कहिल्यै सुधार नहुने विचरा जाजरकोट सदरमुकाम 

बुधबार, भदौ १५, २०७९

 सुर्खेत, । भिरालो जमिनमाथि घर र वस्तीट । त्यही जमिनमा जबर्जस्ती टाँसेर निर्माण गरिएका सडक । सवारीसाधन पार्किङका लागि ठाउँ नहुँदा सडक नै दुर्घटनाकाे प्रमुख कारण बनिरहेकाे छ । याे दृश्य जाजरकोट सदरमुकाम अर्थात भेरी नगरपालिका–४ शान्तिचौतारादेखि वडा नम्बर ३ को तल्लो थाप्लेसम्मको हो । यही भु-भागभित्र जिल्लाका सबै सरकारी कार्यालय छन् । 

स्थानीय सरकारको रुपमा रहेको भेरी नगरपालिका जानेआउने बाटो समेत यहीँ छ । जाजरकोट–डोल्पा खण्डको एक भाग (भेरी करिडोर)समेत यहीँ पर्छ । राति पानी पर्न थालेपछि यहाँका स्थानीयवासीले ज्यान जोगाउन घर नै छोड्नुपर्ने बाध्यता छ । बढ्दो मानवीय क्रियाकलापले आफैँलाई धराप पर्नेगरी दैनिक काम हुँदा सदरमुकामको अस्तित्व बिस्तारै लोभ हुने अवस्थामा पुगेको सरोकारवालाहरूको प्रतिक्रिया छ । 

प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री सत्या पहाडीले केही दिन अगाडि प्रतिनिधिसभा बैठकमा जाजरकोट सदरमुकाम पहिरोको जोखिममा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी थिइन् । जिल्लाको पुरानो बजार क्षेत्र रहेको ठाँटीबजार नजिकै होटल तथा स्थानीयवासीले फोहोर पानी जथाभावी खसाल्दा पुरै जमिन भाँसिएको छ । यही ठाउँमा पटक पटक मर्मतका नाममा करोडौँ  खर्च थए पनि जोखिम न्यूनिकरणको भरपर्दो काम अझै हुन सकेको छैन । सदरमुकामका अधिकांश ठाउँमा सामुदायिक तथा सरकारी जमिन समेत कब्जा गरेर घर टहरा निर्माण गरी अस्थायी बस्ती बसाउने कामले पनि तीव्रता पाएकाे छ । 

भेरी नगरपालिकाले सडकको छेउछाउदेखि अन्य अधिकार क्षेत्रभित्र रहेको कुनै विकास निर्माणमा ध्यान नदिँदा सदरमुकामको भविष्य अन्धकार बन्दै गएको छ । दरमुकामको भारवहन क्षमताभन्दा पनि बढी मानवीय क्रियाकलाप हुँदा अस्तित्व नै संकटमा पर्ने उद्योग बाणिज्य संघ, जाजरकोटका अध्यक्ष कर्णबहादुर खत्रीले बताए । निजीस्तरबाट सञ्चालनमा रहेका बैंकहरूका अगाडि यातायातका साधनहरू पार्किङ गरी टिकट काट्ने स्थल बनाइएकाे छ । 

भेरी नगरपालिकाकाे आँखै अगाडि बेथितिका चाङ देखिए पनि नदेखेझै गरेर रमिते बनेकाे भेरी–१ का वीरबहादुर बस्नेतले बताए । जिल्ला नापी कार्यालयले दिएको जानकारी अनुसार २१० वटा घर मात्र यहाँ दर्तावाल जमिनमा निर्माण भएका छन् ।दलका नेताहरूले सरकारी तथा सामुदायिक वनको जग्गा मिचेर ठुलाठुला घर निर्माण गरेकाे नापी कार्यालयको तथ्यांकमा उल्लेख छ । घर निर्माणकाे कुनै मापदण्ड नहुँदा आफूले खनेको खालडमा आफै पुरिने सम्भाववना बढेको सरोकारवालाहरूको बुझाइ छ । भेरी नगरपालिकामा राज्यले पटक पटक गरेकाे लगानी पनि बालुवाको महल हुँदै आएको छ । संघीय सरकारबाट सडक निर्माणका लागि हरेक वर्ष बजेट बिनियोज गरिएको छ । यहाँ निकै राम्राे बजेट परिरहेकाे  इन्जिनियर सन्तोष शाहीले बताए । तर, त्याे बजेटले मानवीय क्रियाकलाप सुधार नहुने उनकाे भनाइ छ । 

प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९  १९:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार