विश्वविद्यालयलाई प्राज्ञिक थलोका रुपमा कायम राख्न माग

आइतबार, भदौ १९, २०७९

काठमाडौँ,  ।  प्रतिनिधिसभाको आजको बैठकमा विश्वविद्यालय राजनीतिकरणबाट आक्रान्त भएकाले त्यस्तो अवस्थामा सुधार गर्न माग गरिएको छ ।  बैठकमा समय लिएर नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले २०४८ सालदेखि त्रिभुवन विश्वविद्यालयमा भागबण्डाका आधारमा पदाधिकारी चयन गर्ने परम्परा थालनी भएको र यो क्रम नरोकिएकामा चिन्ता व्यक्त गरे  । नेता प्रधानले विद्यार्थी र पदाधिकारीबीच द्वन्द्व बढेको तथा विद्यार्थीले प्रश्न उठाउँदा मुद्दा लाग्ने अवस्था आएको पनि बताए  । उनले राजनीतिक पूर्वाग्रह राख्ने पदाधिकारी नियुक्त गर्दा यसको साख गिर्दो भएकाले यस प्रकारको समस्या समाधान गरी विश्वविद्यालयलाई प्राज्ञिक थलोका रुपमा कायम राख्न आग्रह गरे  ।  नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाल नागरिकता विधेयकबारे राष्ट्रपतिबाट प्राप्त सुझावसहितको सन्देशलाई ग्रहण नगरिएकामा आपत्ति जनाए  । उनले निर्वाचनको मिति घोषणा भइसकेपछि संसद्को बैठक चलाउनु नैतिकरुपमा उचित नहुने पनि धारणा राखे  ।  रासस 

प्रकाशित मिति: आइतबार, भदौ १९, २०७९  १५:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार