अध्यक्ष तिमिल्सिनाद्वारा निर्माणाधीन सङ्घीय संसद् भवनको अवलोकन

शुक्रबार, असोज १४, २०७९

काठमाडौँ ।  राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सङ्घीय संसद्को निर्माणाधीन भवनको अवलोकन गरेका छन् । उनले सिंहदरबार परिसरभित्र निर्माणाधीन सङ्घीय संसद्का दुई सदन राष्ट्रियसभा तथा प्रतिनिधिसभाको बैठक कक्षलगायत विभिन्न भवनहरुको शुक्रबार स्थलगत अवलोकन गरेका हुन् । 
निर्माणाधीन भवन अवलोकनका क्रममा अध्यक्ष तिमिल्सिनाले हालसम्मको कार्यप्रगति सन्तोषजनक नरहेको बताउँदै तोकिएको समयमा निर्माण सम्पन्न गर्नका लागि तीन सिफ्टमा काम गराउन निर्देशन दिए ।

अध्यक्ष तिमिल्सिनाद्वारा निर्माणाधीन सङ्घीय संसद् भवनको अवलोकन (फोटोफिचर) «  रिपोर्टर्स नेपाल
उनले आयोजनाको सम्पन्न गर्नुपर्ने समय सकिन लागेको अवस्थामा ६० प्रतिशत भौतिक प्रगति भएकाले गति दिन निर्माण व्यवसायी तथा सम्बन्धित कार्यालयलाई आग्रह गरे । “अहिलेको गतिले बाँकी समयमा यो आयोजना सम्पन्न हुने देखिँदैन”, उनले भने, “केही काम रातिमा गर्न सकिने हुन्छ । एकसाथ गर्न सकिने कामलाई जनशक्ति तथा स्रोतसाधन थप गरेर भए पनि गति दिनतर्फ लाग्नुस् । विसं २०८० असोजसम्म काम सम्पन्न गरेर उद्घाटन गर्नुपर्छ ।” 
अध्यक्ष तिमिल्सिनाले परम्परागत कार्यशैलीले देशका कुनै पनि आयोजनाको काम सम्पन्न नहुने भएकाले नयाँ सोच र गति आवश्यक रहेको बताए । 
विसं २०७६ असोजमा निर्माण सुरु भएको यस आयोजनाको सुरुमा सम्पन्न अवधि तीन वर्ष तोकिएको थियो । हाल कोभिड–१९का कारणले थप गरिएको छ महिनासहित चैत्र मसान्तसम्म म्याद रहेको शहरी विकास तथा भवन डिभिजन विभाग अन्तर्गतको आयोजना समन्वय कार्यालयले जनाएको छ ।

अध्यक्ष तिमिल्सिनाद्वारा निर्माणाधीन सङ्घीय संसद् भवनको अवलोकन (फोटोफिचर) «  रिपोर्टर्स नेपाल
आयोजना कार्यालयका अनुसार यस भवनको ठेक्का सम्झौता रकम रु पाँच अर्ब दुई करोड रहेको छ । कुल एक सय ५१ रोपनी क्षेत्रफलमा फैलिएको सङ्घीय संसद् प्राचीन स्वरूपमा निर्माण भइरहेको छ । निर्माणाधीन भवन अवलोकनअघि शहरी विकास तथा भवन डिभिजन विभागअन्तर्गतको आयोजना समन्वय कार्यालयले अहिलेसम्मको कार्यप्रगतिबारे जानकारी गराएको थियो ।
त्यसैगरी अध्यक्ष तिमिल्सिनाले बिहीबार भैँसेपाटीमा निर्माणाधीन राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधिसभाका उपसभामुख, सङ्घीय मन्त्री तथा प्रदेश मुख्यमन्त्री निवासको समेत अवलोकन गरी कामलाई गति दिन अनुरोध गरेका थिए । 

प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७९  २१:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार