सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपालीहरूको महान् चाड बडादशैँ समापनको संघारमा पुगेसँगै गृहजिल्ला तथा गाउँघर पुगेर टीका(आशीर्वाद ग्रहण गरेका सर्वसाधारणहरू आफ्नो नियमित कर्मथलो काठमाडौँ उपत्यका फर्किन थालेका छन् । दशैँको सार्वजनिक बिदा सकिन लागेकाले काठमाडौँ भित्रिने प्रमुख नाकाहरू कलंकी, कोटेश्वर, बालाजु तथा जगातीतर्फ यात्रुवाहक सवारीसाधन र यात्रुहरूको उल्लेख्य चाप देखिएको हो । दशैँको मुख्य दिन विजयादशमी तथा त्यसपछिका दिनहरूमा मान्यजनको हातबाट टीका र जमरा लगाएर आशीर्वाद लिने क्रम जारी रहेकै बेला आइतबारदेखि सरकारी तथा गैरसरकारी कार्यालय, शैक्षिक संस्था र व्यापार व्यवसाय क्रमशः खुल्न थाल्ने भएकाले राजधानी फर्किनेहरूको ताँती लागेको हो । विशेषगरी लामो दूरीबाट उपत्यका भित्रिने बस, माइक्रोबस र निजी सवारीसाधनहरूको बाक्लो आगमनले नाकाहरू व्यस्त बनेका छन् । राजधानी भित्रिने प्रमुख पश्चिमी नाका कलंकी(नागढुंगा खण्ड तथा पूर्वी नाका भक्तपुरको जगाती हुँदै कोटेश्वरतर्फ आउने सडकहरूमा सवारीसाधनको लामो लाम लागेको छ । यात्रुहरूको चाप बढेसँगै उपत्यका ट्राफिक प्रहरी कार्यालयले नाकाहरूमा अतिरिक्त जनशक्ति परिचालन गरी ट्राफिक व्यवस्थापनलाई तिब्र बनाएको जनाएको छ । सवारी आवागमन सहज बनाउन तथा सम्भावित दुर्घटना न्यूनीकरण गर्न जाँच प्रक्रियालाई समेत कडा पारिएको छ । लामो बिदा मनाएर काठमाडौं फर्किने यात्रुहरूले कतिपय स्थानमा भाडादरमा भएको अनियमितता र सडक जामको समस्या भोग्नुपरेको गुनासो गरेका छन् । यद्यपि, ट्राफिक प्रहरीले तोकिएको भन्दा बढी भाडा असुल्ने सवारीसाधनमाथि निगरानी बढाइएको र यात्रु सहायता कक्षहरूलाई सक्रिय राखिएको स्पष्ट पारेको छ । दशैँको अवसरमा काठमाडौँ उपत्यकाबाट करिव १५ लाखभन्दा बढी नागरिक बाहिरिएको अनुमान गरिएको थियो । कोजाग्रत पूर्णिमासम्म दशैँको टीका लगाउने परम्परा रहे पनि नियमित कामकाजमा फर्किनुपर्ने बाध्यताका कारण आगामी दुई(तीन दिनसम्म उपत्यका भित्रिने नाकाहरूमा यात्रु र सवारीको चाप अझै उच्च रहने अनुमान गरिएको छ ।