सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । थप एक हजार २८१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ८५ हजार ९०० पुगेको छ । थप सात हजार एक जनाको पिसिआर परीक्षण गर्ने क्रममा एक हजार २८१ जनामा तथा ५४७ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । हालसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या २३ लाख ५२ हजार ५०२ जना पुगेको छ । हाल ८१ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । सङ्क्रमितमध्ये काठमाडौँ उपत्यकाका ६३४ जना रहेका छन् । काठमाडौँ ५०५, ललितपुर ९७ तथा भक्तपुरमा ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हालसम्म दुई लाख ७५ हजार ५५५ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर २५५ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर चार हजार ५६ सक्रिय सङ्क्रमित रहेका छन् । हाल सात हजार २५४ सङ्क्रमित होम आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो समय आठ सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजार ९१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
स्टाफ नर्ससहित दुईको मृत्यु
बाँकेमा आज कोरोना सङ्क्रमणबाट स्टाफ नर्ससहित दुई जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत दाङ तुलसीपुर निवासी २० वर्षीय स्टाफ नर्सको आज बिहान ११ बजेतिर उपचारकै क्रममा मृत्यु भएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश थापाले जानकारी दिए । छ दिनदेखि भेरी अस्पतालमा उपचार गराइरहेकीस्टाफ नर्सको मृत्यु भएको हो । मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत थिइन् । यसैगरी बाँकेमा होमआइसोलेशनमा रहेका कोहलपुर नगरपालिका–१४ का ७५ वर्षीय सङ्क्रमित पुरुषको आज बिहान मृत्यु भएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज ओलीले जानकारी दिए । आइतबार कोरोना सङ्क्रमण पुष्टि भएका दीर्घरोगीका बिरामीलाई परिवारकै आग्रहमा होम आइसोलेशनमा राखिएको अवस्थामा आज बिहान करीब १ बजे मृत्यु भएको थियो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ६१ पुगेको छ ।