विपद् जोखिमबारे अन्तरराष्ट्रिय मञ्चमा आवाज उठाउनुपर्ने

शुक्रबार, असोज १४, २०७९

काठमाडौँ । अन्तरराष्ट्रिय मञ्चमा नेपालको विपद् जोखिमबारेमा एकीकृतरुपमा आवाज उठाउनुपर्नेमा जोड दिइएको छ । अष्ट्रेलियामा गत असोज ३ देखि ६ गतेसम्म आयोजना भएको प्रकोप जोखिम न्यूनिकरणका लागि एशिया–प्रशान्त मन्त्रीस्तरीय सम्मेलनमा नेपालको सहभागिता तथा सम्मेलनको मुख्य सन्देशबारे आज राजधानीमा भएको समीक्षा बैठकमा सहभागिले उक्त विषयमा जोड दिएका हुन् । 
विपद् जोखिम न्यूनीकरण राष्ट्रिय कार्यमञ्चको आयोजनामा भएको समीक्षात्मक छलफलमा सहभागीले सम्मेलनपूर्व गरिएका बैठक तथा छलफलको परिणामस्वरुप सम्मेलनमा नेपालको सहभागिता उत्साहजनक र प्रभावकारी रहेको उल्लेख गरे । 
सम्मेलनबाट एसिया प्रशान्त क्षेत्रमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका सन्दर्भको जानकारी लिन तथा आगामी बाटो तय गर्न ठूलो सहयोग मिलेको र आगामी दिनमा यस्ता मञ्चमा नेपालका सफल अभ्यासलाई व्यवस्थितरुपमा लैजानु पर्ने सहभागीको धारणा थियो ।
कार्यमञ्चका अध्यक्ष एवं राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले सम्मेलन आयोजनाका क्रममा अस्ट्रेलियाले रैथाने समुदाय तथा तिनको ज्ञानलाई असाध्यै महत्व दिएको दृष्टान्त राखे ।
 उनले विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनमा स्थानीय तहको सहभागिता अनुकरणीय रहेको बताए ।
पोखरेलले अस्ट्रेलियाका विपद् सम्बन्धी अधिकारीसँगको भेटका क्रममा उनीहरुले आगलागी, वन डढेलो र बाढी नियन्त्रणमा गरेका अनुभव तथा सहयोग नेपालमा ल्याउने विषयमा छलफल भएको बताए । गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालाले सम्मेलनको आधिकारिक घोषणापत्रमा नेपालले उठाएका विषयवस्तु समावेश भएको जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७९  २१:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार