काँग्रेसको घोषणापत्र तयार हुँदै

बुधबार, असोज १२, २०७९

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुुने निर्वाचनका लागि काँग्रेसले गठन गरेको घोषणापत्र तयार समितिले विभिन्न निकायसँग चरणवद्ध छलफल गरेको छ ।
समितिले विभिन्न बैठक सम्पन्न गरी शुभचिन्तकहरुबाट फेसबुक, ह्वाट्सएप, क्युआर कोड, म्यासेन्जर, इमेल, ट्विटर, इमोजस्ता सामाजिक सञ्जाल र डिजिटल प्रविधिमार्फत घोषणापत्रमा सुझाव लिइरहेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बताए । घोषणापत्र बनाउने काम सुरु भइरहेको छ ।
उनले निर्वाचन आयोगले यसपटक जारी गरेको आचारसंहिता अव्यावहारिक भएको गुनासो सर्वत्र व्याप्त रहेको उल्लेख गर्र्दै भने, “गठबन्धनका दलहरुसहित प्रतिपक्षी दलले समेत प्रधानमन्त्री र मन्त्रीहरुले प्रचारमा जान नपाउने प्रावधान व्यावहारिक भएन भनिरहेका छन् । प्रधानमन्त्री देशको कार्यकारी प्रमुख भएकाले उहाँको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर उहाँका दैनिक भ्रमण हुने गर्दछन् ।”

प्रधानमन्त्री कांग्रेसको सभापति पनि भएको बताउँदै प्रवक्ता डा महतले भने, “मन्त्रीहरु पनि पार्टीको महत्वपूर्ण जिम्मेवारीमा हुनुभएको हुँदा आफ्नो पार्टीका पक्षमा जनमत बनाउन हिँड्न नपाउने भन्ने कुरा व्यावहारिक छैन । निर्वाचन आयोगले अन्तर्राष्ट्रिय अभ्यासहरुलाई समेत हेरेर यसलाई लचिलो बनाउने हामीले विश्वास लिएका छौँ ।”

नागरिकता विधेयक प्रमाणीकरण नहुँदा संवैधानिक सर्वोच्चतामा प्रहार

संसद्को दुवै सदनबाट दुई–दुईपटक पारित भएको नागरिकता विधेयक संविधानमा उल्लिखित समयावधिमा प्रमाणीकरण नगरेर राष्ट्रपतिबाट संविधानको उल्लङ्घन भएको कांग्रेसको आरोप छ । राष्ट्रपतिको यो कदमबाट नागरिकता प्राप्त गरिसकेका नेपाली आमाबाबुका सन्तान नेपाली नागरिकता प्राप्त गर्ने संवैधानिक हकबाट वञ्चित भएको उनले बताए । अर्कोतिर संविधानसभाबाट निर्मित संविधानले व्यवस्था गरेको जनतामा निहित सार्वभौमसत्ता, संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक शासन व्यवस्थाका आधारभूत मूल्य मान्यतामा गम्भीर प्रहार भएको उनको ठम्याइ छ ।
उनले आ–आफनो क्षेत्रमा कांग्रेसका उम्मेदवारलाई अत्यधिक बहुमतले जिताउन र समानुपातिकमा सकेसम्म बढी मतदान गराउन नेता कार्यकर्तालाई आग्रह गरे ।

प्रचारप्रसार समिति संयोजकमा डा महत

नेपाली कांग्रेसको ‘प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन–२०७९, केन्द्रीय प्रचार–प्रसार समिति’को संयोजकमा पार्टीका केन्द्रीय सदस्य एवं प्रवक्ता डा प्रकाशशरण महत मनोनित भएका छन् ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी विधानबमोजिम उहाँलाई आज समितिको संयोजकमा मनोनयन गर्नुभएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

 

प्रकाशित मिति: बुधबार, असोज १२, २०७९  ०५:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार