एसईईमा ४ जिपिए ल्याउने विद्यार्थीलाई ललितपुर महानगरको सम्मान 

बिहीबार, भदौ २३, २०७९

ललितपुर । ललितपुर महानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (इसईई) मा स्तरीय अङ्क प्राप्त गर्ने विद्यार्थीलाई सम्मान गरेको छ । महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विद्यार्थी तथा विद्यालयलाई सम्मान गरेका हुन् । 
कार्यक्रममा ललितपुर महानगरपालिका भित्र सर्बोत्कृष्ट अङ्क सहित ४ जिपीए प्राप्त गर्न सफल त्रि–पद्य विद्याश्रम माध्यामिक विद्यालयका छात्रा सुजाता ठाकुर तथा सेन्ट मेरिज स्कुलकी छात्रा सम्वृद्धि मैनाली एवं जेम्स स्कुलकी छात्रा उन्नती निरौला र छात्र आशिष श्रेष्ठलाई जनही नगद एक लाख रुपैयाँ सहित सम्मान पत्र प्रदान गरिएको छ । 
यसैगरी उक्त कार्यक्रममा महानगरपालिकाले स्तरीय अङ्क सहित सो जिपीए प्राप्त गर्न सफल भएका विद्यालयका प्रधानाध्यापकहरुलाई समेत प्रशंसा पत्र सहित प्रत्येक विद्यालय दुई लाख रुपैयाँको चेक प्रदान गरिएको छ । 
ललितपुर महानगरपालिकाले बिहीबार २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसइइ)मा स्तरीकृत अंकमा (जिपिए) ४ प्राप्त गर्ने विद्यार्थीलाई शैक्षिक सम्मान कार्यक्रम आयोजना गरी सम्मान गरेको हो । 
कार्यक्रममा महानगर पालिकाकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले ४ जिपिए ल्याउने विद्यार्थीका अभिभावकलाई खादा ओढाएर सम्मान गरेकी थिइन् । 
कार्यक्रममा महानगर प्रमुख चिरीबाबु महर्जनले ४ जिपिए ल्याउने विद्यार्थीलाई सम्मान गर्न पाएको आफूलाई अत्यन्तै खुशी लागेको बताए ।
‘अस्ति मैलै चुनाव जित्दा पनि यति खुशी भएको थिइन’ कार्यक्रममा महानगरप्रमुख मजर्हनले भने,‘मुलुकका ७५३ वटा पालिकाका ४२ जना विद्यार्थीले ४ जिपिए ल्याएका छन । ललितपुर महानगरपालिका भित्रका ४ जना विद्यार्थीले अंक हासिल गर्नु भयो । यो भन्दा ठूलो खुशी म आफू चुनाव जित्दा पनि भएको थिइन ।’
कार्यक्रममा महानगर प्रमुख महर्जनले भने, “अगामि वर्ष पनि यस सम्मानलाई हामी निरन्तरता दिँदै पुरस्कार राशी भने बढाउँदै लाने भएका र्छां ।”
प्रमुख महर्जनले आफू विद्यार्थी हुँदा सदैव उत्कृष्ठ नतिजा सहित उतिर्ण हुने गरेको जानकारी गराउँदै शिक्षामा अब्बल व्यक्तिको सदैव महानगरपालिकाले उच्च कदर गर्ने बताए ।  
त्यसैगरी उपप्रमुख बज्राचार्यले सो किसिमको नतिजा हासिल गर्न मात्रै विद्यार्थीको मेहेनत नभएर अभिभावक तथा विद्यालयको समेत विशेष भूमिका रहने बताउँदै सदैव सो विद्यालयहरुले उक्त तवरको उत्कृष्ठता हासिल गर्ने अपेच्छा बोकेको सुनाइन् । 
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक प्रजिअ हरिप्रसाद पन्त, लपु महानगरपालिका केही वडाध्यक्ष सहित विद्यार्थीका अभिभावक एवं शिक्षक लगाएतका केही व्यक्तिको उपस्थिती रहेको थियो । 

यसैबीच ‘साक्षरता सिकाइ क्षेत्रमा रुपान्तरण’ भन्ने आदर्श वाक्यका साथ आज नेपालमा पनि ५६ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइएको छ ।  संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले सन् १९६७ देखि आठ सेप्टेम्बरका दिन विश्वभर यो दिवस मनाउन थालेको हो । 
सरकारले एक दशकअघि ‘साक्षर नेपाल अभियान’ कार्यक्रम सुरु गरे पनि अझै मधेस प्रदेशका आठसहित १६ जिल्ला पूर्ण साक्षर घोषणा हुन बाँकी छन् । आर्थिक वर्ष २०७५÷७६ को बजेट र कार्यक्रममा दुई वर्षभित्र नेपाललाई पूर्ण साक्षर घोषणा गर्ने कार्यक्रम राखिएको थियो । पछिल्लो समयमा साक्षर जिल्ला घोषणाको क्रम बढेको छ ।
हालसम्म ६१ जिल्ला साक्षर घोषणा भइसकेको छ भने मधेस प्रदेशका सबै जिल्ला (सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा), लुम्बिनी प्रदेशको कपिलवस्तु, कर्णाली प्रदेशको मुगु, जुम्ला, हुम्ला,  कालीकोट, डोल्पा, सुदूरपश्चिम प्रदेशको कञ्चनपुर र डोटी साक्षर जिल्ला घोषणा हुन बाँकी छन् । 
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार एक सय ७६ स्थानीय तह साक्षर घोषणा हुन बाँकी छन् । 
हाल नेपालमा छ वर्षभन्दा माथिको साक्षरता दर ७८ प्रतिशत, १५ देखि २४ वर्ष उमेर समूहको ९२ प्रतिशत, १५ वर्षमाथिको ५८ प्रतिशत र १५ देखि ६० वर्ष उमेर समूहको साक्षरदता दर ८५ रहेको छ । प्रतिशतका हिसाबले साक्षरता दर सुधारोन्मुख भने देखिएको छ । विसं २००४ मा नेपालको साक्षरता दुई प्रतिशत थियो ।
हाल नेपालमा ३५ हजार छ सय ७४ विद्यालय रहेकामा २७ हजार आठ सय १२ सामुदायिक, छ हजार सात सय ३२ निजी (संस्थागत), एक हजार एक सय ३० परम्परागत विद्यालय छन् । यस्तै दुई हजार एक सय ५१ सामुदायिक सिकाइ केन्द्र, एक सय २१ खुला विद्यालय, औपचारिक प्रौढ विद्यालय एक सय ७१ रहेका छन् ।
नेपालमा विसं २००४ देखि साक्षरता अभियान सुरु भएको हो ।
एकपटक साक्षरता कार्यक्रममा सहभागी भएका व्यक्तिलाई पुनः साक्षरताको कक्षामा समावेश नगर्ने गरी सघन सक्षारता कार्यक्रम सुरु गर्न सरकारले विसं २०६९ मङ्सिर १४ मा साक्षर नेपाल अभियान (२०६९–२०७२) को अवधारणापत्र स्वीकृत गरी राजनीतिक दलहरूको पनि सहयोग लिने गरी कार्यान्वयनमा ल्याएको थियो । 
सो अवधारणापत्रमा वृद्धभत्ताजस्ता सरकारी सुविधा पाउनका लागि साक्षर हुनैपर्ने व्यवस्थाका लागि सुझाव दिइएको छ । ‘साक्षरता र जीवनपर्यन्त शिक्षाले १५ वर्ष उमेरमाथिका सबै युवा र प्रौढको जीवनपर्यन्त सिकाइका लागि आधार प्रदान गराउने’ भन्ने लक्ष्यसहित सो कार्यक्रम सुरु गरिएको थियो । विसं २०७१ असार २ गते सिन्धुपाल्चोक जिल्ला पहिलो र असार ८ गते ललितपुर पूर्ण साक्षर जिल्ला घोषणाको भएपछि साक्षर जिल्ला घोषणाको क्रम थालनी भएको हो ।  
 

प्रकाशित मिति: बिहीबार, भदौ २३, २०७९  १८:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार