वाम–लोकतान्त्रिक शक्तिको सहकार्य अझै आवश्यकक : महासचिव गुरुङ

आइतबार, असोज १६, २०७९

कास्की । नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले अझै पनि संविधान र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने चिन्तन देखिएकाले वाम–लोकतान्त्रिक शक्तिको सहकार्य आवश्यक रहेको बताएका छन् । 
माओवादी केन्द्रको पोखरा महानगर कमिटीले दसैँ, तिहारलगायत चाडपर्वका अवसरमा आज पोखरामा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा महासचिव गुरुङले विगतका ठूला–ठूला परिर्वतन पनि सहकार्यबाट मात्र सम्भव भएको उल्लेख गरे । 
उनले भने, “दुई–दुईपटक संसद् विघटन, नौ महिना संसद्मा अवरोध गर्ने र  संसद्को जीवन समाप्त गरेर राज्यका संरचनालाई विस्थापन गर्न सकिन्छ भन्ने चिन्तन अहिले पनि देखिएको छ ।” सानो छिद्र पाए पनि संविधान तोडमोड र उल्लङ्घन गर्न सकिन्छ भन्ने चिन्तनका विरुद्ध वाम–लोकतान्त्रिक शक्तिको सहकार्य अझै आवश्यक रहेको गुरुङले स्पष्ट पारे । 
महासचिव गुरुङले नागरिकता विधेयक संसद्बाट पारित भएपछि विधि र प्रक्रियाअनुसार त्यसलाई प्रमाणीकरण गर्नुपर्नेमा त्यो नहुनु विडम्वना भएको बताए  । 
“नागरिकता विधेयकको अन्तरवस्तुमा मतभेद हुनसक्छ । हाम्रो दलको पनि मतभेद थियो तर विधि र प्रक्रियाको पालना गर्नुपर्दछ”, गुरुङले भने, “संसद्ले पारित गरेपछि त्यसलाई प्रमाणीकरण गरेर अगाडि बढाउनुको विकल्प थिएन ।”
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मुलकले प्राप्त गरेको उपलब्धिलाई एक–एक गरी खोस्ने प्रवृत्तिका विरुद्ध गठवन्धन बनेकाले यसलाई सही तरिकाले सफल बनाउनु अहिलेको चुनौती रहेको बताए । उनले भने, “राष्ट्रिय राजनीतिमा आएको परिवर्तन र हासिल भएको उपलब्धिलाई जोगाउन गठबन्धलाई सफल बनाउनुपर्दछ ।”

कार्यक्रममा गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल, भौतिक पूर्वाधार सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्का, विभिन्न राजनीतिक दलका नेता, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, उद्योगी व्यवसायीलगायतको उपस्थिति थियो ।–रासस 
 

प्रकाशित मिति: आइतबार, असोज १६, २०७९  ०५:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार