समानुपातिक बन्दसूचीमा भएका त्रुटिहरु परिमार्जन गरिनेछ : कांग्रेस

मंगलबार, असोज ११, २०७९

काठमाडौं ।  नेपाली कांग्रेसले समानुपातिकको बन्दसूचीमा भएका त्रुटिलाई परिमार्जन गर्ने जनाएको छ । 

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले निर्वाचन आयोगले दिएको समावधिभित्र समानुपातिक तर्फका उम्मेदवारको बन्दसूचीको त्रुटि सच्याउने बताएका हुन् । 

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची गत २ र ३ असोजमा कांग्रेससहितका दलहरुले निर्वाचन आयोगमा बुझाएका छन् । उक्त सूचीमा भएका त्रुटि सच्याउन आयोगले १६ असोजसम्म समय दिएको छ । 

उक्त समयभित्र सच्याउने प्रवक्ता महतले बताए । ‘निर्वाचन आयोगमा प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिक तर्फका उम्मेद्वारहरुको बन्दसूची पेस गर्ने कार्य सम्पन्न गरिसकेको छ । समानुपातिक बन्द सूचीमा भएका त्रुटिहरु परिमार्जन निर्वाचन आयोगले दिएको समयसीमा भित्र गरिनेछ,’ पत्रकार सम्मेलनमा वितरण गरिएको विज्ञप्तिमा उल्लेख छ । 

निर्वाचनमा क्रियाशील हुन निर्देशन 

कांग्रेसले आफ्ना नेता तथा कार्यकर्तालाई आफ्नो पार्टीलाई जिताउने गरी निर्वाचनमा खटिन निर्देशन दिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कांग्रेसलाई जिताउने गरी खटिने निर्देशन दिइएको हो । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता महतले पार्टीको सबै तहका नेता तथा कार्यकर्तालाई निर्वाचनमा पार्टीलाई जिताउने गरी क्रियाशील हुन निर्देशन दिएको जानकारी दिए । 

‘आ-आफ्नो गृह जिल्ला पुगी बडादशैँ हर्षोल्लासपूर्वक मनाउन र आआफ्ना क्षेत्रमा नेपाली कांग्रेसका पक्षमा जनमत सिर्जना गर्न आवश्यक कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्न पार्टीले निर्देशन दिएको छ । पार्टीले सबै तहका नेता तथा कार्यकर्तालाई निर्वाचनको मुखमा पार्टीको निणर्यअनुसार निर्वाचनमा पार्टीलाई जिताउन सम्पूर्ण रुपमा क्रियाशिल हुनुहुन निर्देशन गरेको छ,’ उनले भने । 

प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९  १७:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार