सोसल मिडिया
Contact Us
युनिकोड
सिजाङ । चीनले दक्षिणपश्चिमी चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको ७.० म्याग्निच्युडको भूकम्पपछि आपत्कालीन विपद् राहतका लागि ५ करोड युआन (करिब ७५ लाख अमेरिकी डलर) विनियोजन गरेको छ । साथै, पुनःस्थापनाका प्रयासका लागि थप तीन करोड युआन छुट्याइएको छ । बिहीबार राति १०ः३३ बजे नाग्छु सहरको बाकेन काउन्टीमा भूकम्प गएको थियो। भूकम्पमा परी १६ जनाको मृत्यु भएको छ भने ६५ जना घाइते भएका छन् । चीनको अर्थ मन्त्रालय र आपत्कालीन व्यवस्थापन मन्त्रालयले संयुक्त रूपमा ५ करोड युआन विनियोजन गरेका छन्। उक्त रकम उद्धार कार्य सञ्चालन गर्न तथा प्रभावित बासिन्दालाई सहायता उपलब्ध गराउन प्रयोग गरिनेछ । यसैबीच, राष्ट्रिय विकास तथा सुधार आयोगले क्षतिग्रस्त पूर्वाधार र सार्वजनिक सेवा सुविधाहरूको पुनःस्थापनाका लागि केन्द्रीय बजेटबाट थप ३ करोड युआन छुट्याएको छ । चीनले राष्ट्रिय भूकम्प आपत्कालीन प्रतिकार्यको स्तर पनि चौथो तहबाट बढाएर तेस्रो तहमा पुर्याएको छ । साथै, राष्ट्रिय प्राकृतिक विपद् राहतसम्बन्धी छुट्टै चौथो तहको प्रतिकार्य पनि सक्रिय बनाइएको छ । चीनको राष्ट्रिय अग्नि तथा उद्धार बलले उद्धार कार्यका लागि ३५० जना उद्धारकर्मी र ८३ वटा सवारीसाधन घटनास्थलतर्फ पठाएको छ । आपत्कालीन व्यवस्थापन मन्त्रालयले सिजाङको आपत्कालीन व्यवस्थापन विभागसँग समन्वय गर्दै विपद्बाट प्रभावित क्षेत्रमा क्षतिको अवस्था निरीक्षण गर्न ‘विङ लुङ’ ड्रोन परिचालनको व्यवस्था मिलाएको छ । विपद्पछि सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये मारु र गाङ्छे सहरबाट घाइते बासिन्दाहरूलाई उपचारका लागि भूकम्पको केन्द्रबिन्दुबाट करिब ५० किलोमिटर टाढा रहेको छिमेकी सोग काउन्टीको जनअस्पतालमा स्थानान्तरण गरिएको छ । प्रभावित जनसङ्ख्याका लागि प्रमुख चिकित्सा केन्द्रका रूपमा तोकिएको उक्त अस्पतालले घाइतेहरूको उपचार गर्नुका साथै तातो खाना र आधारभूत आवश्यकताका सामग्रीसमेत उपलब्ध गराइरहेको छ । भूकम्पपछि सरकारी ऊर्जा कम्पनीहरूले स्थानीय इन्धन भर्ने केन्द्रहरूमा सुरक्षा जाँच सुरु गरेका छन् । जाँचका क्रममा कुनै ठूलो सुरक्षा जोखिम वा ग्यास चुहावट नभेटिएको जनाइएको छ । शुक्रबार बिहान ७ बजेसम्म चाइना नेसनल पेट्रोलियम कर्पोरेसनले बाकेन र सोग काउन्टीमा २३१ टन इन्धन बोकेका १२ वटा ट्याङ्कर पठाइसकेको थियो । त्यस्तै, सिनोपेकले विपद् प्रभावित क्षेत्रतर्फ जाने प्रमुख मार्गमा रहेका इन्धन केन्द्रहरूमा आपत्कालीन सेवा सञ्चालन गरेको छ । सोग काउन्टी र बिरु काउन्टीलाई जोड्ने राष्ट्रिय राजमार्ग ३१७ को एउटा महत्त्वपूर्ण उद्धार मार्ग पहिरोका कारण अवरुद्ध भएको थियो। पहिरोले थुपारेका ढुङ्गाहरू हटाएपछि शुक्रबार बिहान ३ बजे उक्त सडक पुनः यातायातका लागि खुला गरिएको छ । यसैबीच, अस्थायी रूपमा सेवा रोकिएका छिङहाई–सिजाङ रेलमार्गका प्रभावित खण्डहरूमा यात्रुवाहक रेल सेवा पुनः सञ्चालनमा आएको छ। यद्यपि, सुरक्षालाई ध्यानमा राख्दै रेलहरूलाई गति सीमित गरेर सञ्चालन गरिएको छ।-सीसीटीभी प्लस