विषादीले दुर्गन्ध फैलियो

बिहीबार, भदौ १६, २०७९

सर्लाही,।  सर्लाहीको चन्द्रनगर गाउँपालिका–६ स्थित नाढीमन ताल वरपर  पानी सफा गर्ने क्रममा हालिएको विषादीले दुर्गन्ध फैलिएको छ ।  यसले स्थानीयवासीको स्वास्थ्यलाई  समस्या समेत परेको जनाइएको छ ।    पानी फोहर भएको जनाउँदै  माछा ठेकेदार दुलार मुखियालले करिब १० दिनअघि त्यस क्षेत्रमा विषादी छर्केका थिए । यसपछि ताल वरपर निकै दुर्गन्ध फैलिएको स्थानीय कपिल कापरले गुनासो गरे  । दुर्गन्धका कारण स्थानीयमा वान्ता भइरहने र टाउको दुख्नेजस्ता स्वास्थ्य समस्या देखापरेको उनको भनाइ छ ।  
सो गाउँपालिकाले नाढीमन तालमा माछापालनका लागि ठेकेदारलाई रु छ करोड २९ लाखमा पाँच वर्षका लागि ठेक्का दिएको छ । सो ठेक्काको अवधि आगामी वैशाख दोस्रो साता सकिने जनाइएको छ । पानी फोहर भएपछि सफा गर्नका लागि विषादी हालेको ठेकेदार मुखियाले बताए  । जनकपुरलगायतका स्थानमा पनि यसरी पानी सफा गर्न विषादी हाल्ने गरिएकाले विषादी प्रयोग गरिएको उनले जनाए  । गाउँपालिकाले तालमा डुंगा चलाउँदा माछा मर्ने गरेको, छेउछाउमा मदिरा खाएर बोतल जथाभावी फाल्दा माछा मार्ने गरेको  बाढी आएर माछा बगाउने गरेको र  कहिलेकाहीँ माछा नै चोरी हुने गरेकोजस्ता उनले दुःखेसो  गरे ।  दिनप्रतिदिन विषादीको गन्ध विस्तारै कम हुँदै गएको उनले बताए  । बाउन्न बिघा क्षेत्रफलमा फैलिएको नाढीमन ताल दिनप्रतिदिन अतिक्रमणको चपेटामा परेको छ भने प्राकृतिक ताल दिनप्रतिदिन मानवीय हस्तक्षेपको चपेटामा परिरहेको छ । रासस   

प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७९  १३:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार