सिट बाँडफाँट टुङग्याउन सत्ता गठबन्धनका नेताहरु बालुवाटारमा 

मंगलबार, असोज ११, २०७९

काठमाडौं । मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार मनोनयनको दिन नजिकिँदै गएपछि दलहरू उम्मेदवारी टुङग्याउने विषयमा छलफललाई तीब्रता दिन थालेका छन् । सत्ता गठबन्धनले आपसी सहमतिमा उम्मेदवार तय गर्ने विषयमा लामो समयदेखि छलफल थालेपनि ठोस निर्णय गरिसकेका छैनन् । गठबन्धन भित्र रहेका दलहरूले आआफ्ना मागहरुका विषयलाई उठाएपछि सिट बाँडफाँटको विषय पेचिलो बन्दैगएको छ । गठबन्धन दलका नेताहरुले सिट बाँडफाँटमा सहमतिको नजिक पुगेको दाबी गर्दै आए पनि फरक फरक कोणका सूचना बाहिर आइरहेका छन् । यस्तैमा सिट बाँडफाँटलाई टुङग्याउन सत्ता गठबन्धनका नेताहरु मंगलबार बालुवाटारमा जुटेका छन् । 
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रदेश सभाको सिट बाँडफाँटका लागि छलफल भइरहेको छ ।  फुलपातीका दिन अर्थात असोज १६ गतेभित्र सिट बाँडफाँट टुंगो लगाइसक्ने दाबी सत्ता गठबन्धनका नेताहरुले गरेका छन् ।
गत साउन २० गते बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गर्ने निर्णय गर्दै सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेका थिए । कार्यदललाई कुन दलले कुन–कुन क्षेत्रको कति सिट लिने भनेर साउन अन्तिम सातासम्म सिफारिस गर्न भनिए पनि अझैसम्म टुंगो लाग्न सकेको छैन ।
नेताहरुका अनुसार प्रतिनिधि सभातर्फको सिट बाँडफाँटको विषय लगभग टुंगो लागिसकेको बताइ पनि कसको भागमा कुन क्षेत्र र कति सिट भने सार्वजनिक गरिएको छैन । त्यसैले आइतबारदेखि कार्यदलमा प्रदेश सभाको सिट बाँडफाँटबारे छलफल हुँदै आएको छ ।
कार्यदलमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् भने माओवादी केन्द्रबाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन छन् ।
यस्तै, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९  १४:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार