्रु गन्तव्यतर्फ गइरहेका छन् । 
 

प्रकाशित मिति: सोमबार, असोज १७, २०७९  १७:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार